News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय अभिनेता राना दग्गुबातीको स्पिरिट मिडियाले त्रिबेणी राईको डेब्यु फिल्म ‘शेप अफ मोमो’ भारत र नेपालमा १५ जेठदेखि प्रदर्शन गर्ने भएको छ।
- फिल्मले सिक्किमको हिमाली गाउँमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन र संघर्षलाई चित्रण गरेको छ भने बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत भएको छ।
- निर्देशक त्रिबेणी राईले यो फिल्म आफ्नो व्यक्तिगत अनुभवबाट प्रेरित भएको बताएकी छन् र स्पिरिट मिडियाले स्वतन्त्र भारतीय सिनेमालाई प्रवद्र्धन गर्ने काम गर्दै आएको छ।
भारतीय अभिनेता राना दग्गुबातीको स्पिरिट मिडियाले त्रिबेणी राईको डेब्यु फिल्म ‘शेप अफ मोमो’ लाई भारत र नेपालमा आगामी मे २९ (१५ जेठ) देखि प्रदर्शनमा ल्याउने भएको छ ।
बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत भएको यो फिल्ममा पायल कपाडिया, जोया अख्तर र रीमा काग्ती कार्यकारी निर्माताको रूपमा जोडिएका छन् ।
सिक्किमको हिमाली गाउँलाई पृष्ठभूमि बनाइएको फिल्मले एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, उनीहरूको भावनात्मक विरासत, नबोलिएका कथा र दैनिक संघर्षलाई पछ्याएको छ । फिल्ममा स्वर्गीय भानुमाया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय छ ।
निर्देशक राईले यो आफ्नो व्यक्तिगत अनुभव र आफूले वरिपरि देखेका महिलाहरूको जीवनबाट प्रेरित पहिलो फिल्म भएको बताएकी छन् । उनका अनुसार भारतभर हल प्रदर्शन हुन लाग्नु उनीहरूको टोलीका लागि ठूलो उपलब्धि हो । स्वतन्त्र फिल्मले सामना गर्ने चुनौतीबीच पनि फिल्म दर्शकमाझ पुग्न लाग्नु उत्साहजनक र सन्तोषजनक अनुभव भएको उनले बताइन् ।
डल्ले खुर्सानी प्रोडक्सन र कथकला फिल्म्सको सहकार्यमा बनेको यो फिल्म त्रिवेणी राई र किस्लेले लेखेका हुन् । अर्चना घांग्रेकर छायांकन निर्देशक रहेकी छन् भने फिल्मको अधिकांश प्राविधिक टोली महिलाले सम्हालेका छन् । बुसानमा विश्व प्रिमियर भएपछि यो फिल्म सान सेबास्टिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भएको थियो ।
राना दग्गुबातीले ‘शेप अफ मोमो’ शान्त तर गहिरो प्रभाव छोड्ने फिल्म भएको बताए । उनका अनुसार स्पिरिट मिडिया त्यस्ता कथासँग जोडिन चाहन्छ, जुन आफ्नै परिवेशमा गहिरोसँग जरा गाडेर इमानदार ढंगले प्रस्तुत गरिएका हुन्छन् । उनले त्रिबेणीजस्ता नयाँ फिल्मकर्मीलाई साथ दिन पाउँदा खुसी लागेको पनि बताए ।
निर्माता जोया अख्तरले त्रिवेणी राईको फिल्म निर्माण शैली आत्मविश्वासी र स्पष्ट भएको बताइन् । भारतका फरक भूगोल र जीवन अनुभवबाट आएका कथाले भारतीय सिनेमाको संसारलाई अझ फराकिलो बनाइरहेको उनको भनाइ छ ।
पायल कपाडियाले फिल्म समकालीन संवेदनासँग जोडिएको र भावनात्मक रूपमा निकै प्रभावशाली रहेको प्रतिक्रिया दिएकी छन् । विश्वभरको सफल महोत्सव यात्रापछि अब भारतीय दर्शकमाझ पुग्न लागेकोमा आफू उत्साहित रहेको उनले बताइन् ।
रीमा कागतीले पछिल्ला वर्षहरूमा भारतको उत्तरपूर्वी क्षेत्रबाट आएका स्वतन्त्र फिल्महरूले नयाँ सिर्जनात्मक सम्भावना खोलिरहेको उल्लेख गरिन् । ‘बुङ’, ‘र्याप्चर्स’ र ‘भिलेज रकस्टार्स’ जस्ता फिल्मको यात्रामा अब ‘शेप अफ मोमो’ पनि जोडिनु सुखद भएको उनको भनाइ छ ।
हैदराबादमा मुख्यालय रहेको स्पिरिट मिडिया स्वतन्त्र भारतीय सिनेमालाई प्रवद्र्धन गर्ने संस्थाको रूपमा परिचित छ । यसअघि यसले पायल कपाडियाको कान्स ग्रान्ड प्रिक्स विजेता ‘अल वी इम्याजिन एज लाइट’ र रोहन परशुराम कनवाडे निर्देशित सनडान्स विजेता ‘क्याक्टस पियर्स’लाई पनि वितरण गरिसकेको छ ।
प्रतिक्रिया 4