+
+
Shares

चलचित्र कलाकार संघ चुनावको अन्तिम उम्मेदवार सूची सार्वजनिक

उमालाई मतदान अधिकार दिन प्रशासनको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र कलाकार संघले ३ जेठमा हुने चुनावका लागि अध्यक्षमा उत्तम केसी र सविन श्रेष्ठ उम्मेदवारी दिएका छन्।
  • अभिनेत्री उमा श्रेष्ठले सदस्यता नवीकरण नगरेको आरोप लगाउँदै मतदान अधिकार सुनिश्चित गर्न प्रशासनमा उजुरी दिएकी छन्।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभिनेत्री उमालाई मतदान अधिकार दिन कलाकार संघलाई पत्र काटेको छ।

काठमाडौं । चलचित्र कलाकार संघले ३ जेठमा हुन लागेको संस्थाको चुनावका अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अध्यक्षमा उत्तम केसी र सविन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा उद्धव भट्टराई, डिलबहादुर तामाङ, पनाह अधिकारी, पुजना प्रधान र राजेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् । महासचिवमा रामेश्वर बुर्लाकोटी र सुनिल कटुवालको उम्मेदवारी छ ।

सचिवमा गोपाल ढकाल छन्दे र पल्पसा डंगोल चम्सुरीले उम्मेदवारी दिएका छन् । सो मितिमा संस्थाको २१ औं साधारण सभा तथा अधिवेशन आयोजना हुँदैछ । संस्थामा कूल ५३७ जना मतदाता छन् ।

अभिनेत्री उमालाई मतदान अधिकार दिन प्रशासनको आदेश

निर्वाचनको पूर्वसन्ध्यामा सदस्य विवाद सतहमा आएको छ । अभिनेत्री उमा श्रेष्ठ (उमा कार्की)ले आफ्नो मताधिकार सुनिश्चित गरिपाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी छन् ।

कार्कीले बिहीबार संघका सचिव रामेश्वर बुर्लाकोटीमाथि रकम लिएर पनि आफ्नो सदस्यता नवीकरण नगरेको र मतदानको अधिकारबाट वञ्चित गर्न खोजेको गम्भीर आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकी हुन् ।

अभिनेत्री कार्कीका अनुसार, आगामी जेठ ३ गते हुन गइरहेको कलाकार संघको चुनावका लागि उनले सदस्यता नवीकरण गर्न खोजेकी थिइन् । सो क्रममा सचिव बुर्लाकोटीले संस्थाको खातामा नभई आफ्नो व्यक्तिगत बैंक खातामा पैसा पठाउन भनेपछि उनले मोबाइल बैंकिङमार्फत कुल ५,४०० रुपैयाँ पठाएकी थिइन् ।

अभिनेत्री उमाको निवेदनमाथि तत्काल सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कलाकार संघलाई एक पत्र काट्दै उनलाई मतदान अधिकार दिलाएको छ । प्रशासकीय अधिकृत तीर्थराज कटेलद्वारा हस्ताक्षरित पत्रमा अभिनेत्री उमालाई मताधिकारबाट वञ्चित गर्नुपर्ने कुनै उपयुक्त कारण नदेखिएको स्पष्ट पारेको छ ।

प्रशासनले संघलाई लेखेको पत्रमा भनिएको छ, ‘निजलाई मताधिकारबाट वञ्चित गर्न उपयुक्त नदेखिएकोले विस्तृत व्यहोरा सो निवेदनबाटै अवगत गरी निवेदकको मताधिकार सुनिश्चित गर्नुहुन आदेशानुसार अनुरोध छ ।’

संघका अध्यक्ष मोहन निरौलाले प्रशासनको पत्र प्राप्त नभैसकेको बताएका छन् । ‘हामीले अहिलेसम्म पत्र प्राप्त गरेका छैनौं । सीडीओ अफिसबाट पनि फोन गर्नुभएको थियो । हामीले शुल्क पाएका छैन भन्यौं । पत्र आएपछि पक्रिया अघि बढ्ला’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?