0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares
प्रतिनिधिसभा :

कालो डायरीमा लेखिँदै छ सरकारको काम-कारबाही

श्रद्धेय डीपी अर्याललाई म सोध्न चाहन्छु- मैले हिँड्ने बाटोमा यति धेरै काँडाहरू पनि नरोपिदिनुस् । के थाहा भोलि त्यही बाटो भएर तपाईँ स्वयं मलाई भेट्न पनि आउनुपर्ने हुन सक्छ ।

भीष्मराज आङ्देम्बे भीष्मराज आङ्देम्बे
२०८३ जेठ २७ गते २१:४८

आज असामान्य परिस्थितिमा म यो सम्मानित सदनलाई सम्बोधन गर्न उभिएको छु।

म जान्दछु- म त्यो देशको नागरिक हुँ, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन। म जान्दछु- मेरो देश वीर गोर्खालीको देश, दुनियाँमा कहिल्यै कसैका सामु झुकेन।

तपाईं–हामी कयौँले बाल्यकालदेखि गोपाल योञ्जनको गीत सुन्दै आयौँ:

खोसेको रोटीले मेरो पेट भरिन्न, 

मागेको धोतीले मेरो लाज छोपिन्न, 

घोटिएर हात–पाउ झरिजाऊन् औँला, 

तर कोही अगाडि यी हात जोडिन्न। 

बनेको छ पहराले यो छाती मेरो….।

सभामुख महोदय, यो राष्ट्रिय गीतको शब्द-शब्दले यही सङ्देश दिएको छ कि नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविष्यमा जन्मने प्रत्येक बच्चा, प्रत्येक मान्छे- शीरमा स्वाभिमान बोकेर बाँच्नेछ। सगरमाथा मात्रै होइन, सगरमाथाजत्रै स्वाभिमान बोकेर बाँच्नेछ।

तर, यसो सोच्छु सभामुख महोदय, आज गोपाल योञ्जन हुनुहुन्थ्यो भने- ‘हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर के भन्नुहुन्थ्यो होला ? उहाँले पक्कै सोध्नुहुने थियो- ‘तिनीहरूले पनि मिचे, हामीले पनि मिच्यौँ, के हिसाब बराबर भन्न खोज्नुभएको हो प्रधानमन्त्रीज्यू ?’

दुनियाँलाई थाहा छ सभामुख महोदय:

  • लिपुलेक हाम्रो हो,
  • कालापानी हाम्रो हो,
  • लिम्पियाधुरा हाम्रो हो।

यही संसद्ले ती भूभागसहितको नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ।

यो विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढङ्गले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रियाद्वारा हुनुपर्छ। हामी सबै यही चाहन्छौँ। त्यसका लागि हामी पक्ष–प्रतिपक्ष सबै नै सरकारको साथमा थियौँ र छौँ। तर सरकार र सत्तारूढ पार्टीको रवैया यो गम्भीर प्रश्नप्रति गम्भीर देखिन्न।

सभामुख महोदय,

  • सरकार अलग कुरा हो, पार्टी अलग।
  • मन्त्री/प्रधानमन्त्री पद अलग हो, सांसद अलग।

यो तथ्य बुझेर अघिल्लो संसद्मा जुन बेला मेरो पार्टी नेपाली काङ्ग्रेस सरकारमा थियो, त्यसबेला काङ्ग्रेसकै दुई महामन्त्री रोस्ट्रममा उभिएर आफ्नै सरकारको पनि कमजोरी केलाउनुहुन्थ्यो। काङ्ग्रेसकै सांसदहरू काङ्ग्रेसकै मन्त्री/प्रधानमन्त्रीका विरुद्ध आवश्यक विषयमा प्रश्न उठाउनुहुन्थ्यो, प्रहार गर्नुहुन्थ्यो। त्यसैले दम राखेर भन्न सकियो- ‘काङ्ग्रेस लास र दासहरूको पार्टी होइन।’

तर… आजको मितिमा म यो संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको बडो कारुणिक दृश्य हेरिरहेको छु। सत्ताको कित्ताबाट कोही एक जनाले हिम्मत गर्लान् र ‘मेरो देशले कसको सीमा कहाँ मिचेको छ ?’ भनेर प्रश्न गर्लान् भनेको त, सभामुख महोदय म लज्जित छु- उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेकै हो भनेर पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिएका छन्।

त्यस्तो हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको आत्माले धिक्कार्ला कि नधिक्कार्ला ? यो सोधेर म उसै दुःखी मनहरूलाई थप दुखित बनाउन चाहन्न !

बरु सभामुख महोदय, म यो संसद् अब यही विषयमा रुमल्लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडो नम्रतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। यो वर्षको बजेट उपरको छलफल बाँकी छ। नेपाली जनताका अन्य कैयौँ जीवन्त मुद्दामा छलफल गर्नुछ। प्रधानमन्त्रीज्यूलाई संसद् नचाहिएला, तर प्रतिपक्षलाई संसद् चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीज्यू आउनुहोला, तर म उहाँलाई अब खोज्न चाहन्न।

तर प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्मलिएर, गरिमामय संसद्को अमूल्य समय खेर फाल्नुहुन्न भन्ने जिम्मेवारीबोध गर्ने कार्यमा कमजोरी गर्न पनि चाहन्न।

‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, आपत्तिजनक र लज्जास्पद थियो। तर यदि हाम्रो संसद्मा लगातार ५ दिनसम्म ५ जना अन्तर्राष्ट्रिय पर्यवेक्षक राखेर छलफल गरियो भने ५ दिनपछि तिनले निष्कर्षमा पक्कै लेख्नेछन्- ‘नेपालले भारतको सीमा मिचेको कुरा सत्य रहेछ।’ किनकि सत्ताको टेपले टालिएका ओठहरू सत्यको पक्षमा बोल्न सक्दैनन्। सबै सांसद बोल्ने हो भने ती विदेशी पर्यवेक्षकहरूले लेख्नेछन्- ‘नेपालको संसद्का बहुमत सांसदले स्वीकार गरेका छन् कि नेपालले भारतको सीमा मिचेकै हो।’ किनकि ‘मिचेको होइन’ भन्ने सङ्ख्या त संसद्मा अल्पमतमा छ।

बहुमत सांसदले त्यो स्वीकार गरेको लज्जास्पद दृश्य झल्झली सम्झन्छु सभामुख महोदय म- त्यो दिन जब प्रधानमन्त्रीज्यूले त्यस्तो बोल्नुभयो, तब रास्वपाका माननीय सदस्यहरूले समर्थनमा टेबुल ठोक्नुभएको थियो- ड्याङ/ड्याङ/ड्याङ गरेर।

माफ पाऊँ सभामुख महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद र सबैभन्दा दुःखद दृश्य थियो त्यो !!

त्यो दिन मैले सम्झिएँ सभामुख महोदय, जननायक बीपी कोइरालाले प्रधानमन्त्री छँदा ‘समीक्षा’ दैनिकका सम्पादक मदनमणि दीक्षितलाई बोलाएर भन्नुभएको वाक्य- ‘संसद्मा दुईतिहाइ छ, मेरो कमजोरी केलाउन प्रतिपक्षको स्वर दह्रो सुनिएको छैन। त्यसैले मबाट गलत काम हुन नदिन तपाईंले आफ्नो पत्रिकाबाट मेरो गल्ती/कमजोरी एक–एक केलाएर लेखिदिनुस् है !’

बीपीले आफ्नै पार्टीका सांसदहरूलाई पनि प्रेरित गर्दै भन्नुभएको थियो- ‘तिमी पार्टीको सांसद मात्र होइनौ, जनताको सांसद हौ। तिमीले अन्तरआत्माको आवाज सुन्न र जीवन्त आवाज उठाउन बन्द गरेको दिन बुझ्नु कि तिमीसँग सास फेरिरहेको निर्जीव शरीर मात्रै बाँकी छ।’

तर सभामुख महोदय, आजको संसद्मा को निर्जीव छन्, को सजीव छन्, कित्ताकाटको बाटोमा म जान चाहन्न। तर यत्ति भन्न चाहन्छु- प्रतिपक्ष जिउँदो छ र प्रतिपक्षमा रहेका दलहरू अनि प्रत्येक सांसदहरू सरकारले गर्ने राम्रो काममा समर्थन र साथ, अनि गलत काममा प्रश्न, प्रश्न र प्रश्न बोकेर जीवन्त उभिएका छन्।

संसारभरि नै लोकतान्त्रिक पद्धतिको प्रतिष्ठा र संसद्को गरिमा त्यसको प्रमुख नेतृत्वमा रहेको व्यक्ति अनि मुख्य दलको गतिविधिमा धेरै निर्भर हुन्छ। फागुन २१ को निर्वाचनपश्चात् बन्नुभएका प्रधानमन्त्री अनि ‘थिति बसाल्ने सङ्कल्प’ सहित आएको पहिलो पार्टीले साँच्चै थिति बसाल्ला भन्ने अनुमान गरेका थियौँ।

तर, त्यसको ठिकविपरीत प्रधानमन्त्री नै थिति तोड्ने बाटोमा बेपरवाह लागिरहनुभएको छ। अनि सच्याउनुपर्ने र ठिक ठाउँमा ल्याउन ध्यान दिनुपर्ने पार्टीका सबै शीर्ष मित्रहरू खुलेर समर्थन पनि गर्न नसक्ने र विरोध पनि गर्न नसक्ने अनौठो जिन्दगी यतिबेला बाँचिरहनुभएको छ।

तर, सभामुख महोदय, नागरिकले एक–एक हिसाब राखिरहेका छन् भन्ने कुरामा सरकार अनि सत्तारूढ पार्टी रास्वपा सजग बनोस् भनेर म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

नागरिकले तपाईंको पारदर्शिताको शैली, सुशासनको दृश्य, मानवताको चित्र अनि राष्ट्रवादको वास्तविक चरित्रको एक–एक घटना निरन्तर नियालिरहेका छन्। मैले सुनेको छु- गएको निर्वाचनमा मत दिएकामध्ये कतिपयले ‘कालो डायरी’ अभियान सुरु गरेका छन्। त्यो डायरीमा तिनीहरूले तपाईंको एक–एक कर्मको टिपोट गरेर राख्ने छन्।

म नम्र ढङ्गले आग्रह गर्दछु- ‘कालो डायरी’ अभियानका सदस्यहरूलाई नकारात्मक रूपमा नलिनू, तिनीहरूले कमजोरी केलाइदिएपछि तपाईंहरूलाई सच्चिन सहयोग पुग्नेछ।

तिनीहरूले सायद यसरी टिपिरहेका होलान् नि:

  • सम्माननीय राष्ट्रपतिले सम्मानित सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला हाम्रा सम्माननीय प्रधानमन्त्रीले एकाएक संसद् ‘बङ्क’ गरिदिनुभयो। संसदीय इतिहासमा यस्तो कहिल्यै भएको थिएन। नेपालमा मात्र होइन, संसारमै यस्तो कतै भएको छैन।
  • प्रधानमन्त्रीलाई सरकारका एक कर्मचारीले व्यक्तिगत सम्बन्धका कारण म्यासेज पठाएबापत, तिनलाई कुनै पक्राउपुर्जी बेगर घरबाट उठाइयो। अनि प्रधानमन्त्रीले पुरानै ‘फु’ शैलीमा फेरि लेख्न भ्याउनुभयो- तिनै र त्यस्ता सबै कर्मचारीको हुर्मत लिने स्ट्याटस।
  •  टीभीमा कार्यक्रम चलाउँदा राष्ट्रवादको प्रश्नमा बाघ बनेर गर्जिएका कोही मित्र, अहिले म्याऊँ नगरी फर्किनुभयो !
  • सुशासनको नारा दिएर चुनाव जित्ने, तर सांसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसद्को नियमावली बनाउने ?
  • सुशासनको प्रश्नमा यो पनि पक्कै होला- छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोषविहीन करार, आफैँ झाँक्री फेरि पुरस्कार !
  • हिजो प्रश्न गर्दा- मन्त्रीका बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीका बारे गम्भीर प्रश्न उठ्यो, तर सबै ‘बरफ’। त्यो डायरीमा यो टिपोट पनि परेकै होला।
  • डायरीमा टिप्नेहरूले ‘इन्द्रबहादुर राई’ को नाम पनि टिपेका होलान्। म सभामुख महोदयमार्फत सोध्न चाहन्छु प्रधानमन्त्रीज्यूलाई- के तपाईं इन्द्रबहादुर राईलाई चिन्नुहुन्छ ? सायद चिन्नुहुन्न, बल्खुमा जसले टहरा भत्काउन लागिएको देखेर यो दुनियाँबाट आफैँसँग बिदा मागे अनि बिदा लिए।
  • त्यसैले डायरीमा टिप्नेले सोधेर लेखेका होलान्- ‘रास्वपा सरकार, तिम्रो राज्यमा गरिब सुकुमवासीको जिन्दगीको केही मूल्य छ ?’

सम्माननीय सभामुख महोदय, दुनियाभरि संसद्मा राष्ट्राध्यक्षले सरकारको नीति तथा कार्यक्रम पढ्ने परम्परा छ र त्यो नीति तथा कार्यक्रम राष्ट्रपतिले नभएर प्रधानमन्त्रीको नेतृत्वमा रहेको क्याबिनेटले तयार गरेको हुन्छ। आफ्नै सरकारले तयार गरेको देशको वार्षिक कार्यतालिका/वार्षिक कार्यनीतिप्रति प्रधानमन्त्री स्वयंले बैठकबीचबाट निस्किएर अविश्वास प्रकट गरेको दुनियाँकै संसद्को पहिलो घटना थियो।

यो घटना संसदीय मर्यादाविपरीत मात्रै होइन, सम्माननीय राष्ट्रपतिप्रति राख्नुपर्ने सम्मानको विपरीत मात्रै होइन, अस्ति फागुन २१ मा घाममा लाम लागेर भोट दिने प्रत्येक मतदाताको पनि अपमान थियो।

किनकि, यो संसद् कसैले टीका लगाइदिएर बनेको होइन। यहाँ बसेका प्रत्येक सांसद, जसरी प्रधानमन्त्री मतदाताको मतबाट चुनिएर यहाँ पुग्नुभयो, त्यसरी नै पुगेका हुन्। सत्तारूढ सांसदहरू पनि दासप्रथाकालीन साङ्ग्लोमा बेरिएका निरीह जीव होइनन्। न दास हुन् न लास हुन्, प्रत्येक सांसद सार्वभौम अधिकारसम्पन्न नेपाली जनताका सार्वभौम प्रतिनिधि हुन्। तर प्रधानमन्त्रीज्यूले यी प्रत्येकको स्वाभिमानलाई एकदमै हलुकासँग लिनुभयो। यसो गरेर उहाँले संसद्, सांसद र नेपाली जनताको अपमान गर्नुभएको छ।

सम्माननीय सभामुख महोदय, हाम्रो संसदीय नियमावलीले विशेषगरी तीन अवस्थामा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति र प्रत्यक्ष जवाफदेहिताको अपेक्षा गर्छ:

१. सरकारको नीति तथा कार्यक्रमको छलफलमा,

२. प्रधानमन्त्री र उनको मातहतको मन्त्रालयसँग जोडिएका विषयको छलफलमा,

३. र सदनमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तरमा।

यही जेठ १७ गतेको बैठकमा ‘छापामार शैलीमा’ सदनमा उपस्थित भएर ‘र्‍याप शैलीमा’ प्रधानमन्त्रीले जे बोल्नुभयो, त्यसले प्रधानमन्त्री पदको गरिमा ध्वस्त बनाएको उहाँले भेउ पाउनुभएन। संसद्को रोस्ट्रम ‘र्‍याप ब्याटलको स्टेज’ थिएन र होइन भन्ने अलिकति पनि हेक्का उहाँले राख्नुभएन।

संसद्को रेकर्डमा रहिसकेपछि त्यसका बारेमा प्रधानमन्त्रीले संसद्मा पुनः उभिएर सफाइ दिनुपर्छ, प्रष्ट पार्नुपर्छ भन्ने हाम्रो अडान हो। सदनमा आएर त्यो कुरालाई फिर्ता लिनुहोस्। हाम्रो माग वा अडान जे भन्नुहोस्, हामीले खोजेको त्यति मात्र थियो।

सम्माननीय सभामुख महोदय, बेलायतबाट सुरु भएको संसदीय परम्परालाई दक्षिण एसियामा गरिमापूर्वक प्रतिष्ठित गराउनमा दुई राजनेताको विशिष्ट भूमिका छ- भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला। यी दुवै नेताले नियमावलीले प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अपेक्षा गरेको बेला मात्र होइन, सदनमा हुने सबै छलफलमा उपस्थित भएर संसद्को गरिमा र महत्त्व बढाएका थिए।

तर, जेठ १७ गते सदनमा प्रधानमन्त्रीको उपस्थिति र भूमिका उहाँको एकलौटी र एकतर्फी चयन र छनोटको विषय थियो। उहाँले प्रश्न लिन्छु भनेपछि हामीले प्रश्न सोधेका थियौँ। तर हाम्रो अपेक्षा यति हो कि प्रधानमन्त्रीको संसद्मा उपस्थिति सारगर्भित हुनुपर्छ, त्यो दिन त्यस्तो भएन। उहाँ अचानक आउनुभयो, अचानक बोल्नुभयो अनि दाबी नै गर्नुभयो- ‘नेपालले पनि भारतको सीमा मिचेको छ।’

हामीले त हाम्रा सम्माननीय प्रधानमन्त्रीको ‘टङ स्लिप’ भएको होला भन्ठानेका थियौँ। तर जे होस्, संसद्को रेकर्डमा रहिसकेपछि त्यसका बारेमा प्रधानमन्त्रीले संसद्मा पुनः उभिएर सफाइ दिनुपर्छ, प्रष्ट पार्नुपर्छ भन्ने हाम्रो अडान हो। सदनमा आएर त्यो कुरालाई फिर्ता लिनुहोस्। हाम्रो माग वा अडान जे भन्नुहोस्, हामीले खोजेको त्यति मात्र थियो।

सम्माननीय सभामुख महोदय, २०७६ को संसद्मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षले उठाएका सवाललाई ‘निम्छरो’ शब्द प्रयोग गरेर उपेक्षा गर्दा, तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी सांसदको नियमापत्तिअनुरूप ‘निम्छरो’ शब्दलाई रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको थियो र संसद्को रेकर्डबाट हटेको थियो। तर यो कुरालाई रेकर्डबाट हटाउन आँट नगरेका वर्तमान सभामुखलाई म अलग्गै प्रश्न बाहिर कुनै कार्यक्रममा गर्नेछु- ‘के तपाईंलाई लाग्छ- नेपालले भारतको सीमा मिचेको छ ?’

हामीले यही सवाललाई लिएर सदन अवरोध गरिरहेका छौँ, तर प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुन्जायस छैन। तपाईंले यो विवादका बीच केही दिनका लागि सदन स्थगित गर्नुभयो र हिजोबाट फेरि सदन सुरु भएको छ। तर सदन सुचारु गर्ने बारेमा जुन तदारुकता देखिनुपर्ने हो, त्यो सम्बन्धित सरोकारवाला पक्षबाट देखिएको छैन।

सम्माननीय सभामुख महोदय, यसबीचमा सबैभन्दा उदेकलाग्दो कुरा के भने- भारत भ्रमणमा गएका रास्वपाका सभापतिले नेपाल फर्केपछि भन्नुभयो- ‘सिमानाको बारेमा ढोल बजाएर छलफल हुन सक्दैन।’ दिल्लीमा छँदा सिमानाको ‘स’ अनि कालापानीको ‘क’ पनि उच्चारण नगरिकन फर्केर आउनुभयो। परराष्ट्र मन्त्री भारत भ्रमणमा जानुभयो- उहाँले प्रधानमन्त्रीले बोलेको विषयमा प्रतिपक्षले उठाएको सन्दर्भमाथि टिप्पणी गर्नुभयो।

जेठ १७ यताका पछिल्ला दिनहरूमा हामीले के देखेका छौँ भने- सत्तासम्मत राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद/नेताहरूबीच ठूलो प्रतिस्पर्धा एवं होडबाजी चलिरहेको छ- प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई सही ठहर्‍याउनका निमित्त। त्यसलाई पुष्टि गर्नका लागि ‘नेपालले भारतको भूमि मिचेकै हो’ भनेर यो कुरालाई स्थापित गर्नैपर्छ भन्दै भ्रम छर्ने, अतिरञ्जित रूपमा प्रस्तुत हुने गर्नुभएको छ।

यो विषयको छलफललाई लम्ब्याइरह्यो भने हामीलाई डर लागेको छ- अहिले नेपालको जति भूमि छ, त्योमध्ये आधाजति भूमि नेपालले भारतको भूमि खोसेर/मिचेर/लुटेर बनाएको हो भन्ने कुरा स्थापित हुने खतरा बढ्दै गएको छ। यो अत्यन्तै दुःखद छ।

सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीको गैरजिम्मेवारीले सबै किसिमको पराकाष्ठा वा हद पार गरेको छ। आफूले बोलेका विषयको आयतन वा प्रभाव कति हुन्छ भन्ने कुराको हेक्का उहाँले गर्नुभएको छैन। जस्तै उदाहरणका लागि- प्रधानमन्त्रीले उक्त कथनमा के भन्नुभयो भने, ‘सीमा विवाद समाधानका हेतु हामीले बेलायतसँग कुरा गरिरहेका छौँ, यो ब्रिटिस इन्डियाले छाडेर गएको समस्या हो। त्यसकारण यसमा इङ्ल्यान्डले सरोकार राख्नुपर्छ।’

भोलि भारतसँग सीमा वार्तामा बस्दा भारतीय पक्षले सन्तोषपूर्वक भन्न सक्ने भयो- ‘नेपालका प्रधानमन्त्री सीमासम्बन्धी अति सामान्य कुराको पनि जानकार छैनन्। उनलाई ‘क्रस बोर्डर अकुपेसन’ र ‘ल्यान्ड इन्क्रोचमेन्ट’ बीचको अन्तरसमेत थाहा छैन।’

प्रधानमन्त्रीले यति बोलिसकेपछि के सङ्कट आइलाग्यो भने प्रधानमन्त्रीका समर्थक/प्रशंसकले रफु गर्नुपर्ने, त्यसका उपर सफाइ दिनुपर्ने अवस्था आयो। त्यो गर्नका लागि परराष्ट्र मन्त्रालयले, परराष्ट्र मन्त्रीले, सिङ्गो राज्य संयन्त्रले ‘हामीले बेलायतसँग नक्सा मागेका छौँ’ भन्नुभएको छ।

सन् २०१५ मा जतिबेला भारत र चीनले दुईपक्षीय सहमतिबाट मानसरोवरका लागि रुट खुला गरे, त्यतिबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले तथ्य–प्रमाणसहित दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो- कसरी त्यो भूमि हाम्रो हो, नेपालको हो भनेर। अहिले हाम्रा प्रधानमन्त्रीले गरेको बचकना तर्कले गर्दा, प्रधानमन्त्रीलाई ठिक ठहर्‍याउनका लागि हामीले बेलायतसँग नक्साको पहुँच खोजिरहेको तर्क गरिरहेका छौँ।

यो सबै कुराले हामीले के सजिलो बनाइरहेका छौँ भने- भोलि भारतसँग सीमा वार्तामा बस्दा भारतीय पक्षले सन्तोषपूर्वक भन्न सक्ने भयो- ‘नेपालका प्रधानमन्त्री सीमासम्बन्धी अति सामान्य कुराको पनि जानकार छैनन्। उनलाई ‘क्रस बोर्डर अकुपेसन’ र ‘ल्यान्ड इन्क्रोचमेन्ट’ बीचको अन्तरसमेत थाहा छैन।’

नेपालले आफ्नो सीमाबारे दाबी गर्दा प्रस्तुत गरेका जति पनि ऐतिहासिक दलिल र प्रमाणहरू छन्, ती दलिल र प्रमाणहरू बिनाआधार पेस गरिएको रहेछ भन्ने पुष्टि हुने अवस्था आउने भयो। प्रधानमन्त्रीले देखाएको एउटा सानो अज्ञानताले हाम्रा पूर्वजहरूले, हाम्रा निकटवर्ती राजनेताहरूले हाम्रो भूगोलको अखण्डतालाई जोगाउन प्रयोग गरेका सबैखाले प्रयासलाई एकैपटक विवादको भुमरीमा मात्र पारेको छैन, त्यसलाई खारेज गर्ने प्रपञ्चसमेत देखापरेको छ।

सम्माननीय सभामुख महोदय,

यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षका रूपमा हामी के निष्कर्षमा पुगेका छौँ भने- प्रधानमन्त्रीले गरेको कुतर्कको बचाउका लागि प्रत्येक दिन थप नयाँ–नयाँ कुतर्कहरू र यसको अनन्त शृङ्खला जारी हुने खतरा बढेको छ। हामी राष्ट्रिय प्रतिष्ठालाई लोकलाजको विषयबाट जोगाउन पनि यो अवस्थालाई तत्काल रोक्न चाहन्छौँ।

‘प्रधानमन्त्रीले जग्गा भन्नुभएको हो, भूमि भन्नुभएको होइन।’ कसैले यो तर्क गरेको छ, कसैले त्यो तर्क गरेको छ। कुतर्कको बाढी चलेको छ।

सरकारी पक्षले- विशेषगरी परराष्ट्र मन्त्री र रास्वपाका सभापतिले समेत भारतबाट प्रकाशित हुने पत्रिका ‘हिन्दुस्तान टाइम्स’ मा ‘हामीसँग विगतको ब्यागेज छैन’ भनेर बारम्बार दोहोर्‍याउनुभएको छ। यसको अर्थ के हो ? यसबारेमा पनि उहाँहरूले प्रष्ट पार्नुपर्छ।

राजनीतिशास्त्रमा एउटा देश वा राष्ट्र बन्नका लागि चारवटा कुरा आवश्यक मानिन्छ:

  • भूगोल,
  • जनसङ्ख्या,
  • सरकार,
  • र, सार्वभौमसत्ता।

सरकार बनेपछि के यी चारवटै कुरा फेरिएका हुन् ? भूगोल, जनसङ्ख्या र सार्वभौमसत्ता पूर्ववत् नै कायम छ ! फेरिएको एउटा सरकार मात्र हो। बाँकी कुरा त जस्ताको तस्तै (ज्यूँकात्यूँ) छन्। हिजो कुनै बेला माओवादीका साथीहरूलाई पनि पहिलोपटक सरकारको नेतृत्व गर्दा यस्तै भ्रम परेको थियो। आज त्यो भ्रमले रास्वपाका साथीहरूलाई खर्लप्पै निलेको अनुभूति मलाई भएको छ।

सम्माननीय सभामुख महोदय,

दुई देशबीचको सम्बन्धका विषयमा कुनै एउटा राजनीतिक दलले सरकार फेरिँदा साथ त्यसको दर्शन–सिद्धान्तअनुसार विदेश नीतिमा केही आंशिक बदलाव ल्याउन सक्छ, त्यो कुनै अन्यथा होइन। तर हामीले आज ऐतिहासिक यथार्थ र राजनीतिशास्त्रमा स्थापित देश-देशबीच सम्बन्धका सार्वजनिक तथ्यहरूको उपेक्षा गरेर कसलाई सजिलो बनाइरहेका छौँ ?

उदाहरणका लागि- हामीले राजसंस्थात्मक व्यवस्थालाई फालेर गणतान्त्रिक व्यवस्था लिएर आएका हौँ। तर त्यसको मतलब हामीले पृथ्वीनारायण शाहले देशको एकीकरणको नेतृत्व गरेको कुरालाई तोडमरोड गर्न सक्दैनौँ। हामीले त्यो तथ्यलाई चाहेर पनि मेट्न वा नयाँ बनाउन सक्दैनौँ।

सम्माननीय सभामुखलाई यो जानकारी गराउँछु कि- तपाईंले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा ल्याउन सक्नुभएन, प्रधानमन्त्री सदनमा आउनुभएन। अब प्रधानमन्त्रीको माफीको कुरा गौण भएको छ। किनभने, प्रधानमन्त्रीले अब माफी संसद्‌सँग होइन, यो माफी देश र जनतासँग माग्नुपर्छ।

नेपाली काङ्ग्रेस पार्टीले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति प्रवर्तन गर्दा हाम्रा श्रद्धेय संस्थापक नेता, नेपाली लोकतन्त्रका आदिपुरुष बीपी कोइरालाले भूराजनीतिक खिचातानीले भूगोलका आधारमा साना देशहरूको सार्वभौमसत्ता मात्र नभएर तिनीहरूको अस्तित्व नै खतरामा परेको बेला आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपाल फर्किएको कुरा सम्मानित सदनमा स्मरण गर्न चाहन्छु।

जब–जब नेपालको अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय एकता खतरामा परेको छ, त्यतिबेला नेपाली काङ्ग्रेसले कहिल्यै पनि पक्ष–विपक्ष हेरेको छैन। को सत्तामा छ ? भनेको छैन। त्यस्तो राष्ट्रिय सङ्कटका बेला नेपाली काङ्ग्रेसको अर्जुनदृष्टि जहिले पनि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई सुदृढ गर्ने बारेमा केन्द्रित रहेको छ।

हामीले अहिलेको चुच्चे नक्सा जारी गर्ने बेलामा नेकपा एमालेका नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। यो पहिलो गणतान्त्रिक संसद्‌को कुरा थियो। हामीले त्यतिबेला त्यसको लाभ एमालेलाई हुन्छ वा ओलीलाई फाइदा हुन्छ भनेर हेरेनौँ। काङ्ग्रेस राष्ट्रियताको विषयमा कहिल्यै पनि सानातिना वा झिनामसिना कुरामा अल्झिएको छैन।

सम्माननीय सभामुख महोदय,

आज यो संवेदनशील विषयमा कतिपय साथीहरूको ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ’, ‘सरकारका लागि अप्ठ्यारो पार्नुपर्छ’ भन्ने कुरा पनि आएका छन्। हामीले अहिले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ।

नेपाली काङ्ग्रेसले सरकारलाई अप्ठ्यारो पार्न सक्ने विषय यही हो, यही मौकाको फाइदा छोप्नुपर्छ भन्ने सुझावहरू नआएका होइनन्। सीमा विवादको बारेमा प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा यो विषय लम्बिँदै र तन्किँदै जाँदा हाम्रो राष्ट्रिय हित र राष्ट्रियता थप कमजोर हुने अवस्था बनेको छ।

हामीले यो अवस्थामा एउटा स्पष्ट अडान लिएका छौँ र प्रधानमन्त्रीले सदनमा आएर सफाइ दिननुपर्छ भनेका छौँ। त्यसले गर्दा उहाँले भुलवश यो कुरा बोलेको तथ्य सदनको रेकर्डमा र इतिहासमा दर्ज हुन्छ। त्यसले नै यो विषयको बैठान मात्र होइन, देशको हित हुन्छ भन्ने निष्कर्षमा हामी छौँ।

तर, हामीलाई अहिले आएर के महसुस भएको छ भने- हामीले यो विषयलाई लिएर सदनलाई अवरोध गरिराख्दा देश र जनताका अनेकौँ मुद्दाले संसद्‌मा प्रवेश पाउँदैनन् र अनेकौँ जरुरी छलफललाई असर पुग्छ। आफ्नो स्थापनाकालदेखि राष्ट्रिय शक्तिको जिम्मेवारीबोधबाट अनुप्राणित रहिआएको नेपाली काङ्ग्रेसले यही निहुँमा, यही बहानामा संसद् अवरोध गर्ने कार्यले सबैभन्दा ठूलो घाटा देशलाई हुन्छ, हाम्रो मातृभूमिलाई हुन्छ भन्ने बुझेको छ।

त्यसैले म नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्माननीय सभामुखलाई यो जानकारी गराउँछु कि- तपाईंले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा ल्याउन सक्नुभएन, प्रधानमन्त्री सदनमा आउनुभएन। अब प्रधानमन्त्रीको माफीको कुरा गौण भएको छ। किनभने, प्रधानमन्त्रीले अब माफी संसद्‌सँग होइन, यो माफी देश र जनतासँग माग्नुपर्छ।

सम्माननीय प्रधानमन्त्रीलाई लागेको होला- ‘मैले संसद्‌को उपेक्षा गर्न सक्छु’, जुन उहाँले गरिराख्नुभएको पनि छ। तर इतिहासप्रतिको जवाफदेहिताबाट उहाँ अनन्तकालसम्म भाग्न सक्नुहुन्न।

सम्माननीय सभामुख महोदय,

प्रतिपक्षका रूपमा हामीलाई यति विश्वास छ कि- जुन देश र जनताले उहाँलाई प्रधानमन्त्री बनाए, त्यो कुर्सीमा आसिन गराए, तिनले प्रधानमन्त्रीका एक–एक कुकृत्यको हिसाब राख्नेछन्। ‘जनताको कालो डायरी’ को प्रसङ्ग अघि नै मैले जोडिसकेको छु। तर आजको मितिमा प्रधानमन्त्री गैरजिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैरजिम्मेवार बन्न सक्दैन।

हामी सदनको रेकर्डमा यो कुरा दर्ज गर्न चाहन्छौँ- प्रधानमन्त्रीले जेठ १७ गते सदनमा बोलेको कुरा घोर निन्दनीय र आपत्तिजनक छ। त्यो अभिव्यक्तिको हामी भर्त्सना गर्दछौँ। यो विषय हामी सदनमा निरन्तर उठाइराख्नेछौँ र जनताका बीचमा पनि लिएर जानेछौँ। तर यही बहानामा रास्वपाले वा प्रधानमन्त्रीले वा उहाँहरूको टिमले राष्ट्रको थप बेइज्जत गर्ने कुरा हामी हुन दिँदैनौँ। हामी त्यसलाई तत्काल रोक्न चाहन्छौँ।

अतः यस प्रकरणमा संसद् अवरुद्ध गरिआएकोमा प्रधानमन्त्रीको गैरजिम्मेवारीको कुनै ओखती तत्कालका लागि नदेखिएकाले, त्यो नीति बदलेर संसद् सुचारु गर्न सहयोग गर्ने कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु।

संसदको चीरहरण भइरहँदा सभामुखको कुर्सी जसरी टुलुटुलु हेर्ने अवस्थामा पुग्यो, जसरी लाचार भएको जस्तो मैले अनुभूति गरेँ, यद्यपि व्यक्तिगत रूपमा मेरो जति पनि चिनजान छ सभामुखसँग, त्यस्तो लाचारी म उहाँमा देख्दिनँ ।

अन्तिममा, यसपटक संसदमा केही रमाइला झाँकीहरू पनि देखिए । सामान्यतयाः संसद सत्तापक्ष र प्रतिपक्षको बीचमा विषयवस्तुहरूमा छलफल र वादविवाद हुन्छन् । दन्तबजान, चर्काचर्की, उठाउठ हुन्छ । तर यसपटकको संसद बिल्कुलै फरक शैलीमा, सत्तापक्ष अत्यन्तै शान्त, उदाहरण दिँदा अलि नराम्रो होला, सभामुखज्युले तत्कालै हामीलाई रुलिङ गरिदिनुहुन्छ, तैपनि भन्छु- त्यो उदाहरण नै दिन सकिन्छ- मुर्दा शान्ति भनिन्छ । भिड त धेरै छ । सत्तापक्ष अत्यन्तै शान्त ।

प्रतिपक्ष आन्दोलित, अनि सवाल-जवाफ सभामुखसँग । यो देखिएको यो चोटिको बिर्सनै नसक्ने झाँकी हो । हामी सत्तापक्षसँग वादविवाद गरिराखेका छौं । छलफल गरिराखेका छौं कि ? त्यो पनि कन्फ्युजन भयो त्यतिबेला । सभामुखज्यूले संसदको मर्यादालाई कायम राखिदिनुपर्ने थियो । राख्ने कोसिस गर्नुभयो होला तर हामीलाई त्यस्तो महसुस भएन ।

अनि हामी निरन्तर सभामुखसँग लडिरह्यौं । मैले अहिले पनि बिर्सिएको छैन सभामुखज्युले भन्नुभएको- प्रतिपक्षको बेञ्चमा हेरेर- तपाईंलाई कति घन्टा चाहियो ? एक, दुई, तीन घन्टा ? यसो भन्नुभएको मैले पनि सुनेको थिएँ । यो कति मर्यादित हुन्छ ? मलाई सभामुखलाई जस्तो त्यो अधिकार पनि छैन- रुलिङ गरेर रेकर्डबाट हटाउने । किनभने, मेरो मर्यादाले मर्यादित चेयरमाथि औंला उठाउन पनि दिइराखेको छैन ।

संसदको चीरहरण भइरहँदा सभामुखको कुर्सी जसरी टुलुटुलु हेर्ने अवस्थामा पुग्यो, जसरी लाचार भएको जस्तो मैले अनुभूति गरेँ, यद्यपि व्यक्तिगत रूपमा मेरो जति पनि चिनजान छ सभामुखसँग, त्यस्तो लाचारी म उहाँमा देख्दिनँ । तर त्यो बेलाको अनुभूति, मेरो सोच र ठ्याक्कै बदलिइहालेको मेरो दृष्टिकोण त्यो ढंगबाट अगाडि बढेको पनि हो । त्यसैले त्यो लाचारी पनि देखियो ।

जाँदाजाँदै भूपि शेरचनले भन्नुभए जस्तै- खुम्ने मेचमाथि… । त्योभन्दा उताको शब्द मैले बिर्सिएँ अहिले । सम्झना आइरहेको छैन । त्यो कविता मलाई याद आइरहेको छ ।

अन्तिममा, म सभामुखमार्फत धादिङको कुनै निर्वाचन क्षेत्रबाट अत्यन्तै लोकप्रिय मतले निर्वाचित हुनुभएको मेरा मित्र श्रद्धेय डीपी अर्याललाई म सोध्न चाहन्छु-

‘मैले हिँड्ने बाटोमा यति धेरै काँडाहरू पनि नरोपिदिनुस, के थाहा भोलि त्यही बाटो भएर तपाईँ स्वयं मलाई भेट्न पनि आउनुपर्ने हुन सक्छ ।’

(नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले बुधबार प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको धारणा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?