+
+
Shares

अमेरिका–इरान वार्ता जारी : ‘नयाँ अध्याय’ सुरु गर्न निर्देशन

अमेरिकी कूटनीतिज्ञका अनुसार वार्तामा सहभागी दुवै प्रतिनिधिमण्डलले ‘पहिलो दिनको छलफललाई आगामी प्राविधिक वार्ताको आधार’ बनाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युद्ध अन्त्य गर्न कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा वार्ता सुरु भएको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिएपछि इरानी वार्ताकार गालिबाफले त्यसको कडा प्रतिवाद गरेका छन् ।
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उत्तरी क्षेत्रको सुरक्षाका लागि आफ्ना सेना दक्षिणी लेबनानमै रहने बताएका छन् ।

८ असार, काठमाडौं । युद्ध अन्त्य गर्न अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा वार्ता जारी छ ।

लुसर्न सहरको बर्गेनस्टक रिसोर्टमा जारी वार्तामा संलग्न एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार वार्ता रातभरि जारी रहने अपेक्षा गरिएको छ ।

कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरान वार्ता आइतबार सुरु भएको हो । गत साता दुवै पक्षबीच ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको थियो ।

आइतबार राति अमेरिकी कूटनीतिज्ञले वार्ता मुख्यत: ‘इरानबाट आएका केही अन्योलपूर्ण सन्देशहरू स्पष्ट पार्ने’ विषयमा केन्द्रित रहेको बताएका थिए । ती विषयमा स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुन: सञ्चालन, दक्षिणी लेबनानमा युद्धविराम कार्यान्वयन तथा आणविक सम्झौताका केही पक्षहरू समावेश छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलसँग जारी झडपका बीच हिजबुल्लाहलाई नरोके इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । इरानले उक्त चेतावनी अस्वीकार गर्दै आफू लड्न तयार रहेको जनाएको थियो ।

अमेरिकी कूटनीतिज्ञका अनुसार वार्तामा सहभागी दुवै प्रतिनिधिमण्डलले ‘पहिलो दिनको छलफललाई आगामी प्राविधिक वार्ताको आधार’ बनाउनेछन् ।

कोको छन् वार्तामा ?

अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्ससँगै राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर र विशेष दूत स्टिभ विटकोफ पनि वार्तामा सहभागी छन् । इरानको तर्फबाट सभामुख गालिबाफसँग इरानका विदेशमन्त्री अब्बास अराघची सहभागी छन् ।

स्विट्जरल्यान्डमा पाकिस्तानका प्रधानमन्त्री र सेनाप्रमुख तथा कतारका प्रधानमन्त्री पनि उपस्थित थिए । पाकिस्तानले युद्धभरि मध्यस्थकर्ताको भूमिका खेलेको थियो र यसअघि अमेरिका–इरान वार्ताको एक चरण आयोजना गरेको थियो ।

कतारले पनि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ । आइतबार राति कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अमेरिका–इरान वार्ता निरन्तर जारी रहनुलाई स्वागत गरेका थिए ।

नयाँ अध्याय सुरु गर्न निर्देशन

अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा वार्ता सुरु हुनुअघि अमेरिकी प्रमुख वार्ताकार तथा उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति ट्रम्पले वार्ताकारहरूलाई ‘नयाँ अध्याय सुरु गर्न’ निर्देशन दिएको बताएका थिए ।

उनले थपे, ‘यदि इरानको नेतृत्व क्षेत्रीय अस्थिरताको स्रोत बन्ने भूमिका र दीर्घकालीन रूपमा आणविक हतियार बनाउने महत्वाकांक्षा त्याग्न तयार छ भने अमेरिका पनि इरानसँगको सम्बन्धलाई मौलिक रूपमा परिवर्तन गर्न तयार छ ।’

इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्णत: शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।’

वार्ता जारी रहेका बेला ट्रम्पको धम्की र इरानको जवाफ

लुसर्नमा अमेरिका र इरानबीच वार्ता सुरु भइरहेका बेला ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले ‘लेबनानमा समस्या सिर्जना गरिरहेका आफ्ना राम्रो तलब पाउने प्रतिनिधि समूहहरू (प्रोक्सीहरू) तुरुन्त रोक्नुपर्छ’ भन्दै चेतावनी दिएका थिए ।

उनले त्यसो नगरे इरानमाथि फेरि ‘कडा प्रहार’ गर्ने धम्की पनि दिएका थिए ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले त्यसको जवाफ दिँदै भनेका छन्, ‘यदि उनीहरूको धम्की प्रभावकारी हुन्थ्यो भने आज उनीहरू यस्तो निराशाजनक अवस्थामा हुने थिएनन् । उनीहरू जति बोले पनि काम गर्ने हामी नै हौं ।’

नेतन्याहुले भने– इजरायली सेना दक्षिणी लेबनानमै रहन्छन्

अमेरिका र इरानबीच गत साता भएको प्रारम्भिक सहमतिमा ६० दिनभित्र अन्तिम सम्झौता गर्ने, लेबनानसहित सबै मोर्चामा लडाइँ अन्त्य गर्ने तथा स्ट्रेट अफ होर्मुज पुन: खोल्ने प्रतिबद्धता समावेश थियो ।

तर त्यसयता दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीचको भिडन्त फेरि चर्किएको छ । साथै इजरायलले गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौं लेबनानी नागरिक मारिएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही तनावका कारण अमेरिकाले शुक्रबार इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविराम घोषणा गरेको थियो । तर झडप र हवाई आक्रमण जारी रहेपछि इरानले शनिबार स्ट्रेट अफ होर्मुज बन्द गरेको घोषणा गरेको थियो । यद्यपि जहाजहरूको आवागमन भने जारी रहेको तथ्याङ्कले देखाएको छ ।

आइतबार झडप केही कम भएको बताइए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उत्तरी इजरायलको सुरक्षाका लागि आवश्यक परेसम्म इजरायली सेना दक्षिणी लेबनानमै रहने बताएका छन् ।

हिजबुल्लाहका नेता नइम कासेमले भने दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थितिलाई अस्वीकार गर्दै हिजबुल्लाहले आफ्नो रक्षा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?