+

विश्वकप हेरिरहँदा बोस्टनको प्यारापिटबाट ब्युँझिएको त्यो नेपाली सपना

२०८३ असार  ७ गते १२:३६ २०८३ असार ७ गते १२:३६
Shares
विश्वकप हेरिरहँदा बोस्टनको प्यारापिटबाट ब्युँझिएको त्यो नेपाली सपना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको बोस्टन रंगशालामा नर्वे र इराकबीचको खेल हेरेपछि एक नेपाली चिकित्सकले नेपाल पनि विश्वकपमा पुग्ने सपना व्यक्त गरेका छन्।

क्यान्सर रोग विशेषज्ञका रूपमा दिनरात स्टेथोस्कोप र गम्भीर मेडिकल रिपोर्टहरूसँग खेलिरहने यी हातले सानैदेखि एउटा कुरा निकै कसिलो गरी समाते— त्यो हो फुटबल । म फुटबलको सामान्य दर्शक मात्र होइन, साँच्चै भन्नुपर्दा म ‘नेपाली फुटबलको कट्टर पारखी’ हुँ।

अमेरिकामा चलिरहेको एएससीओ लिडरसिप डेभलपमेन्ट प्रोग्रामको प्रशिक्षणका बीच जब म अमेरिका आइपुगेको थिए । यही भित्र लुकेको त्यो पुराना फुटबल फ्यान जुरुक्क ब्युँझिहाल्यो । अनि मौका जुर्‍यो– विश्वकप २०२६ को प्रत्यक्ष खेल संसारकै भव्य रंगशालामै बसेर हेर्ने !

बोस्टन स्टेडियमको त्यो विशाल, अत्याधुनिक र तरंगित माहौलमा म नर्वे र इराकबीचको खेल हेर्न पुगेको थिएँ । मैदानमा विश्वकै घातक स्ट्राइकर एर्लिङ हालान्डको जादु चल्दै थियो, जसले दुई गोल गर्दै नर्वेलाई ४–१ को सानदार जित दिलाए । अर्कोतिर इराकका आयमेन हुसेनले गोल फर्काउँदा रंगशाला जसरी जुरुक्क उठ्यो, त्यो ऊर्जा, त्यो आवाज र हुटिङ वर्णन गर्नै नसकिने खालको थियो ।

तर, खेल चलिरहँदा मेरो आँखा मैदानको हालान्ड र आकर्षक फुटबल बलभन्दा बढी प्यारापिट तिर डुलिरहेको थियो । म नर्वे र इराकको खेल होइन, उनीहरूका फ्यानभित्र आफ्नो देश खोजिरहेको थिएँ ।

विदेशी रंगशालामा नेपाली मुटुको धड्कन

एकातिर नर्वेका नीलो-रातो जर्सीका समर्थकहरू थिए, अर्कोतिर झन्डै ४० वर्षपछि विश्वकपमा फर्किएको इराकका पागल फ्यानहरू ! तिनीहरूको त्यो हुटिङ, अनुहारमा कोरिएका देशका झण्डाहरू, र प्रत्येक गोलमा उनीहरूले मनाएको त्यो बहुलाहा उत्सव देख्दा मेरो नेपाली मुटु चस्स भयो । एउटा राष्ट्रभक्त नेपालीको मनभित्र भावनाको ठूलो ज्वारभाटा चल्यो ।

अहो ! यसरी नै विश्वकपको यो विशाल स्टेजमा हाम्रो चन्द्र सूर्य अंकित रातो झण्डा फहराउन पाएको भए ! काश, हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरूले मादल घन्काउँदै संसारको सबैभन्दा ठूलो मञ्चमा ‘नेपाल… नेपाल…’ भनेर चिच्याउन पाएको भए ! त्यो सोच्दा मात्रै पनि मेरो आङ सिरिङ्ग भएर आयो ।

