+
+
Shares
रविको भारत भ्रमण :

दिल्लीले के पढ्यो, काठमाडौंले के बुझ्ने ?

भारतको सरकार र भाजपा पार्टीमा रहेका उच्च नेताहरूले प्राथमिकतासाथ भेटे । दिल्लीले रविको यो भ्रमणलाई सामान्य पार्टी–पार्टी सम्बन्धको दायराभित्र मात्र सीमित राखेन ।

दुर्गा खनाल दुर्गा खनाल
२०८३ जेठ २० गते २२:१०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँचदिने दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गरेका छन् ।
  • भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
  • लामिछानेले नेपाल–भारत सम्बन्धलाई साझा सभ्यता, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमार्फत पुनर्परिभाषित गर्नुपर्ने बताएका छन् ।

२० जेठ, काठमाडौं । गत फागुन २१ को निर्वाचनबाट प्रचण्ड जनमतसहित उदाएको रास्वपाका सभापति रवि लामिछानेले पाँच दिने भ्रमणका क्रममा दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट सकेका छन् । तीमध्ये सबैभन्दा मुख्य भेटघाट बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भयो ।

सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा गएका उनी अझै दुई दिन उतै रहनेछन् । तर मुख्य राजनीतिक भेट सकेपछि उनको भ्रमणको समीक्षा भने सुरु भइसकेको छ । दिल्लीदेखि काठमाडौंसम्म लामिछानेको भ्रमणमा देखिएका झाँकी र हाउभाउका चर्चा भइरहेका छन् ।

अन्य नेताहरूसँग सदाबहार पहिरन कुर्तामा देखिएका रवि बुधबार बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा दौरासुरुवाल र नेपाली टोपी पहिरिएर पुगेका थिए ।

भेटमा रवि र मोदी दुबै खुलेको मुद्रासहितका तस्वीरहरू सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।

भारतले रविलाई एउटा पार्टी अध्यक्षका रूपमा मात्र होइन, नेपालभित्र उदाइरहेको नयाँ शक्ति र सम्भावित दीर्घकालीन राजनीतिक केन्द्रका रूपमा नै उनलाई बाहिर देखिने गरी व्यवहार गर्‍यो ।

रविले प्रधानमन्त्री मोदीसँग भेट्नु अघि मंगलबार गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर सँग छुट्टा छुट्टै उनीहरूकै कार्यकक्षमा भेटेका थिए ।

भाजपाको निमन्त्रणामा गएका उनलाई मंगलबार भाजपाको कार्यालयमा अध्यक्ष नितिन नविनले भव्य स्वागत गरेका थिए । रवि भाजपा कार्यालयमा पुग्दा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए । दिल्लीका मुख्य स्थानहरूमा भाजपाले रविको स्वागतमा होर्डिङ बोर्डहरू राखेको थियो ।

भारतको सत्ता राजनीतिका निर्णायक भूमिका खेल्ने सबै पात्रहरू रविसँगको भेटमा जोडिए । प्रधानमन्त्री मोदीसँगको बुधबारको भेटमा पनि विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीसम्म सँगै थिए ।

सरकार र पार्टीमा रहेका दुवै खालका उच्च नेताहरूसँगको भेटबाट झल्किन्छ दिल्लीले रविको यो भ्रमणलाई सामान्य पार्टी–पार्टी सम्बन्धको दायराभित्र सीमित राखेन । सरकारीस्तरमा पनि उत्तिकै प्राथमिकता दियो ।

भेटपछि रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमार्फत पुनर्परिभाषित गर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि ‘दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्चस्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको’ उल्लेख गरेका छन् ।

रविको भ्रमण दलमा रहेका रास्वपाका सांसद दीपक बोहराले मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएको जानकारी दिएका छन् ।

रास्वपा विदेश विभाग प्रमुख समेत रहेका बोहोराले भनेका छन् , ‘छलफलमा नेपाल भारतसँग भएका विषयहरूको लिस्ट बनाऔं, त्यसको प्राथमिकता दिऔं टाइमलाइन दिऔं । हामी काम गरौँ हामी काम गर्छौं भनेर प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभयो ।’

मंगलबार गृहमन्त्री अमित शाहसँगको भेटमा रविले नेपाल भारत सम्बन्ध र सुरक्षा समन्वयलाई मजबुत बनाउने र लोकतान्त्रिक मूल्य र आपसी चासोलाई सम्बोधन गर्ने गरेका थिए । विदेशमन्त्री एस जयशंकरसँगको भेटमा भने रविले विकास सोझदारीको कुरा गरेका थिए

लामिछानेले दिल्लीमा पाएको स्वागत-सत्कार र प्राथमिकताको अर्थ के हो ?

भूराजनीतिक मामिला जानकार विश्लेषक चन्द्रदेव भट्टका अनुसार यो भ्रमण र भेटघाटको महत्वपूर्ण आयाम भनेको राजनीतिक तहको संवादको पुनःस्थापना हुनु हो ।

उनका अनुसार पछिल्ला वर्षहरूमा नेपाल र भारतबीच कर्मचारी तहका संयन्त्रहरू चलिरहे पनि राजनीतिक तहमा संवाद लगभग जमेको अवस्थामा पुगेको थियो ।

प्रधानमन्त्रीस्तरका भ्रमण, उच्च राजनीतिक भेटघाट र रणनीतिक संवादहरूमा आएको शिथिलताले दुई देशबीच विश्वासको सङ्कट सिर्जना गरेको थियो।

भट्टको निष्कर्षमा, रविको भ्रमणले यही जमेको सम्बन्धलाई ‘अनफ्रिज’ गरेको छ। उनी यसलाई सम्बन्ध सुधारको अन्तिम बिन्दु होइन, नयाँ प्रस्थानविन्दुका रूपमा हेर्छन् ।

‘भारतले रास्वपालाई मात्र होइन, नेपालभित्र विकसित भइरहेको नयाँ राजनीतिक यथार्थलाई बुझ्न खोजेको देखिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘कांग्रेस, एमाले वा माओवादीका वैचारिक र कूटनीतिक झुकाव अनुमान गर्न सकिन्थ्यो, तर रास्वपा कुन दिशामा जान्छ भन्नेबारे दिल्ली, बेइजिङ, वासिङ्टन र युरोपेली शक्तिहरू सबै उत्सुक छन् ।’

रविको भ्रमणलाई उनी यही नाडी छाम्ने प्रक्रियाको हिस्सा पनि मान्छन्।

दिल्लीमा भेटघाटमा देखिएका रवि र मोदीसहितका नेताहरूका हाउभाउ र कुराकानीभित्र तीनवटा सन्देश एकैसाथ लुकेका देखिन्छन्।

पहिलो, रास्वपा अब नेपालको क्षणिक राजनीतिक घटनाक्रमबाट उदाएको शक्ति मात्र होइन । दीर्घकालीन शक्ति हुन सक्छ भन्ने भारतीय मूल्यांकन देखिन्छ ।

दोस्रो, पुराना वैचारिक बोझभन्दा विकास, डिजिटल सहकार्य र कनेक्टिभिटीको भाषामा सम्बन्ध पुनर्परिभाषित गर्ने नयाँ सम्भावनाको खोजी भएको पनि हुनसक्छ ।

तेस्रो, नयाँ नेतृत्वको सोच, क्षमता र कूटनीतिक दिशाबारे दिल्लीको उत्सुकता पनि झल्किन्छ ।

तर ,भारतका लागि नेपाली राजदूत भएर काम गरिरहेका नेपाल-भारत मामिला जानकारहरूको बुझाई भने केही भिन्न छ ।

प्राध्यापक तथा पूर्वराजदूत लोकराज बरालका अनुसार अन्तर्राष्ट्रिय राजनीतिमा भावनाभन्दा उपयोगिता महत्त्वपूर्ण हुन्छ ।

शक्ति राष्ट्रहरू मित्रता होइन, उपयोगिता खोज्छन् । रास्वपा अहिले नेपालमा अत्यधिक जनमतसहित उदाएको शक्ति हो ।

पुराना दलहरू कमजोर भइरहेका बेला नयाँ राजनीतिक केन्द्र बनेर उभिएको शक्तिलाई बेवास्ता गर्नु भारतका लागि सम्भव थिएन। ‘त्यसैले दिल्लीले रविलाई दिएको प्राथमिकता मूलतः उपयोगिताको सिद्धान्त मा आधारित पनि छ’, पूर्वराजदूत बरालले भने ।

