२७ जेठ, काठमाडौं । विश्वकप फुटबल फेरि उत्तर अमेरिका फर्किएको छ । उत्तर अमेरिकाको तीन राष्ट्र मिलेर २१औं शताब्दीमा पहिलो पटक फिफा विश्वकप २०२६ आयोजना गर्दैछन् । विश्व फुटबलको महाकुम्भको २३औं संस्करण सुरु हुन अब एक दिन मात्र बाँकी छ ।
अहिले सारा विश्वभरको फुटबल समर्थकदेखि खेल समर्थकको ध्यान उतै अमेरिका, मेक्सिको र क्यानडातिरै छ । मेक्सिकोले ४२ वर्षपछि र अमेरिकाले ३२ वर्षपछि फिफा विश्वकप आयोजना गर्न लागेका हुन् भने क्यानडा पहिलो पटक विश्वकप आयोजक बन्दैछ ।
अहिलेसम्मकै धेरै ४८ टिमले पहिलो पटक विश्वकप खेल्दैछन् । तीन राष्ट्र मिलेर कीर्तिमानी १०४ खेल आयोजना गर्दैछन् । अनि फिफा विश्वकपको ट्रफी चुम्ने लक्ष्य सहित ४८ टोली ११ जुन देखि मैदानमा प्रतिस्पर्धामा उत्रँदैछन् । सबैको सपना त्यही ट्रफी जित्ने नै छ ।
त्यसैले अहिले सबैको मनमा एउटै प्रश्न छ । फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला ?
यो प्रश्न हेर्दा सामान्य जस्तो पनि लाग्छ । किनभने अन्तिममा दुई टिम फाइनल पुग्छन् र ती टिमममध्ये एक टिमले नै उपाधि जित्ने हो ।
तर यो जटिल पनि छ किनभने अहिले नै यो टिमले विश्वकप जित्छ भनेर ठोकुवा गर्न गाह्रो छ । धेरैले भविष्यवाणी पनि गर्छन् यो टिमले जित्छ भनेर समर्थकहरू पनि आ-आफ्नो टिमले जित्ने दाबी गर्छन् ।
फुटबल पण्डितहरू खेलाडीहरूको प्रदर्शन विश्लेष्ण गर्दै यो टिमले जित्ने संकेत गर्छन् । अनि अझ एक स्टेप अघि बढेर अहिले त एआईले पनि मज्जैले विश्वकपको सम्भावित विजेताको प्रेडिक्सन गर्न थालिसकेको छ ।
यस्तै भविष्यवाणीहरू र समर्थकहरूको दाबी चलिरहेको छ । यसको उत्तर भेट्न २३औं संस्करणको फिफा विश्वकपको विजेताको टुङ्गो लाग्ने दिन १९ जुलाईको फाइनलसम्म नै प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
***
यस पटक सहभागी टिम संख्या बढेर ३२ बाट ४८ पुर्याइएपछि विश्वकपको फर्म्याटमा पनि केही परिवर्तन भएको छ र टिमले पनि नकआउट चरणमा थप एक खेल बढी खेल्नुपर्नेछ ।
सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । अनि १२ समूहको विजेता र उपविजेता बाहेक तेस्रो उत्कृष्ट ८ टोली पनि नकआउट चरण पुग्ने भएकोले यस विश्वकपको असली मज्जा भने नकआउट चरणबाट नै सुरु हुनेछ ।
यस पटक फिफाले नकआउट चरणको ब्राकेट पनि निकै सोचेर बनाएको छ । शीर्ष वरियताको टोलीहरूको लागि समूह विजेता बनेमा नकआउट चरणमा अलि पछि मात्र भेट हुने सम्भावित खेलतालिका तय गरेको छ ।
जसले गर्दा ठूला टिम चाँडै बाहिरिने वा ठूला टिमबीचको प्रतिस्पर्धा चाँडै हुने सम्भावना कम हुने फुटबल जानकारहरूको तर्क छ ।
विश्वकप खेल्ने ४८ मध्ये ३२ टोली नकआउट चरणमा पुग्नेछन् । १२ समूहको पूछारमा रहने १२ टोली र तेस्रो हुने ४ टोली मात्र अभागी बन्दै समूह चरणबाट बाहिरिनेछन् ।
तेस्रो हुने ८ टिमले पनि समूह चरण पार गर्ने भएकोले समूह चरणको खेल कस्तो हुन्छ ठूला टिम र साना टिमको प्रदर्शन कस्तो हुनेछ भन्ने धेरैको जिज्ञासा छ ।
यस्तोमा समूह चरणको खेलहरू कम प्रतिस्पर्धात्मक हुने सम्भावना पनि बढी हुन्छ । धेरै टिम हार्न चाहँदैनन् । जस्तै कुनै टिमले समूहको तीन वटै खेल गोलरहित बराबरी खेल्यो भने त्यो टिमले कुनै गोल नगरी कुनै खेल पनि नजिती ३ अंक जोडेर समूह चरणबाट अघि बढ्ने सम्भावना हुनेछ । यसले गर्दा खेल केही निरश हुने सम्भावना पनि हुनेछ ।

ठूला टिमको भिडन्त कुन राउण्डमा होला ?
यस पटक तीन टिम आयोजक भएकोले फिफा वरियताको शीर्ष ९ टोली र ३ आयोजक गरी १२ टोली फरक समूहमा छन् ।
शीर्ष ९ वरियतामा रहेका ठूला बलिया र उपाधिको दाबेदार टोलीहरू फरक समूहमा छन् ।
जस्तै साविक विजेता अर्जेन्टिना जे, साविक उपविजेता फ्रान्स आई, स्पेन एच, ब्राजिल सी, पोर्चुगल के, इंग्ल्यान्ड एल समूहमा छन् ।
यस पटक नकआउटचरणको खेल (ब्राकेट) यसअघिको भन्दा अलि फरक हुनेछ ।
माथि उल्लेख गरिएका टिमहरू समूह चरणमा विजेता बनेमा भने यी टोलीहरू क्वाटरफाइनलमा पुगेर मात्र एक आपसमा भिड्ने अवस्था आउँछ ।
जस्तै उदाहरणका लागि यदि अर्जेन्टिना आफ्नो समूहको विजेता र पोर्चुगल आफ्नो समूहको विजेता बनेर अघि बढ्दै गएमा क्वाटरफाइनलमा मात्र भेट हुन्छ ।
यदि अर्जेन्टिना, इंग्ल्यान्ड र पोर्चुगल समूह विजेता बन्दै अगाडि बढेमा यी टिमहरूमध्ये दुई टिम मात्र सेमिफाइनल पुग्नेछ ।
यदि अर्जेन्टिना, ब्राजिल, इंग्ल्यान्ड र पोर्चुगल समूह विजेता बनेर अघि बढ्दै गएमा यी चार टोली मध्ये एक टोली मात्र फाइनल पुग्नेछ । वा यी टिमलाई अन्य कमजोर र साना टिमले पराजित गरेमा त्यही टिम फाइनल पुग्नेछ ।
यदि यी टिममध्ये कुनै पनि टिम आफ्नो समूहको शीर्ष स्थानमा रहन असफल भएमा वा दोस्रो वा तेस्रो भएमा भने नकआउट चरणको ब्राकेट फरक पर्नेछ ।
यस्तै साविक उपविजेता फ्रान्स, पूर्व विजेता स्पेन र जर्मनीसँगै बेल्जियम र नेदरल्यान्ड्स जस्ता टिम समूह विजेता बनेमा यी टिममध्ये पनि एक टिम मात्र फाइनल पुग्नेछन् ।
यदी फ्रान्स र स्पेन समूह विजेता बनेर अगाडि बढ्दे गएमा यी दुई टोली पनि सेमिफाइनलमा भेट हुनेछन् ।
फ्रान्स, नेदरल्यान्ड्स र जर्मनी समूह विजेता बनेमा क्वाटरफाइनलमा यी मध्ये दुई टोलीको भेट हुनेछ । यस्तै स्पेन र बेल्जियम समूह विजेता बन्दै अघि बढेमा यी दुई टोली पनि क्वाटरफाइनलमै भेट हुनेछ ।
अर्को रमाइलो सम्भावना पनि छ ।
यदि फ्रान्स र स्पेन समूह विजेता बनेर नकआउट चरणमा हरेक खेल जित्दै जाने र इंग्ल्यान्ड र पोर्चुगलले पनि समूह विजेता बनेर नकआउट चरणका खेल जित्दै गएमा सेमिफाइनल पुग्ने चारै टोली युरोपकै हुने सम्भावना रहन्छ । यदी मैदानमा त्यस्ते नतिजा आएमा फ्रान्स र स्पेन मध्ये एक तथा इंग्ल्यान्ड र पोर्चुगलमध्ये एक टिम फाइनल पुग्नेछ ।
यसैगरी अर्को रमाइलो समिकरण पनि बन्न सक्छ । यदी अर्जेन्टिना र ब्राजिलले आफ्नो समूहमा विजेता बनेर नकआउट चरणको खेल पनि जित्दै अघि बढेमा यी दक्षिण अमेरिकी यी दुई टोली सेमिफाइनलमा भेट हुनेछ । त्यस्तोमा अर्जेन्टिनामा र ब्राजिल मध्ये एक टिम मात्र फाइनल पुग्नेछन् ।
अर्को पनि रोचक समिकरण बन्न सक्छ । यदी अर्जेन्टिना र ब्राजिल मध्ये एक टिम समूह विजेता र अर्को टिम समूह उपविजेता बन्दै नकआउट चरणका सबै खेल जितेर अगाडि बढेमा दुवै पनि फाइनल पुगेर भेट हुनेछ ।
प्रतिक्रिया 4