+

विश्वकपका यी ७ खेलाडी जसको खेल छुटाउनै हुँदैन

२०८३ जेठ  २७ गते २१:४० २०८३ जेठ २७ गते २१:४०

फिफा विश्वकप २०२६ मा केही त्यस्ता खेलाडीहरू पनि छन् जसको खेल छुटाउनै नहुने खालको हुन्छ । किनभने ती खेलाडी स्टार हुन् ।

विश्वकपका यी ७ खेलाडी जसको खेल छुटाउनै हुँदैन

२७ जेठ, काठमाडौं । मैदान तयार, खेलाडी तयार, आयोजक तयार, समर्थक तयार । अब पालो मैदानमा खेलाडीको खेल हेर्ने । विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूको खेल हेर्ने बेला आइसकेको छ ।
फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ ।

वर्तमान विश्व फुटबलमा दुई महान खेलाडीहरू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्भवत आफ्नो करियरको अन्तिम विश्वकप खेल्दैछन् ।

यस्तै वर्तमान समयमा उदाउँदै गरेका एर्लिङ हालान्ड र लामिन यमाल होस् या युवा उमेरमै विश्वकप जितिसकेका स्टार किलियन एमबाप्पे । यी खेलाडीहरूको खेल हेर्न अहिले विश्वभरका फुटबल समर्थकहरू तमतयार बसेका छन् ।

अमेरिका, मेक्सिको र क्यानडामा ३९ दिन चल्ने विश्वकपमा ४८ राष्ट्रका कूल १ हजार २४८ खेलाडी विश्वकपका लागि तयारी अवस्थामा छन् । त्यसमध्ये केहीले यसअघि नै विश्वकप खेल्दै उपाधि समेत जितिसकेका छन् । केहीसँग विश्वकपको अनुभव छ भने दुई तिहाई भन्दा बढी खेलाडी पहिलो पटक विश्व फुटबलको महाकुम्भमा खेल्न तयार छन् ।

फिफा विश्वकप २०२६ मा केही त्यस्ता खेलाडीहरू पनि छन् जसको खेल छुटाउनै नहुने खालको हुन्छ । किनभने ती खेलाडी स्टार हुन् । कोही सुपरस्टार बन्ने क्रममा छन् । कोही स्टार बनिसकेर विश्वकप खेल्दैछन् । क्लब फुटबलम स्टार बनिसकेका छन् ।

विश्वकप क्लब फुटबल भन्दा फरक हुने हुँदा ती खेलाडीको प्रदर्शन विश्वकपमा कस्तो होला कति गोल गर्लान् भन्ने कुरा हेर्न लायक हुनेछ ।

लियोनल मेस्सी (अर्जेन्टिना)

लियोनल मेस्सीलाई यस पटक चार वर्षअघिको जस्तो दबाब हुने छैन । किनभने मेसीले कतार विश्वकप २०२२ को उपाधि जित्दै आफ्नो लामो समयदेखिको सपना पूरा गरिसकेका छन् ।

३८ वर्षीय मेस्सीले क्लब फुटबल देखि राष्ट्रिय टिमसम्म सबै ट्रफी जितिसके । उनी अब कीर्तिमानी छैटौं पटक विश्वकप खेल्दैछन् । विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका मेस्सी सर्वाधिक गोलकर्तामा पनि कीर्तिमान नजिक हुनेछन् ।

मेस्सीले १३ गोल गरेका छन् भने जर्मनीका मिरोस्लाभ कोजले सर्वाधिक १६ गोल गरेका छन् । यस पटक ३ गोल गरेमा मेसीले कीर्तिमान बराबरी गर्नेछन् भने ४ गोल गरे कीर्तिमान बनाउनेछन् ।

यस्तै मेस्सी यस पटक उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछन् । सन् १९६२ मा ब्राजिलले लगातार दुई पटक उपाधि जितेयता कुनै पनि त्यो त्यो काम गर्न सकेको छैन र ६४ वर्षपछि अर्जेन्टिनाले त्यो उपलब्धि हात पार्ने लक्ष्यमा छ ।

यस पटक अर्जेन्टिनी टिममा युवा खेलाडीहरूको बाहुल्यता छ । विश्वकपअघि चोटसँग संघर्ष गरिरहेका मेस्सीले बेन्चबाट खेल सुरु गरेका थिए । अब विश्वकपमा उनले पहिलो रोजाइमा खेल्छन् वा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्छन् त्यो हेर्न बाँकी छ ।

मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी र अन्य युवा खेलाडीलाई कसरी परिक्षण गर्छन् महत्वपूर्ण हुनेछ ।

विश्वकपअद्धिको अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार आइसल्यान्ड विरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले पेनाल्टीमा गोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