उनका अनुसार यो भ्रमणबाट नेपालले वर्षौंदेखि उठाउँदै आएका कुराहरूको समाधान निस्किने होइन । ‘लिम्पियाधुरा फर्किने छैन, लिपुलेक विवाद समाधान हुने छैन, न त नेपाल–भारत सम्बन्धको संरचनागत स्वरूप नै बदलिनेछ’ उनले भने,’तर भारतले नयाँ शक्ति उदाएको स्वीकार गरेको र त्यससँग प्रत्यक्ष सम्बन्ध बनाउने निर्णय गरेको संकेत भने अवश्य दिएको छ।’

उनको शब्दमा, यो पोजिटिभ जेस्चर हो, तर त्यसलाई सम्बन्धमा नयाँ क्रान्तिका रूपमा बुझ्नु भ्रम हुनेछ।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायको धारणा पनि करिब बरालकै जस्तो छ ।

उपाध्यायका अनुसार नेपाल–भारत सम्बन्धको मुख्य समस्या नै प्रोटोकल र बिहाइन्ड प्रोटोकल को हो। नेपाललाई औपचारिक कूटनीतिक मर्यादाभन्दा बाहिर राखेर व्यवस्थापन गर्न खोज्ने भारतको पुरानो प्रवृत्ति अहिले पनि कायम रहेको उनको दाबी छ। त्यसैले सरकार भन्दा बाहिर राम्रो सम्बन्ध बनाउने योजनाबाट पनि भाजपाले रविलाई बोलाएको हुनसक्छ ।

उपाध्यायका अनुसार यदि नेपाल सरकारले औपचारिक निर्णय गरेर रवि लामिछानेलाई प्रधानमन्त्रीको विशेष दूत बनाएर पठाएको भए यसलाई कूटनीतिक उपलब्धि मान्न सकिन्थ्यो ।

रास्वपाका अध्यक्ष कस्ता छन् भन्ने भारतको नाडी छाम्ने रणनीतिक प्रयास मात्र हुनसक्ने उनको धारणा छ । ‘यो भ्रमणले कोशी, गण्डक, डुबान, सीमा विवाद वा नेपालका ठूला राष्ट्रिय एजेन्डामध्ये कुनचाहिँ मुद्दामा ठोस उपलब्धि दिलाउँछ’, उनको प्रश्न छ ,’यदी ती उपलब्धी दिलाउने दिशामा गयो भने त्यतिबेला यसलाई उपलब्धीमुलक मान्नुपर्छ ।’

भारतले नयाँ नेताहरूलाई सम्मान गरेर उनीहरूको राजनीतिक प्रवृत्ति बुझ्ने, अपेक्षा निर्माण गर्ने र आवश्यक पर्दा प्रयोग गर्ने अभ्यास विगतमा पनि देखिएको भन्दै उनी सावधानी अपनाउन सुझाव दिन्छन् ।

नेपाल भारत मामिलालाई नजिकबाट नियाल्ने पूर्वराजदूत विजयकान्त कर्ण भने यो भ्रमणबाट निकै आशावादी छन् ।

भ्रमणले सन्देशहरू बहुआयामिक रहेको उनको धारणा छ ।

‘सबैभन्दा ठूलो अर्थ भारतले वर्तमान सरकार र रास्वपासँग दीर्घकालीन रूपमा काम गर्न चाहेको स्पष्ट संकेत दिनु हो’ उनले भने ।

उनको विश्लेषणमा भारतले रविसँग नयाँ उच्चस्तरको सम्बन्ध विकास गर्न चाहेको देखिन्छ । रवि लामिछानेले भ्रमणका क्रममा भारतीय नेताहरूसँग भेट गर्नुअघि हिन्दुस्तान टाइम्सको लेख मार्फत् दुई देशका अने विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए । कर्णका अनुसार ‘पुरानो इतिहासको ब्यागेज बोकेर हिँड्दैनौँ’ भन्ने रविको धारणालाई भारतले व्यवहारमै स्वीकार गरेको देखिन्छ ।

‘दिल्लीले पहिलोपटक राष्ट्रवादी नारा र ऐतिहासिक गुनासाभन्दा बाहिर निस्केर प्रविधि, डिजिटल सहकार्य र विकासको भाषामा कुरा गर्न चाहने नेपाली नेतृत्वलाई गम्भीरतापूर्वक सुनेको छ’ पूर्वराजदूत कर्ण भन्छन् ।

उनले तर यो भ्रमणलाई व्यवहारतः स्टेट भिजिटकै स्तरको मानेका छन्। ‘गार्ड अफ अनर’ बाहेक राज्यले दिन सक्ने लगभग सबै सम्मान रविलाई दिइएको उनको निष्कर्ष छ।