स्टेडियममा हजारौँको भीड थियो, चारैतिर उत्सव थियो, तर म आफैँभित्र कतै एक्लो महसुस गरिरहेको थिएँ– म मेरो देश नेपाललाई, हाम्रा फ्यानहरूलाई असाध्यै मिस गरिरहेको थिएँ । संसारको जुनसुकै कुनामा पुगेर चिकित्सा क्षेत्रको जतिसुकै ठूलो सफलता वा उपाधि हासिल गरे पनि, आफ्नो माटोको सुगन्ध र देशको जर्सी लगाएर रंगशालामा चिच्याउनु जस्तो ठूलो गौरव र आत्मसन्तुष्टि अरू केही हुँदो रहेनछ ।

टीकापुरको त्यो हिलो, उनीहरूका सपना र गुरुप्रतिको सम्मान

हालान्डले बल कुदाउँदै गर्दा मेरो स्मृतिपटलमा झट्ट सुदूरपश्चिमको मेरो प्यारो टीकापुर झुल्कियो । स्कुल पढ्दाका ती दिनहरू, जहाँ न त यस्ता आधुनिक बुट थिए, न त यस्तो चिल्लो मैदान र फ्लडलाइट नै । टीकापुरको त्यो मैदान, जहाँ हिलो र धुलोको पर्वाह नगरी हामी मोजाको बलभित्र कपडा कोचेर दिनभर कुद्थ्यौँ ।

त्यो बेला मसँगै कुद्ने र ‘हामी त भविष्यमा फुटबल प्लेयर बनौँला’ भनेर बालसखाहरूले खाएका कसमहरू आज पनि मेरो कानमा गुञ्जिरहन्छन् । भोको पेट, फाटेको जुत्ता, र चोट लागेर निलडाम बसेका खुट्टाहरूका बीच पनि हामी कति ठूला र निष्कपट सपना देख्थ्यौँ ! आज को कता पुगे होलान्, कसको परिस्थिति कस्तो भयो होला, तर तिनीहरूको आँखामा चम्किने फुटबलको त्यो निस्वार्थ सपना आज पनि मेरो मानसपटलमा उत्तिकै ताजा र पवित्र छ । म ती सबै साथीहरूलाई यो विदेशी भूमिबाट सम्झिरहेको छु ।

यो क्षणमा म देशका ती तमाम प्रशिक्षक हरूलाई नमन गर्न चाहन्छु, जसले भुइँतहबाट नेपाली फुटबलका प्रतिभाहरू जन्माए । आफ्नो सिङ्गो जीवन, सुख-सुविधा र व्यक्तिगत स्वार्थ त्यागेर, उचित स्रोत-साधन र आर्थिक अभावका बीच पनि नेपालमा फुटबल खेलाडी उत्पादन गर्नका लागि जसले आफ्नो जीवन नै समर्पित गरे । आज पनि देशका कुना-काप्चामा नयाँ पुस्ताको गोडामा बल थमाइदिँदै छन्— ती सम्पूर्ण गुरुहरू र प्रशिक्षकहरू प्रति म हृदयदेखि उच्च सम्मान र कृतज्ञता प्रकट गर्दछु । उहाँहरूकै निस्वार्थ त्यागले गर्दा नै आज पूर्वाधार शून्य हुँदा पनि हाम्रो देशमा फुटबलको दियो बलिरहेको छ ।

एउटा भव्य सपना : विश्वकपको यात्रा

हामी नेपालीहरूमा फुटबलको क्रेज र खेलाडीमा भएको प्रतिभा संसारको कुनै पनि फुटबल पावरहाउस देशको भन्दा कम छैन । इराक जस्तो अनेकौँ राजनीतिक, आर्थिक र सामाजिक उतारचढाव भोगेको देश त यति ठूलो उपस्थितिका साथ विश्वकपको स्टेजमा साम्राज्य खडा गर्न सक्छ भने, हामी शान्तिका दूत नेपालीहरू किन सक्दैनौँ ? हामी पक्कै सक्छौँ ! हामीले अब साँच्चै नै एउटा ‘भव्य सपना’ देख्ने बेला आएको छ।

