+
+
Shares
जेनजी आन्दोलन :

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन कति सम्भव ?

मानव अधिकार आयोगका पूर्वसदस्य गौरीशंकरलाल दास कुनै पनि संवैधानिक आयोगका सिफारिस कार्यान्वयन बाध्यकारी हुने बताउँछन् ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ जेठ १३ गते २१:४२

१३ जेठकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको घटनाका दोषीहरूलाई कारबाही र थप अनुसन्धान गर्न सिफारिस गरेको छ । जेनजी आन्दोलनका क्रममा विद्यार्थीप्रहरीप्रदर्शनकारीकैदीबन्दी गरी ७६ जनाको ज्यान गएको थियो ।

आयोगकी सदस्य लिली हजुर बस्न्यात थापाको संयोजकत्वमा गठित समितिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको निश्कर्ष निकालेको हो ।

उनीहरूलाई मानव अधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानुनमा नदेखिएको भन्दै मानवता र मानव अधिकारको कसुरमा पश्चातदर्शी (कानुन बन्नुअघिको अपराधमा समेत सजाय हुने) कानुन बनाएर भए पनि कारबाही गर्न सिफारिस गरिएको छ ।

आयोगले बुधबार प्रधानमन्त्री कार्यालयमा पठाएको सिफारिसमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशील कार्कीनिवर्तमान गृहमन्त्री सुधन गुरुङ लगायतलाई थप अनुसन्धान गर्न भनिएको छ ।

त्यस्तैसत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा संलग्न भएको किटान गरिएको छ । रास्वपाका सांसदहरू मनिष झा र हरि ढकालनख्खु कारागार प्रशासका सत्यराज जोशी लगायतलाई अनुसन्धानमा ल्याउन सिफारिस  गरिएको छ ।

जेनजी आन्दोलन दमन गरेको भन्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलडीआईजी ओमविक्रम रानाएसएसपी विश्व अधिकारीसशस्त्रका एसपी जीवन केसीराष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनालकाठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

भदौको आन्दोलनका बेला सिंहदरबारसर्वोच्च अदालत र राष्ट्रपति भवन तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको पनि कमजारी रहेको आयोगले किटान गरेको छ । यद्यपि, सेनालाई कारबाहीको सिफारिस भने गरेको छैन ।

आयोगले पूर्णप्रतिवेदन भने सार्वजनिक गरेको छैन । एक हजार पृष्ठको प्रतिवेदनको आधारमा गरिएका निर्णय सार्वजनिक भएको आयोगले जनाएको छ ।

मानव अधिकार आयोगका पूर्वसदस्य गौरीशंकरलाल दास कुनै पनि संवैधानिक आयोगका सिफारिस कार्यान्वयन बाध्यकारी हुने बताउँछन् ।

उनी भन्छन्, ‘लोकतन्त्र बलियो भएको देशमा मानव अधिकार उल्लंघन गरेको छैन भनेर आयोगले सिफारिस गरेपछि मात्र बढुवा हुने चलन छ । हामी कहाँ आयोगका सिफारिस १० प्रतिशत पनि कार्यान्वयन हुँदैनन् ।’

जाँचबुझ आयोग ऐन२०२६ मा सार्वजनिक महत्त्वको कुनै कुराको जाँचबुझ गर्नको लागि कुनै आयोग गठन आवश्यक देखिएमा यस्तो आयोग गठन गर्न सकिने प्रावधान छ । यसरी बनेका आयोगहरूलाई घटनासँग सम्बन्धित तथ्य र विवरण संकलन गर्ने अधिकार हुन्छ ।

जाँचबुझ आयोग ऐन अनुसार बनेका आयोगहरूलाई जाँचबुझ गरेर आफ्नो मत राख्न पाउन भए पनि अन्तिम निर्णय गर्ने निकाय भने सरकार नै हुन्छ ।

सामान्यतः यस्ता आयोगहरूले थप कारवाही अनुसन्धान गरेर कानुन अनुसार कारवाही गर्नु भन्ने सिफारिस गरिएको हुन्छ ।

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी संवैधानिक आयोग र कानुन अनुसार गठन भएका अन्य आयोगको कार्यादेश नै फरक हुने बताउँछिन् ।

संवैधानिक आयोगको सिफारिस बाध्यकारी भए पनि मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन भएको अनुभव गर्न नपाएको अन्सारीको गुनासो छ ।

अन्सारी भन्छिन्, ‘हाम्रो पालामा गरिएका सिफारिस पनि कार्यान्वयन भएनन् । यस्तो सिफारिस कार्यान्वयन हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राज्यको शिर उँचो हुन्छ ।’

सिफारिस कार्यान्वयन नहुँदा के हुन्छ भन्ने एउटा दृष्टान्त हेरौं । दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा गोरुसिंगे ब्यारेकमा जनकबहादुर राउतलाई चरम यातना दिएको मुद्दामा नेपाली सेनाका महासेनानी कुमार लामालाई विभागीय कारवाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने सिफारिस गरिएको थियो ।

सरकारले लामालाई कुनै कारवाही गरेन । दक्षिण सुडानमा खटिएका लामा विदामा बेलायत गएका बेला २०६९ पुसमा प्रक्राउ परे । त्यतिबेला उनी कर्णेलमा बढुवा भइसकेका थिए ।

२०७१ सालमा संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा अहिलेको राष्ट्रपति रामचन्द्र पौडेल लगायतका सभासदहरूले लामालाई नेपाल फर्काएर नेपालकै कानुन अनुसार अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।

आयोगको प्रतिवेदन कार्यान्वयन भएको भए लामालाई छुटाउन राज्यका त्यति धेरै संयन्त्र परिचालित हुनैपर्ने थिएनउहाँले पनि विदेशमा त्यस्तो अपमानबोध गर्नुपर्ने थिएन,’ आयोगका एक सदस्य भन्छन् ।

२०७२ माघमा मोरङको रंगेलीमा नेकपा (एमाले) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएको थियो । सुरक्षा अधिकारीहरूले सतर्कता नअपनाउँदा तीन जनाको मृत्यु भएको आयोगले निष्कर्ष निकाल्यो ।

आयोगले दोषीलाई कानुनबमोजिम कारबाही गर्न र मृतक परिवारलाई उचित राहत र क्षतिपूर्तिको सिफारिस गर्‍यो । त्यतिबेला कारबाहीका सिफारिसमा परेका अधिकारीहरू सिफारिस पुनरावलोकनको निवेदन लिएर आयोगमा पुगे ।

आयोग आफ्नो निर्णयमा अडिग रह्यो । ‘मानव अधिकार आयोगको सिफारिस पुनःविचार गर्न वा सच्याउने प्रावधान नै छैन,’ आयोगकी पूर्वसदस्य अन्सारी भन्छिन् ।

संविधानको धारा २४९ ले आयोगलाई मानव अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध मुद्दा चलाउनु पर्ने भए अदालतमा मुद्दा दायर गर्न सिफारिस गर्न सक्ने अधिकार दिएको छ ।

आयोगले मानव अधिकार उल्लंघन गर्नेलाई विभागीय कारबाही र सजाय गर्न सम्बन्धित निकाय समक्ष सिफारिस गर्नसक्नेछ ।

सर्वोच्च अदालतले समेत आयोगको सिफारिस ‘यदि र तर’ नभनी कार्यान्वयन गर्न आदेश दिइसकेको छ ।

मानव अधिकारकर्मी चरण प्रसाई जेनजी आन्दोलनको सन्दर्भमा आयोगले गरेको सिफारिसमा विभिन्न कमीकमजोरी रहेको बताउँछन् ।

कमीकमजोरीका बाबजुद आयोगको सिफारिस कार्यान्वयनको विकल्प नभएको प्रसाईं बताउँछन् । ‘जस्तो निवर्तमान गृहमन्त्रीलाई पुनः गृहमन्त्री बनाउने चर्चा छआयोगको सिफारिस अनुसार उहाँलाई त्यस्तो जिम्मेवारी दिन मिल्दैन,’ प्रसाईं भन्छन् ।

आफ्नो सिफारिस कार्यान्वयन भए नभएको विवरण तीनतीन महिनामा प्राप्त गर्ने अधिकार आयोगलाई छ । संविधानिक प्रावधान स्मरण गर्दै उनी भन्छन्, ‘आयोगको सिफारिस कार्यान्वयन ऐच्छिक विषय त होइन नैकार्यान्वयन गर्न अटेर गर्ने निकायका अधिकारीको नाम मानवअधिकार उल्लंघनकर्ताको रुपमा सार्वजनिक गर्ने अधिकार आयोगलाई छ ।’

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?