+
+
Shares

कोशीदेखि गण्डकीसम्म वर्षा, पश्चिममा तातो हावाको लहर

काठमाडौंको मौसम आज कस्तो होला ?

बादल काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट पूर्वतिर सरिरहेकाले केही घण्टामै काठमाडौं उपत्यकामा पानी पर्न रोकिने छ । अपराह्न फेरि काठमाडौंमा पानी पर्ने सम्भावना छ । पश्चिम तराईका जिल्लामा भने गर्मीले जनजीवन प्रभावित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका र मध्यपूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि वर्षा भइरहेको छ र दिनभर पानी पर्ने र रोकिने क्रम जारी रहनेछ।
  • पूर्वी भूभागमा भारत नजिक विकसित न्यूनचापीय क्षेत्र र काठमाडौं उपत्यकामा स्थानीय वायुका कारण पानी परेको मौसमविद अधिकारीले बताए।
  • सिन्धुपाल्चोकको गोब्रेमा गत २४ घण्टामा सबैभन्दा धेरै ८१ मिलिमिटर पानी परेको र पश्चिमी क्षेत्रमा गर्मी बढेको छ।

८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पानी पर्ने र रोकिने क्रम आज दिनभर नै जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार कोशीदेखि गण्डकीका भूभागसम्म हिजोदेखि नै पानी परेको छ ।

तर पूर्वदेखि मध्य भूभागसम्म पानी पर्नुमा एउटै कारण भने छैन । पूर्वी भूभागमा भारत नजिक विकसित भएको न्यूनचापीय क्षेत्रको कारण तथा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भने स्थानीय वायुको कारण पानी परिरहेको मौसमविद अधिकारीले जानकारी दिए ।

‘काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकतिर लोकल सिस्टमका कारण पानी पार्ने बादल फैलिरहेको छ,’ मौसमविद अधिकारीले भने, ‘यो बादल क्रमश: पूर्वतिर सरिरहेको छ ।’

गत २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१‍ मिलिमिटर पानी परेको रेकर्ड छ ।

बादल काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट पूर्वतिर सरिरहेकाले केही घण्टामै काठमाडौं उपत्यकामा पानी पर्न रोकिने उनले जानकारी दिए । त्यसपछि अपराह्न फेरि काठमाडौंमा पानी पर्ने सम्भावना रहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँहरूमा वर्षा हुने सम्भावना छ ।

पश्चिममा गर्मी

पूर्वी र मध्य नेपालका भूभागमा पानी परेर शीतल महसुस भइरहेका बेला पश्चिम क्षेत्रमा भने पानी नपरेकाले गर्मी बढेको छ ।

खासगरी दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मीले पश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना समेत रहेको मौसमविद अधिकारीले बताए ।

त्यसैले गर्मीबाट जोगिने उपाय अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?