+
+
Shares

श्रीलंका : नेपाली यात्रुका लागि झन् नजिकिएको सपनाको टापु

समुद्री खाना मन पराउनेहरूका लागि श्रीलंका उत्कृष्ट गन्तव्य हो । ताजा माछा र मसालेदार करी यहाँका विशेषता हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाले नेपालसहित विश्वका करिब ४० देशका नागरिकलाई निःशुल्क अनलाइन भिसा उपलब्ध गराउने निर्णय गरेको छ।

हिन्द महासागरको बीचमा मोतीझैँ टल्किने एउटा टापु छ, जहाँ बिहान चियाबगानमाथि कुहिरो खेल्छ । दिउँसो प्राचीन सभ्यताका अवशेषले इतिहास सुनाउँछन्, र साँझ समुद्रको लहरले यात्रुको थकान बगाइदिन्छ । त्यो देश हो, श्रीलंका ।

अहिले यो देश नेपाली यात्रुका लागि झन् सहज बनेको छ । हालै श्रीलंकाले नेपालसहित करिब ४० देशका नागरिकलाई निःशुल्क अनलाइन भिसा सुविधा दिने निर्णय गरेपछि त्यहाँ यात्रा गर्न झन् सहज भएको छ ।

पहिले भिसा शुल्कमा खर्चिनुपर्ने रकम अब जोगिने भएकाले धेरै नेपालीका लागि श्रीलंका ‘बजेट फ्रेन्ड्ली’ विदेशी गन्तव्य बनेको छ । काठमाडौँबाट कोलम्बोसम्म पुग्न करिब ३–४ घण्टा मात्र लाग्छ ।

छोटो दूरी, सांस्कृतिक समानता, स्वादिष्ट खाना र समुद्रदेखि पहाडसम्मको विविधताले श्रीलंका अहिले दक्षिण एसियाकै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक बनेको भन्दा कुनै फरक नपर्ला । नेपालीका लागि यो केवल पर्यटन सहुलियत मात्र होइन, समुद्र, संस्कृति, इतिहास र साहसिक अनुभवतर्फ खुला निम्तो पनि हो ।

सानो देश, तर अनुभवको विशाल संसार

क्षेत्रफलका हिसाबले श्रीलंका ठूलो देश होइन । तर यही सानो भूगोलभित्र प्रकृतिले आश्चर्यजनक विविधता भरेको छ । एउटै यात्रामा यात्रुले पहाड, जंगल, समुद्र, चिया बगान, प्राचीन शहर र धार्मिक सम्पदा सबै अनुभव गर्न सक्छन् ।

नेपालजस्तै यहाँ पनि बौद्ध संस्कृतिको गहिरो प्रभाव देखिन्छ । गुम्बाहरूमा सुनिने प्रार्थना, भिक्षुहरूको उपस्थिति र स्तूपहरूको शान्त वातावरणले नेपाली यात्रुलाई आत्मीय महसुस गराउँछ । स्थानीय मानिसहरू पनि अत्यन्त मिलनसार छन् । विदेशी यात्रुलाई मुस्कानसहित स्वागत गर्ने संस्कृतिले श्रीलंका धेरैलाई ‘घरजस्तै सहज’ लाग्छ ।

समुद्र किनारमा आराम गर्न चाहनेदेखि इतिहास र संस्कृतिमा रुचि राख्नेहरूसम्म सबैका लागि यहाँ केही न केही विशेष भेटिन्छ ।

सिगिरिया : चट्टानमाथि उभिएको अद्‍भूत सभ्यता

श्रीलंका पुगेर सिगिरिया नहेरी फर्किनु भनेको यात्रा अधुरै छोड्नुजस्तै मानिन्छ । करिब २०० मिटर अग्लो विशाल चट्टानमाथि पाँचौँ शताब्दीमा बनाइएका संरचनाहरू आज पनि संसारकै अद्‍भूत पुरातात्त्विक संरचनामध्ये एक मानिन्छ ।