सपना केवल कल्पना मात्र होइन, यो त योजनाबद्ध यात्राको पहिलो पाइलो हो । दशरथ रंगशालाको माटोमा देखिने त्यो उत्साह र गाऊँ, शहर, दूर दुराजका गल्लीहरूमा कुद्ने त्यो प्रतिभालाई यदि हामीले सही मार्गनिर्देशन दिन सक्यौँ भने, विश्वकपको यात्रा टाढा छैन।

तर केवल भावनामा बगेर र ताली बजाएर मात्र विश्वकपको यात्रा तय हुन सक्दैन । यो टर्रो सत्यलाई हामीले स्विकार्नैपर्छ । यदि हामीले साँच्चै नै विश्वकप खेल्ने त्यो भव्य सपनालाई साकार रूप दिने हो भने सरकार र सम्बन्धित निकाय (एन्फा, खेलकुद मन्त्रालय) ले कुरा मात्र गर्ने परिपाटी छोडेर एउटा ठोस, व्यावसायिक र दीर्घकालीन गुरुयोजना बनाउनु अपरिहार्य भइसकेको छ:

बजेटको सही व्यवस्थापन

राष्ट्रिय खेलकुद र विशेष गरी फुटबलका लागि छुट्ट्याइने बजेट औपचारिकता वा गोष्ठीमा मात्र सीमित हुनु हुँदैन । जबसम्म खेलाडीको आर्थिक भविष्य सुरक्षित हुँदैन, तबसम्म उनीहरूले मैदानमा आफ्नो शतप्रतिशत दिन सक्दैनन् । राज्यले खेलाडीको जीवनस्तरको ग्यारेन्टी गर्नैपर्छ ।

अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ

हाम्रा खेलाडीहरूमा माटोको सुगन्ध र प्राकृतिक प्रतिभा छ, कमी छ त केवल आधुनिक प्रविधि, वैज्ञानिक डाइट र अन्तर्राष्ट्रिय स्तरको तालिमको , विश्वस्तरीय प्रशिक्षण र भौतिक पूर्वाधारमा राज्यले कन्जुस्याइँ नगरी लगानी बढाउनैपर्छ ।

एक्स्पोजर र म्याच एक्सपिरियन्स

जबसम्म हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरका बलिया टोलीहरूसँग पर्याप्त मात्रामा ‘एक्स्पोजर’ र मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर पाउँदैनन्, तबसम्म उनीहरूको आत्मविश्वास बढ्दैन । यो दूरीलाई मेट्न सम्बन्धित निकायले अन्तर्राष्ट्रिय स्तरको म्याच एक्स्पोजर र वैदेशिक तालिमको बराबर तालमेल मिलाउनुपर्छ ।

सपना देख्न कहिल्यै नछोडौँ !

फुटबल केवल ९० मिनेटको खेल मात्र होइन, यो त एउटा देशलाई एकताको सूत्रमा बाँध्ने र संसारभर आफ्नो अस्तित्व चिनाउने सबैभन्दा ठूलो माध्यम हो । बोस्टनको खेल त नर्वेले जित्यो होला, तर मेरो देशभक्ति र फुटबलले भरिएको मनले भन्छ— जित एकदिन पक्कै नेपालकै हुनेछ ।

हाम्रा खेलाडीहरूको खुट्टामा र हामी फ्यानहरूको मुटुमा जबसम्म यो निस्वार्थ माया धड्किरहन्छ, तबसम्म त्यो सपना जीवितै रहनेछ । एक दिन नेपालले पनी बिश्वकप फुटबल खेलने छ !

अन्तर विद्यालय लिग फुटबल नेपाल
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय