झापाको दमक नगरपालिका ९ र १० को सीमा क्षेत्रमा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन् । वर्षौंदेखि हिलो, पानी र खाल्डाखुल्डीले भरिएको सडकमा स्थानीय महिला, पुरुष तथा किसानहरू धानको बेर्ना बोकेर पुगेका थिए । उनीहरूले सडकलाई नै खेतको प्रतीक बनाएर धान रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
सडक निर्माणका लागि पटक–पटक आवाज उठाए पनि कुनै निकायले गम्भीर चासो नदिएपछि बाध्य भएर सांकेतिक विरोधमा उत्रिनुपरेको स्थानीयको गुनासो छ । वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे बनेको छ भने सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिन भएको छ ।
विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपानेले जनप्रतिनिधिहरूले चुनावका बेला मात्रै जनताको घरदैलोमा पुग्ने तर निर्वाचित भएपछि समस्या बिर्सिने गरेको गुनासो गरे ।
‘हामीले धेरै पटक यो सडक बनाउन आग्रह गर्यौं’ उनले भने, ‘वडा, नगरपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधिलाई समेत भन्यौं । तर वर्षौं बित्दा पनि सडक उस्तै छ ।’
अहिले सडक हो कि खेत छुट्याउनै गाह्रो भएकाले विरोधस्वरूप धान रोपेको न्यौपानेले बताए ।
‘बिरामीलाई अस्पताल लैजान समस्या छ, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन् । विकासका भाषण धेरै सुन्यौं तर व्यवहारमा हिलो र धुलो मात्रै पायौं’ उनले भने ।
सडकको समस्या नयाँ नभएको र वर्षौंदेखि स्थानीयले सास्ती भोगिरहेको सुरेश धिमाल बताउँछन् । ‘वर्षामा हिलो र हिउँदमा धुलो । सडकको अवस्था यति खराब छ कि कतिपय बेला मोटरसाइकलसमेत चलाउन सकिँदैन’ धिमाल भन्छन् । बालबालिका विद्यालय जाँदा लड्ने, वृद्धवृद्धा हिँड्न नसक्ने अवस्था रहेको उनले सुनाए ।
‘हामीलाई सडक कसले बनाउँछ भन्ने चासो छैन, सडक बन्नुपर्छ भन्ने मात्रै हो’ उनी भन्छन् । जिम्मेवारी एकले अर्कामाथि थोपर्ने काम मात्रै भएको उनको गुनासो छ ।
सडकले गर्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको पदम भण्डारी बताउँछन् । ‘हामी वर्षौंदेखि यही बाटो प्रयोग गरिरहेका छौं । वर्षा लागेपछि घरबाट निस्कनै डर लाग्छ’ उनी सुनाउँछन्, ‘बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैन, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन् ।’
जनताको धैर्यको परीक्षा धेरै भइसकेको केदार खतिवडा बताउँछन् । ‘यो सडकको समस्या एक–दुई वर्षको होइन । पटक–पटक आश्वासन पाइयो तर काम भएन’ खतिवडा भन्छन्, ‘कर तिर्ने बेला हामी नागरिक हौं, सुविधा दिने बेला कसैले सम्झिँदैन ।’
जनप्रतिनिधिहरूले जनताको पीडा बुझ्नुपर्ने भेषराज थापा बताउँछन् । हिँड्न मिल्ने सडक चाहियो भन्ने आफूहरूको सामान्य माग रहेको थापाले सुनाए । ‘आज सडकमै धान रोप्नु हाम्रो आक्रोश मात्र होइन, राज्यप्रति गरिएको गम्भीर प्रश्न पनि हो । आखिर कहिलेसम्म जनताले यस्तै सास्ती खेप्ने ? उनले प्रश्न गरे।
स्थानीयवासीले सडक स्तरोन्नति तथा कालोपत्रेको काम तत्काल सुरु नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4