चट्टान चढ्दै जाँदा प्राचीन चित्रकला, पानी बग्ने पुराना प्रणाली र बगैँचाका अवशेष देखिन्छन् । माथि, पुगेपछि चारैतिर फैलिएको जंगल र बादलले ढाकिएको दृश्यले यात्रुलाई केहीबेर मौन बनाइदिन्छ ।

बिहान सूर्योदयको समयमा यहाँ पुग्नेहरूका अनुसार त्यो क्षणको आनन्द शब्दमा बयान गर्न गाह्रो हुन्छ । युनेस्को विश्व सम्पदा सूचीमा रहेको सिगिरिया केवल ऐतिहासिक ठाउँ मात्र होइन, मानव सिर्जनशीलताको उदाहरण पनि हो । यहाँ उभिँदा सयौँ वर्षअघिको सभ्यता कति विकसित थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

कान्दी : बुद्धको दाँत रहेको पवित्र शहर

कान्दीलाई श्रीलंकाको सांस्कृतिक राजधानी पनि भनिन्छ । यहाँ रहेको ‘टेम्पल अफ द टूथ’ बौद्ध धर्मावलम्बीहरूका लागि संसारकै महत्वपूर्ण धार्मिक स्थलमध्ये एक हो । भगवान बुद्धको दाँतको अवशेष यहाँ सुरक्षित राखिएको विश्वास गरिन्छ ।

मन्दिरभित्र प्रवेश गर्दा धूपको सुगन्ध, प्रार्थनाको आवाज र शान्त वातावरणले मनलाई अलगै अनुभूति गराउँछ । धेरै नेपाली यात्रुहरू यहाँ पुग्दा लुम्बिनी वा स्वयम्भू सम्झिने बताउँछन् ।

हरेक वर्ष हुने ‘एसला पेराहेरा’ महोत्सव कान्दीको अर्को ठूलो आकर्षण हो । सजाइएका हात्ती, परम्परागत नृत्य, बाजागाजा र दीपले शहर नै झिलिमिली हुन्छ । त्यो समय कान्दी पुगेका यात्रुहरूले श्रीलंकाको जीवित संस्कृति नजिकबाट अनुभव गर्न सक्छन् ।

नुवारा एलिया : चियाबगानको हरियो संसार

समुद्री सतहबाट करिब १,८०० मिटर उचाइमा रहेको नुवारा एलियालाई ‘लिटल इंग्ल्याण्ड’ पनि भनिन्छ । चिसो मौसम, पुराना ब्रिटिश शैलीका भवन र हरिया चियाबगानले यो शहरलाई विशेष बनाएको छ ।

बिहान कुहिरोले ढाकिएका चियाका बोटबीच हिंड्दा समय नै रोकिएजस्तो लाग्छ । यहाँको ताजा सिलोन टी संसारभर प्रसिद्ध छ । चिया कारखानामा गएर चिया कसरी उत्पादन हुन्छ भन्ने हेर्न सकिन्छ ।

 

नुवारा एलियाको वातावरण नेपाली पहाडी शहरहरूसँग केही मिल्दोजुल्दो लाग्छ । तर विशाल चियाबगान, घुमाउरा सडक र ब्रिटिशकालीन शैलीका घरहरूले यसलाई फरक पहिचान दिएका छन् । यही कारणले धेरै यात्रु यहाँ केही दिन बस्न रुचाउँछन् ।

एला : रेल यात्रा जसले मन जित्छ

एला श्रीलंकाको सबैभन्दा चर्चित पहाडी गन्तव्य बनेको छ । यहाँको नौ आर्च ब्रिज हरिया जंगलको बीचमा बनेको ऐतिहासिक पुल हो । पुलमाथिबाट निलो रेल बिस्तारै गुड्दाको दृश्य सामाजिक सञ्जालमा निकै लोकप्रिय छ ।