मेस्सीको भन्दा ठिक विपरित छ रोनाल्डोको अवस्था । २०२६ को विश्वकप रोनाल्डोको लागि ‘लास्ट डान्स’ जस्तै हुनेछ ।

मेस्सीसँगै कीर्तिमानी छैटौं पटक विश्वकप खेल्ने तयारीमा रहेका रोनाल्डोले ४१ वर्षको उमेरमा पनि आफूलाई फिट राख्दै विश्वकपका लागि तयार छन् ।

तर रोनाल्डोले अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेकोले उनी केही दबाबमा हुनेछन् । उनको ट्रफी क्याबिनेटमा यही एउटा ट्रफी खाली छ ।

विश्वकपमा २२ खेल खेल्दै ८ गोल गरेका रोनाल्डो व्यक्तिगत भन्दा पनि टिमबाट उपाधि जित्नेमा केन्द्रित हुनेछन् । पोर्चुगलमा युरोपका विभिन्न लिग खेल्ने अनुभवी देखि युवा खेलाडीहरूको समिश्रण छ ।

अहिलेसम्म सेमिफाइनलसम्म मात्र पुगेको पोर्चुगललाई रोनाल्डोले फाइनल पुर्‍याएर उपाधि जिताउलान् त ? त्यो हेर्न बाँकी छ ।

रोबर्टो मारर्टिनेजको प्रशिक्षणमा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका रोनाल्डो यस पटक विश्वकपलाई सुखद बनाउने लक्ष्यमा छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी २२६ खेल खेल्दै १४३ गोल गरिसकेका रोनाल्डो करियरमा एक हजार गोल नजिक समेत छन् ।

किलियन एमबाप्पे (फ्रान्स)

किलियन एमबाप्पे फ्रान्सको कप्तान हुन् । यस विश्वकपको मुख्य उपाधि दाबेदार फ्रान्स अनी त्यसका स्टार एमबाप्पे । एमबाप्पेले १९ वर्षको उमेरमै सन् २०१८ मा विश्वकप जितिसकेका छन् भने सन् २०२२ मा फ्रान्सलाई फाइनल पुर्‍याउन पनि भूमिका खेले ।

अहिले मेस्सी र रोनाल्डोको युगपछि उत्कृष्ट खेलाडीको ट्यागका लागि एमबाप्पे लायक खेलाडीको रूपमा हेरिएको छ ।

२७ वर्षीय रियल मड्रिड फरवार्ड एमबाप्पेले विश्वकप र व्यक्तिगत उपलब्धिहरू समेत जितिसकेका छन् । तर उनले च्याम्पियन्स लिग र बालोन डी’ओर अवार्ड भने जित्न सकेका छैनन् । विश्वकपमा राम्रो गर्दै उपाधि जितेमा बालोन डे’ओरको दाबेदार पनि हुन्छन् ।

सन् २०२२ मा फ्रान्सलाई लगातार दोस्रोपटक फाइनल पुर्‍याउँदा उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए । त्यसबेला अर्जेन्टिनासँग फाइनलमा ४-३ ले पराजित हुँदा उनले ह्याट्रिक गरेका थिए ।

यस पटक पनि एमबाप्पे गोल्डेल बुटको दाबेदारको रुपमा छन् । उनले चार वर्ष अघि जस्तै गोल गर्ने लय कायम राख्दै फ्रान्सलाई च्याम्पियन बनाउन सके गोल्डेन बलका लागि समेत दबाबेदार बन्न सक्छन् ।

लामिन यमाल (स्पेन)

लामिन यमाल उमेरले भर्खर १८ वर्ष भए । उनको लागि यो पहिलो विश्वकप हो । तर विंगर यमाल आफ्नो पुस्ताका उत्कृष्ट खेलाडी हुन् । टिनएजर यमालले यो उमेरमै राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरिसकेका छन् ।

स्पेनलाई सन् २०२४ को युरोकप उपाधि जिताउने क्रममा यमालले महत्वपूर्ण भुमीका खेलेका थिए । १७ वर्ष नपुग्दै युरोकपको फाइनल खेल्दै उपाधि जितेमा उनी युरोकपमा गोल गर्नै सबैभन्दा कान्छो खेलाडी समेत हुन् ।

उनले बार्सिलोनाबाट धेरै उपलब्धि हासिल गरिसकेका छन् । यदि त्यही लय विश्वकपमा पनि कायम राख्दै गोल गर्ने हो भने यमाल विश्वकपमा सर्वाधिक गोल गर्दै सबैभन्दा कम उमेर गोल्डेन बुट जित्ने खेलाडी बन्न सक्ने फुटबल पण्डितहरूको विश्लेषण छ ।

बार्सिलोनामा लियोनल मेस्सीले जस्तै गोल गर्ने र धेरै उपलब्धी हासिल गरिसकेका यमाललाई मेसीसँग तुलना पनि गर्ने गरिन्छ । कुनै बेला बच्चै हुँदा यमाललले मेसीसँग एउटा फोटोसुट पनि गरेका थिए ।

एर्लिङ हालान्ड (नर्वे)

अहिले विश्व फुटबलको देखिएको सबैभन्दा घातक स्ट्राइर हुन् नर्वेका एर्लिङ हालान्ड । २८ वर्षपछि नर्वे विश्वकपमा पर्किँदा यस पटक हालान्डको पनि विश्वकप खेल्ने सपना पूरा हुँदैछ ।

२५ वर्षीय गोल मेसिन हालान्डले गोल गर्ने कीर्तिमान ब्रेक गर्दै छन् । खासमा हालान्डकै शानदार प्रदर्शनमा नर्वे विश्वकपमा छनोट भएको हो ।

क्लब फुटबलमा म्यानचेस्टर सिटीका लागि गोल मेसिनको रुपमा रहेका हालान्ड विश्वकपमा डेब्यु गर्दैछन् र उनको बुटबाट विश्वकपमा पनि उस्तै गोल हेर्न पाउने दर्शकहरूको आशा छ ।

नर्वेको उदाउँदो सुनौलो पुस्ताको रुपमा रहेको टिमलाई विश्वकपम पुर्‍याउन हालान्डले युरोपियन छनोटमा सर्वाधिक १६ गोल गरेका थिए ।

अक्टोबरमा हालान्डले ५० भन्दा कम खेलेमा ५० अन्तर्राष्ट्रिय गोल गर्ने इतिहासमै छैटौं र ५३ वर्षयताको पहिलो खेलाडी बनेका थिए ।

यो उपलब्धि हेर्दा उनलाई गोलमेसिन भन्दा कुनै फरक पर्दैन । यस विश्वकपमा नर्वे उपि दाबेदार नरहे पनि डार्क हर्सको रुपमा रहेको छ ।

त्यसमा हालान्ड उत्कृष्ट फरवार्ड हुन् । अब नर्वेको यात्रा कहाँ पुग्छ त्यसमा हालान्डमा धेरै हदसम्म निर्भर हुनेछ ।

ह्यारी केन (इंग्ल्यान्ड)

ह्यारी केन इंग्ल्यान्डका कप्तान तथा सर्वाधिक गोलकर्ता हुन् । केनले सन् २०१८ मा रुसमा भएको विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए ।

कप्तान र मुख्य गोलकर्ताको रुपमा रहेका ह्यारी केन बायर्न म्युनिखबाट बुण्डेसलिगाको उपाधि जितेर विश्वकपमा जाँदैछन् । उनी आफ्नो करियरकै उच्च लयमा पनि छन् ।

उपाधि दाबेदार मध्ये एक रहेको इंग्ल्यान्डका लागि लागि केनको लय एडभान्टेज बन्न सक्छ ।

सन् २०१८ मा गोल्डेन बुट अवार्ड जितेका केन फेरि एकपटक त्यो अवार्डका लागि दाबेदारको रुपमा पनि छन् र त्यसो गर्न सकेकमा उनी दुई पटक विश्वकपमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी हुनेछन् ।

नेयमार (ब्राजिल)

ब्राजिलका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गरेका नेयमार विश्वकप फुटबल खेल्ने टोलीमा परेपछि उनको चर्चा फेरि बढेको छ ।

पछिल्ला वर्षहरूमा चोटका कारण फिट हुन संघर्ष गर्दै आएका नेयमार पुरानो क्लब सान्तोसमा फर्किएपछि लयमा देखिएका थिए । तर चोटले उनलाई बारम्बार सताएको छ ।

३४ वर्षीय नेयमारले अहिलेसम्म तीन पटक विश्वकप खेल्दा पनि उपाधि जित्न सकेका छैनन् । उनी चौथो पटक विश्वकप खेल्दैछन् र प्रशिक्षक कार्लो एन्सेलोट्टीले नेमारमाथि विश्वास देखाएका छन् ।

छैटौं पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको ब्राजिलका लागि नेयमारको अनुभव र प्रदर्शन काम लाग्न सक्छ । नेयमारले २०२३ यता ब्राजिलको राष्ट्रिय टिमबाट खेलेका छैनन् ।

आफ्नो करियरको धेरै समय ब्राजिलको मुख्य जिम्मेवारी सम्हालेका नेयमारका लागि यो अन्तिम विश्वकप पनि बन्न सक्छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय