+
+
Shares

युक्रेनमाथि रुसले हवाई आक्रमण गर्दा ९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनका विभिन्न शहरमा रुसले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा ९ जनाको मृत्यु भएको छ।
  • रुसी आक्रमणबाट राजधानी किभस्थित ११औँ शताब्दीको ऐतिहासिक धार्मिक स्थल 'डोर्मिसन क्याथेड्रल' मा आगलागी भई ठूलो क्षति पुगेको छ।
  • युक्रेनले गरेको जवाफी ड्रोन आक्रमणमा रुसको तुला शहरमा ३ जनाको मृत्यु भएको छ।

युक्रेनका विभिन्न शहरहरूमा रुसले गरेको भीषण मिसाइल तथा ड्रोन आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने कैयौँ मानिसहरू घाइते भएका छन्। यस आक्रमणका क्रममा राजधानी किभमा रहेको ११ औँ शताब्दीको ऐतिहासिक धार्मिक स्थल ‘डोर्मिसन क्याथेड्रल’ मा ठूलो आगलागी हुनुका साथै गम्भीर क्षति पुगेको छ।

युक्रेनी अधिकारीहरूका अनुसार राजधानी किभमा भएका आक्रमणहरूमा ४ जना नागरिकको ज्यान गएको छ। त्यस्तै, उत्तर-पूर्वी शहर खार्किभमा रुसी आक्रमणपछि सल्किएको आगो निभाउने क्रममा ५ जना उद्धारकर्मीको मृत्यु भएको छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ‘किभ पेचेर्स्क लाभ्रा’ गुम्बा परिसरभित्र रहेको ऐतिहासिक डोर्मिसन क्याथेड्रलमा भएको आक्रमणलाई युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिदेन्कोले ‘आफ्ना नागरिक र सांस्कृतिक सम्पदामाथिको क्रुर प्रहार’ भन्दै भर्त्सना गरेकी छन्। युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले यस राज्य-प्रायोजित बर्बरताका विरुद्ध युनेस्को र अन्य अन्तर्राष्ट्रिय संयन्त्रमार्फत तत्काल कदम चाल्न माग गरिने बताएका छन्।

किभका मेयर भिटाली क्लिट्च्कोका अनुसार रुसी हमलाका कारण कैयौँ आवासीय भवन र सवारी साधनहरूमा आगो लागेको छ । राजधानीका १ लाख ४० हजारभन्दा बढी बासिन्दाहरू विद्युत् सेवाबाट बन्चित भएका छन्।

किभमा कम्तीमा २३ जना र खार्किभमा ५ जना घाइते भएका छन्। सोमबार युक्रेनको अधिकांश भूभागमा हवाई आक्रमणको चेतावनी (एयर रेड वार्निङ) जारी गरिएको थियो। युक्रेनको छिमेकी देश पोल्याण्डले सुरक्षा सतर्कता अपनाउँदै आफ्ना लडाकु विमानहरू उडाएको छ । जमिनमा आधारित हवाई रक्षा प्रणालीलाई ‘अलर्ट’ अवस्थामा राखेको छ।

अर्कोतर्फ, युक्रेनले पनि रुसको भित्री क्षेत्रलाई निशाना बनाएर जवाफी ड्रोन आक्रमण गरेको छ। मस्कोबाट दक्षिणमा पर्ने रुसी सहर तुला मा युक्रेनी ड्रोन खस्दा ३ जनाको मृत्यु भएको छ भने एक वर्षका बालकसहित अन्य ३ जना घाइते भएका छन्। रुसी रक्षा मन्त्रालयले रातभरमा विभिन्न क्षेत्रबाट १२३ वटा युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?