१६ वैशाख, काठमाडौं । ह्वाइट हाउसले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ मेडिकल रिपोर्ट सार्वजनिक गरेको छ। आगामी १४ दिनमा ८० वर्ष पुग्न लागेका ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको जनाइएको छ।
मेडिकल रिपोर्टअनुसार ट्रम्पले अहिले कोलेस्ट्रोल र मुटुको लागि कुल तीनवटा औषधि सेवन गरिरहेका छन्। जसमध्ये ‘रोसुभास्टाटिन’ र ‘एजेटिमिब’ कोलेस्ट्रोल नियन्त्रणका लागि हुन् भने मुटुसम्बन्धी रोगबाट बच्न कम डोजको ‘एस्पिरिन’ दिइने गरिएको छ।
ह्वाइट हाउसका डाक्टर सन पी. बार्बाबेलाले ट्रम्पको स्वास्थ्य उत्कृष्ट रहेको र उनी राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा फिट रहेको बताएका छन्। रिपोर्टमा उनको मुटु (कार्डियाक), फोक्सो र स्नायु (न्युरोलोजिकल) स्वास्थ्य निकै बलियो रहेको उल्लेख छ।
२२ विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण
ट्रम्पको यो मेडिकल चेकअप मंगलबार ‘वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टर’ मा गरिएको थियो। ह्वाइट हाउसका अनुसार यस क्रममा २२ जना विशेषज्ञ डाक्टरहरूले उनको स्वास्थ्य परीक्षण गरेका थिए।
यसमा सीटी स्क्यान, हार्ट इमेजिङ, क्यान्सर स्क्रिनिङ र विभिन्न प्रिभेन्टिभ अर्थात् रोग प्रतिरोधात्मक परीक्षणहरू समावेश थिए।
रिपोर्टमा ट्रम्पको संज्ञानात्मक (कग्निटिभ) र शारीरिक प्रदर्शन उत्कृष्ट रहेको उल्लेख छ। डाक्टरले ट्रम्पको व्यस्त कार्यतालिका, लगातारका बैठकहरू, सार्वजनिक कार्यक्रमहरू र शारीरिक गतिविधिले उनको समग्र स्वास्थ्यलाई सहयोग पुर्याइरहेको लेखेका छन्।
डाक्टरले दिए तौल घटाउने सल्लाह
मेडिकल रिपोर्टअनुसार ट्रम्पको तौल अहिले २३८ पाउन्ड (करिब १०८ किलो) पुगेको छ। यसअघि अप्रिल २०२५ को मेडिकल जाँचमा उनको तौल २२४ पाउन्ड (करिब १०१.६ किलो) थियो। ट्रम्पको उचाइ ६ फिट ३ इन्च रहेको बताइएको छ।
डा. बार्बाबेलाले ट्रम्पलाई तौल घटाउन, स्वस्थ खानपान अपनाउन र थप शारीरिक गतिविधि गर्न सल्लाह दिएका छन्। रिपोर्टमा उनलाई मुटुको स्वास्थ्य (कार्डियोभास्कुलर हेल्थ) र तौल घटाउने विषयमा परामर्श समेत दिइएको उल्लेख छ।
हातमा देखिएका डामको कारण
ट्रम्पको हातमा देखिएका डामहरूलाई लिएर पछिल्लो केही महिनादेखि प्रश्न उठिरहेको थियो। मेडिकल रिपोर्टमा यसबारे पनि स्पष्ट पारिएको छ।
डाक्टर बार्बाबेलाका अनुसार, बारम्बार मानिसहरूसँग हात मिलाउने र एस्पिरिन सेवन गर्ने गरेका कारण उनको हातमा हल्का निशानहरू देखिने गरेका हुन्।
यद्यपि, केही स्वतन्त्र डाक्टरहरूले यो दाबीमाथि प्रश्न उठाइसकेका छन्। उनीहरूका अनुसार ट्रम्प दायाँ हातले काम गर्छन्, तर निशानहरू भने बायाँ हातमा बढी देखिएका थिए।
रिपोर्टमा ट्रम्पको खुट्टाको तल्लो भागमा हल्का सुन्निने समस्या रहेको, जुन अघिल्लो वर्षको तुलनामा सुधार भएको पनि उल्लेख छ। यद्यपि, यसबारे धेरै विस्तृत जानकारी दिइएको छैन।
अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरका राष्ट्रपति
ट्रम्प आगामी जुन १४ मा ८० वर्षको हुनेछन्। उनी अमेरिकी इतिहासमा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा पाको उमेरका नेताहरूमध्ये पर्छन्। पछिल्लो एक वर्षमा उनको खुट्टा सुन्निने समस्या, केही कार्यक्रमहरूमा निदाएको जस्तो देखिने र घाँटीमा देखिएको डाबर (र्यास) लाई लिएर लगातार चर्चा हुँदै आएको छ।
ह्वाइट हाउसले यसअघि नै ट्रम्पलाई ‘क्रोनिक भेनस इन्सफिसियन्सी’ को समस्या रहेको बताइसकेको छ। यो उमेरसँगै जोडिएको एउटा सामान्य समस्या हो, जसमा खुट्टामा रक्तसञ्चार प्रभावित हुन्छ।
मार्चमा उनको घाँटीमा देखिएको डाबर पनि छालाको उपचारका कारण भएको बताइएको थियो।
यसैबीच, ट्रम्प र उनका सहयोगीहरूले उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको लगातार दाबी गर्दै आएका छन्। ट्रम्पले सधैँ आफ्नो शारीरिक स्टामिना र मानसिक क्षमतालाई आफ्नो सार्वजनिक छविको महत्त्वपूर्ण हिस्सा बताउँदै आएका छन्।
रिपोर्टमा ‘कार्डियाक एज’ को पनि चर्चा
ह्वाइट हाउसको मेडिकल रिपोर्टमा अर्को एउटा असामान्य कुरा पनि समावेश गरिएको छ। डाक्टर बार्बाबेलाले इलेक्ट्रोकार्डियोग्रामको आधारमा ट्रम्पको कार्डियाक एज अर्थात् मुटुको वास्तविक उमेर उनको खास उमेरभन्दा १४ वर्ष कम रहेको दाबी गरेका छन्। केही स्वतन्त्र डाक्टरहरूले यस्तो कुरालाई मेडिकल रिपोर्टमा समावेश गरिनु असामान्य भएको बताएका छन्।
यता, ट्रम्पले मंगलबार चेकअपपछि ट्रुथ सोसलमा लेखेका थिए, ‘वाल्टर रिड मिलिट्री मेडिकल सेन्टरमा मेरो ६ महिनाको फिजिकल (चेकअप) पूरा भयो। सबै कुरा बिल्कुल पर्फेक्ट निस्कियो।’
यद्यपि, धेरै डाक्टरहरूले ‘६ महिनाको फिजिकल’ भन्ने दाबीमाथि प्रश्न उठाएका छन्। हार्वर्ड मेडिकल स्कुलकी प्राध्यापक तथा डाक्टर इशानी गांगुलीले भनिन्, ‘सामान्यतया फुल फिजिकल टेस्ट वर्षमा एकपटक हुन्छ। ६ महिनाको फलोअपलाई सामान्यतया फिजिकल भनिँदैन।’
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4