तर, एलाको वास्तविक आकर्षण केवल फोटो खिच्नुमा सीमित छैन । यहाँको शान्त वातावरण, चिसो हावा, साना क्याफे र पहाडी दृश्यले यात्रुलाई आराम महसुस गराउँछ ।

 

एला–कान्दी रेल यात्रा संसारकै सुन्दर रेल यात्रामध्ये एक मानिन्छ । रेलको झ्यालबाट देखिने चियाबगान, झरना र पहाडले यात्रुलाई बारम्बार क्यामेरा निकाल्न बाध्य बनाउँछ । धेरैका लागि यही रेल यात्रा श्रीलंकाको सबैभन्दा यादगार अनुभव बन्ने गर्छ ।

याला राष्ट्रिय निकुञ्ज : जंगलको रोमाञ्चकता

वन्यजन्तु प्रेमीका लागि याला राष्ट्रिय निकुञ्ज स्वर्गजस्तै हो । यहाँ पाइने श्रीलंकाली चितुवा संसारमै दुर्लभ मानिन्छ । बिहान सबेरै जीप सफारीमा निस्कँदा हात्ती, मृग, चराचुरुङ्गी र भाग्यमानी भए चितुवा समेत देख्न सकिन्छ ।

जंगलको शान्त वातावरणबीच अचानक वन्यजन्तु देखिने क्षण यात्रुका लागि अविस्मरणीय अनुभव बन्छ । कतिपय पर्यटकहरू केवल यालाको सफारी अनुभवकै लागि श्रीलंका पुग्ने गर्छन् ।

वन्यजन्तुसँगै यहाँको प्राकृतिक सौन्दर्य पनि उत्तिकै आकर्षक छ । खुला घाँसे मैदान, ताल र घना जंगलले सफारी यात्रालाई झन् रोमाञ्चक बनाउँछ । प्रकृति नजिकबाट अनुभव गर्न चाहनेहरूका लागि याला अनिवार्य गन्तव्य हो ।

समुद्री किनार : निलो पानी र सुनौलो बालुवा

श्रीलंकाको समुद्री किनार केवल घुमफिरका लागि मात्र होइन, विश्रामका लागि पनि उत्तिकै प्रसिद्ध छ । मिरिस्सा, उनावटुना र त्रिंकोमालीजस्ता ठाउँहरू फरक–फरक अनुभवका लागि परिचित छन् ।

मिरिस्सामा सर्फिङ र व्हेल वाचिङ लोकप्रिय छ । समुद्रको बीचमा ‘ब्लु व्हेल’ पौडिरहेको देख्नु धेरै यात्रुका लागि जीवनकै विशेष क्षण बन्न सक्छ । उनावटुनाको शान्त समुद्री किनार आराम गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ ।

त्रिंकोमालीको सफा निलो पानी र डाइभिङ अनुभवले समुद्रप्रेमीहरूलाई आकर्षित गर्छ । साँझ समुद्र किनारमा बसेर सूर्यास्त हेर्दा यात्रुको थकान स्वतः हराउँछ । यही कारणले श्रीलंकाका समुद्री शहरहरूमा पुगेपछि धेरैलाई फर्किन मन लाग्दैन ।

स्वादमा आफ्नोपन

श्रीलंकाको यात्रा त्यहाँको खाना नचाखी पूरा हुँदैन । श्रीलंका, भारत र नेपाली खानाको स्वादमा धेरै भिन्नता पाइँदैन । त्यसैल, त्यहाँ पुगेपछि खानपिन कस्तो होला भनेर धेरै चिन्ता गर्नुपर्दैन । मसला, दाल, करी र भातले नेपाली स्वादकै याद दिलाउँछ ।

नरिवल श्रीलंकाको प्रमुख उत्पादनमध्ये एक भएकाले त्यहाँका धेरै परिकारमा नरिवलको प्रयोग गरिन्छ । यही कारणले श्रीलंकाली खानामा छुट्टै मिठास र सुगन्ध पाइन्छ । उपहारमा पर्यटकलाई चक्लेट पनि नरिवलकै दिने गरिन्छ ।

