News Summary
Generated by OK AI. Editorially reviewed.- दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ का शारीरिक रूपमा अशक्त गोपी ढोली आर्थिक अभावका कारण महाकाली प्रादेशिक अस्पतालमा उपचाररत छन्।
काँपिरहेका हात । सुकेका ओठ । सुक्दै गएको कायामा झुन्डिएका थोत्रा मैला लुगा । जसको छेउमा छ– तुर्लुङ्ग झुन्डिएको एउटा पिसाबको थैली । यी सबै झेल्दै अस्पतालको शय्यामा ढलिरहेको छ गोपी ढोलीको रुग्ण शरीर ।
अशक्त शरीर । तर आँखाभित्र अझै निभ्न बाँकी छ एउटा पुरानो थाकेको आशाको त्यान्द्रो ।
ह्वीलचियरमा शरीर घिसार्दै उनी मेडिकल स्टोरतर्फ लाग्छन् । मेडिकल स्टोरको ढोकासम्म पुगेर बिस्तारै बोल्छन्, ‘निवेदन दिएको छु । मेरो सहयोग दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ बाट आउँछ हजुर । अहिले सचिव छैन रे । साइन भएपछि आउँछ रे ।’
त्यो ‘आउँछ रे’ वर्षौंदेखि उनको पछिपछि हिँडिरहेको छायाँ हो । जति पछ्याए पनि नभेटिने, जति पर्खिए पनि नआइपुग्ने ।
सुदूर नेपालको पनि अझ सुदूर सीमापारिको एउटा गाउँ, जहाँ २०३५ सालको असारमा गोपी जन्मिएका थिए । आकाशमा बादल फाटिरहेसँगै महाकाली उर्लिरहेको थियो । बाटो हिलाम्मे थियो । गाउँका बूढापाकाहरू भन्दै थिए– यो असारको भेलले पानी मात्रै नभएर धेरैको भाग्य पनि बगाउँछ जस्तो छ ।’
त्यो भनाइ गोपीको जीवनमा नियति नै बन्यो ।
जन्मिएको तीन महिनामै दुर्घटनाले उनको जीवनको दिशा फेरिदियो । एक दिन आमा घरधन्दामा व्यस्त थिइन् । बुबा ज्याला मजदुरीका लागि बाहिर निस्किएका थिए । त्यही बेला चुलो नजिकै सुताइएका उनी आगोमा परे । दुवै खुट्टा नराम्ररी जले ।
उनलाई देख्नेहरूले भन्थे, यो बच्चो बाँच्दैन होला । तर नबाँच्ने भनिएको बच्चो बाँच्यो तर बाँच्नु नै उनका लागि सजाय बन्दै गयो ।
विद्यालय पुगेपछि उनले किताबभन्दा धेरै अपमान पढे । कक्षाकोठाभन्दा बढी समाजले उनलाई शिक्षा दियो । त्यो शिक्षा यस्तो थियो– यो देशमा सबै मानिस बराबर हुँदैनन् ।
गरीबी, अशक्तता र जातीय विभेदको तेहेरो बोझ बोकेका गोपी अरूका लागि हाँसोको पात्र बने । मागेर खानेले पनि स्कुल आउनुपर्ने ? आफ्नो हालत हेरेर बस्नुपर्दैन ?’ यस्ता शब्दहरू उनका लागि पाठ्यपुस्तकमा कोरिएका अक्षरजस्तै बनिसकेका थिए ।
अन्ततः सामाजिक उत्पीडन र अभावको दोहोरो प्रहार थेग्न नसकी उनले किताब छाडे । समाते – ज्याला मजदुरीको बाटो ।

जीवन कष्टकर थियो । त्यही संघर्षका बीच १७ वर्षको उमेरमा उनको विवाह भयो । सन्तान जन्मिए । अशक्त खुट्टा बोकेर पनि उनी खेतबारीमा पसिना बगाउँथे, भारी बोक्थे, ज्याला मजदुरी गर्थे । अभावसँग दैनिक कुस्ती खेल्दै जीवन जसोतसो अघि बढिरहेको थियो । तर गरिबको जीवन नदी किनारको बालुवाको घरजस्तै हुन्छ – जसलाई भत्किन ठूलो आँधी चाहिँदैन, सानो छाल आए पुग्छ ।
यही सत्य गोपीले जीवनभर बारम्बार भोगिरहे।
अनि एक दिन नियतिले उनको जीवनको सबैभन्दा गहिरो घाउ दियो । २२ वर्षको जवान छोरा अप्रत्याशित रूपमा बित्यो । जसले आफूलाई बुढेसकालमा सहारा दिन्छ भन्ने सोचेका थिए, उसैको निष्प्राण शरीरलाई काँधमा बोकेर चिहानसम्म पुर्याउनुपर्ने दिन आयो ।
छोराको शवसँगै उनका धेरै सपना पनि चिहानतिरै सेलाए ।
दुःखको श्रृंखला त्यतिमै रोकिएन । बाल्यकालमा जलेको खुट्टा फेरि गम्भीर घाइते भयो ।
यतिबेला, सेतो कोठा । औषधिको गन्ध । बाहिर जेठको पोल्ने गर्मी छ । त्यही गर्मीभित्र उम्लिरहेको छ गोपीको जीवन । महाकाली प्रादेशिक अस्पतालको बेड नम्बर २४ पल्टिरहेका उनीसँग स्वास्थ्य बीमा छ, तर उपचारको सीमा पनि छ ।
अशक्त भत्ता छ तर त्यो जीवन धान्न पर्याप्त छैन । कोठाभित्र रोगभन्दा ठूलो समस्या पैसा बनेर उभिएको छ । श्रीमती र बुहारी छेउमै छन्, तर हात खाली छन् । औषधि पसलले गोपीको गरिबी बुझिरहन सक्दैनन्, उनीहरू नगद खोज्छन् । कुनै विन्ती चल्दैन ।
अस्ति औषधि लिन जाँदा श्रीमतीले बिन्ती गरिन् पछि तिर्छौं ।’ तर पैसा चल्ने बजारमा याचना कहाँ चल्थ्यो ।
गोपि आफैँ ह्विलचेयरमा बाहिर निस्किन्छन् आफ्नो अशक्त शरीर धकेल्दै । मेडिकल स्टोर पुगेर उनी भन्छन्, ‘दोधरा चाँदनी नगरपालिका वडा नम्बर ३ बाट सहयोग आउँछ हजुर । अहिले सचिव छैन रे ! निवेदन दिएको छु । साइन भएपछि राहत आउँछ रे ! अहिलेलाई औषधि दिनुस् ।
यो आउँछ रे ! नै उनको जीवनको सबैभन्दा लामो प्रतीक्षा बनेको छ । नेपालमा समृद्धि आउँछ रे । विकास आउँछ रे । रोजगार आउँछ रे । दलित अपहेलित नहुने दिन आउँछ रे ! समानता आउँछ रे ! स्वास्थ्य सेवा गाउँसम्म पुग्छ रे !
तर गोपी जस्ता मानिसहरूको जीवन भने त्यही ‘रे’ को अँध्यारो सुरुङभित्रै सीमित हुन्छ ।
प्रतिक्रिया 4