रविको यो भ्रमण पूर्वनिर्धारित थियो । तर उनको भ्रमण सुरू हुने अघिल्लो दिन प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सम्बन्धमा तरंग आउने अभिव्यक्ति दिए । नेपालले पनि भारतको सीमा मिचेको विषय र दुई देशको विवादमा बेलायतलाई पनि प्रवेश गराउने खालको अभिव्यक्ति दिएका थिए ।

यो विषयले दिल्लीमा पनि तरंग ल्याएको छ । रविले विदेशमन्त्री एस जयशंकरसँग भेटिरहेकै बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यो विषयमा भारतको धारणा सार्वजनिक गरेका थिए । नेपाल भारत द्विपक्षीय सम्बन्धमा तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने धारणा बाहिर ल्याए ।

रविको यो भ्रमणप्रति रास्वपाभित्र सबैको एउटै बुझाइ छ कि फरक भन्ने पनि स्पष्ट भइसकेको छैन । किनकी प्रधानमन्त्री बालेन्द्र शाह समेतको चाहनामा यो भ्रमण भएको हो कि रविको मात्र इच्छा भन्ने खुलेको छैन । त्यसैले कतिपयले यो भ्रमणले पार्टीभित्रै चाहिँ अब कस्तो तरंग ल्याउँछ भन्ने पनि चनाखोपूर्वक हेरिरहेका छन् ।

यदी प्रधानमन्त्रीको चाहना समेतमा भएको भ्रमण हो भने यसले सरकारसँगको सम्बन्ध मजबुत बनाउने र प्रधानमन्त्रीको भ्रमणको समेत वातावरण तय गर्न सक्ने कतिपयको बुझाइ छ ।

भाजपा अध्यक्ष नितिन नविन र रवि लामिछाने

किनकी प्रधानमन्त्री शाहको दिल्ली भ्रमणको तयारी समेत गर्ने प्रयोजनका लागि भारतले विदेश सचिव विक्रम मिश्रीलाई नेपाल पठाउन खोजेको थियो । तर प्रधानमन्त्री शाहले प्रोटोकलको कुरा गर्दै भेट्न नसक्ने खालको छनक दिएपछि मिश्रीको भ्रमण रोकिएको थियो । मिश्रीको भ्रमण रोकिएपछि लगत्तै रविको भ्रमण भएको छ ।

विगतमा पुराना पार्टीहरूको शैली कस्तो हुन्थ्यो भने, भारत वा अन्य कुनै देशको भ्रमण गरेर फर्केपछि पार्टीभित्र आन्तरिक कलह सुरु हुने र सत्ता नै उलटपुलट हुने खालका घटनाक्रम देखिन्थे। ‘तर यसपालि त्यस्तो शंका गर्नुपर्ने कुनै ठाउँ म देख्दिनँ । रविजी जसरी खुला रूपमा प्रस्तुत हुनुभयो र जुन मुद्दाहरू उठाउनुभयो, त्यसमा भारत सरकार र त्यहाँका सबै तहबाट तपाईंले उठाउनुभएका मुद्दासँग हामी पूर्ण सहमत छौँ र अगाडि बढ्न चाहन्छौँ भनेको देखिन्छ’, पूर्वराजदूत कर्ण भन्छन् ।

भूराजनीतिक जानकार भट्ट पनि विगतमा नेपाली नेताहरूले दिल्ली भ्रमणपछि नेपालमा सरकार परिवर्तन हुने वा राजनीतिक ‘सरप्राइजेज’ देखिने अभ्यासहरू भएपनि यसपाली त्यस्तो सम्भावना छैन ।

‘दुवैतर्फ ‘ब्याकफायर’ गर्ने भएकाले बाह्य कारणले सरकार फेरबदल हुने सम्भावना म देख्दिनँ’, उनी भन्छन्,’ यो भ्रमणलाई लिएर प्रधानमन्त्रीसँग पूर्वसल्लाह भएको थियो वा थिएन भन्ने कुरा अझै प्रष्ट छैन । तर भ्रमण र यसका आयामहरूलाई लिएर रास्वपा वा सत्तारुढ गठबन्धनभित्र कुनै आन्तरिक अन्तर्विरोध वा अविश्वास सिर्जना नहोला । ‘

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?