यहाँको ‘कोट्टु रोटी’ सबैभन्दा लोकप्रिय स्ट्रीट फूड हो । धातुको प्लेटमा ताल मिलाएर काटिने रोटी, तरकारी र मसालाको मिश्रणले स्वादसँगै छुट्टै अनुभव पनि दिन्छ ।

‘हपर्स’ अर्थात नरिवलको दूधबाट बनाइएको पातलो रोटी बिहानको लोकप्रिय खाजा हो । बीचमा अण्डा राखेर बनाइने यो परिकार स्वादिष्ट मात्र होइन, हल्का पनि हुन्छ

समुद्री खाना मन पराउनेहरूका लागि श्रीलंका उत्कृष्ट गन्तव्य हो । ताजा माछा र मसालेदार करी यहाँका विशेषता हुन् । शाकाहारी यात्रुहरूले पनि दाल, तरकारी करी र भात सजिलै पाउँछन् ।

क्यासिनो

नेपालभित्र नेपाली नागरिकलाई क्यासिनो खेल्न अनुमति छैन । त्यसैले मनोरञ्जन र गेमिङ अनुभवका लागि धेरै नेपाली भारत, खाडी मुलुक, हङकङ वा मकाउतर्फ जाने गर्छन् । पछिल्ला वर्षहरूमा भने कोलोम्बो पनि दक्षिण एसियाली क्यासिनो गन्तव्यका रूपमा चर्चामा आउन थालेको छ ।

विशेषगरी भारतीय पर्यटकहरू निजी तथा चार्टर्ड जहाजमार्फत कोलम्बो पुग्ने क्रम बढेको छ । श्रीलंकाली पर्यटन क्षेत्रले नेपाली बजारमा पनि क्यासिनो पर्यटनको राम्रो सम्भावना देखेको छ । कोलम्बोस्थित केही क्यासिनोमा नेपाली ग्राहक नियमित रूपमा पुग्ने गरेको दावी छ ।

कोलम्बोमा रहेका बेलीयुएस क्यासिनो, क्यासिनो मरिना, बेलाएजिओ क्यासिनो, कन्टिटेन्टल कल्ब जस्ता क्यासिनोहरू पर्यटकमाझ लोकप्रिय मानिन्छन् । यी ठाउँमा गेमिङसँगै लाइभ संगीत, भोजन र रात्रिकालीन मनोरञ्जनको अनुभव पनि लिन सकिन्छ ।

यद्यपि, क्यासिनो मनोरञ्जनका लागि मात्रै उपयुक्त मानिन्छ । यात्राका क्रममा खर्च र समयको सन्तुलन मिलाएर जिम्मेवार ढंगले मनोरञ्जन लिनु महत्त्वपूर्ण हुन्छ ।

कति खर्च लाग्छ ?

सामान्य रूपमा ७ दिनको श्रीलंका यात्रा एक जनाका लागि मध्यम बजेटमा ७० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्ममा सम्पन्न गर्न सकिन्छ । हवाई टिकट, होटलको स्तर र यात्राको शैलीअनुसार खर्च घटबढ हुन सक्छ ।

काठमाडौँ–कोलम्बो आउजाउ टिकट सामान्यतः ३० देखि ५५ हजार रुपैयाँसम्म पर्छ । मध्यम स्तरको होटल प्रतिरात ३०–७० अमेरिकी डलरमा पाइन्छ । स्थानीय खाना र सार्वजनिक यातायात प्रयोग गर्दा खर्च धेरै कम गर्न सकिन्छ ।

पहिल्यै होटल र टिकट बुक गर्ने हो भने राम्रो छुट पाइन्छ । स्थानीय ट्रेन र बस प्रयोग गर्ने हो भने यात्रा अझ किफायती बन्छ । यही कारणले श्रीलंका अहिले नेपालीहरूका लागि ‘भ्यालु फर मनी’ अन्तर्राष्ट्रिय गन्तव्य मानिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?