News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका अविनाश सुनारले १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र हाइजम्पमा १.८६ मिटर जम्प गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
- छात्रा ४ सय मिटर दौडमा बागमतीकै भगवती खड्काले ५८.९४ सेकेन्डको समय निकाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
- प्रतियोगिताको छात्र १ सय मिटर दौडमा बागमतीका प्रविन राना र छात्रामा लुम्बिनीकी गरिमा चौधरीले स्वर्ण जिते ।
२० जेठ, काठमाडौं । अविनाश सुनार र भगवती खड्काले १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन् । दुवै बागमती प्रदेशका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरे । १.८२ को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा बनाएका थिए । कोशी प्रदेशका टंक यादव दोस्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेस्रो भए ।
सो स्पर्धाको छात्रामा गण्डकीकी आराध्य चालिसे तथा सुदूरपश्चिम प्रदेशकी सुनिता पार्की संयुक्त रुपमा पहिलो भए । दुवै १.४३ मिटर उचाइ नाघे । कोशीकी सुस्मिता बस्नेत तेस्रो भइन् ।
छात्रा ४ सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । यसअघि १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो । फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् ।
बागमतीकै अनिशा थारु दोस्रो तथा लुम्बिनी प्रदेशकी रोशनी कामी तेस्रो बने । उक्त स्पर्धाको छात्रमा बागमतीका निरज शाह पहिलो भए । उनले निर्धारित दूरी ५०.९४ सेकेन्डमा पार गरे । गण्डकीका अतित थापा दोस्रो तथा गण्डकीकै अंकित रानाभाट तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र १ सय मिटर दौडमा बागमतीका प्रविन रानाले स्वर्ण जिते । उनले दूरी तय गर्न १०.४६ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका सुरेश चौधरीले रजत तथा लुम्बिनीका भगवानदास लोहारले कांस्य जिते ।
त्यसै स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । लुम्बिनीकै आशिका चौधरी दोस्रो तथा बागमतीकी सुरुची मोक्तान तेस्रो भए ।
छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमतीका हस्त सुनार पहिलो भए । लुम्बिनीका अरविन्द्रकुमार यादव दोस्रो तथा कर्णालीका अनिल शाही तेस्रो बने । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी अस्मिता धानुक पहिलो भइन् । अस्मिताले दौड पूरा गर्न ५ मिनेट १३.९ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी अञ्जुली मल्ल दोस्रो तथा बागमतीकी शर्मिला विक तेस्रो भए ।
सटपुटको छात्रमा बागमतीका महेन्द्र केसी प्रथम भए । उनले १३.४० मिटर थ्रो गरे । लुम्बिनीका राजन भण्डारी द्वितीय तथा कर्णालीका अनन्त विक तृतीय स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ९.६० मिटर थ्रो गरेकी सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । बागमतीका मनमाया थिङ दोस्रो तथा अप्सरा श्रेष्ठ तेस्रो भए ।
प्रतिक्रिया 4