+
+
Shares

पाल्पाको रिब्दीकोटमा ‘एक बोट, सयको नोट’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको रिब्दीकोट गाउँपालिकाले बाँझो जमीनको सदुपयोग गरी स्थानीयको आयआर्जन बढाउन 'एक बोट सयको नोट' अभियान शुरू गरेको छ ।
  • गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब ४० लाख रुपैयाँ लागतमा ४० हजार फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने लक्ष्य राखेको छ ।
  • न्यूनतम ५० वटा बिरुवा रोप्ने किसानलाई गाउँपालिकाले चार वर्षसम्म नगद प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

८ असार, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गर्दै स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित ‘एक बोट सयको नोट’ अभियान सुरु गरेको छ ।

वन्यजन्तुको आक्रमण अनि बसाइँसराइ तथा रोजगारीका लागि गाउँ छाड्ने क्रम तीव्र भइरहेका बेला स्थानीयलाई गाउँमै उत्पादन र आम्दानीसँग जोड्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका आठवटै वडाका ७२ टोलमा नमूना फलफूल तथा जडीबुटी बगैँचा स्थापना गर्ने योजना अनुसार अभियान सन्चालन गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

गाउँपालिकाले कृषकको आर्थिक भार कम गर्न चार वर्षसम्म नगद प्रोत्साहन दिने व्यवस्था गरेको छ ।

न्यूनतम ५० वटा बिरुवा रोप्ने किसानलाई पहिलो वर्ष प्रति बिरुवा १०० रुपैयाँ, दोस्रो वर्ष ७५ रुपैयाँ, तेस्रो वर्ष ५० रुपैयाँ र चौथो वर्ष २५ रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने अध्यक्ष कार्कीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा करिब ४० लाख रुपैयाँ लागतमा ४० हजार फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको हो ।

वडा नम्बर २ का अगुवा कृषक खिमानन्द पोखरेलको बारीमा सुन्तलाका बिरुवा रोपेर अभियानको शुभारम्भ गरिएको हो । व्यावसायिक फलफूल खेती गर्दै आएका पोखरेलले यस वर्ष मात्रै ३२६ वटा सुन्तलाका बिरुवा रोप्ने तयारी गरेका छन् ।

पोखरेलले पालिकाको अभियानले कृषिमा आकर्षण बढाउने विश्वास व्यक्त गरे । ‘विदेश जाने लहर बढिरहेको छ । तर मैले यही बारीमा उत्पादन गरेका फलफूलबाट वार्षिक १८ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छु,’ उनले भने, ‘कृषिमै सम्भावना छ भन्ने सन्देश यो अभियानले दिनेछ ।’

गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र उत्पादनमुखी बनाउँदै स्थानीयको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनका अनुसार अभियानले कृषकको आयस्रोत वृद्धि गर्नुका साथै गाउँमै रोजगारीका अवसर सिर्जना गर्नेछ ।

हालसम्म आठवटै वडाका ३८८ कृषकबाट ३७ हजार ९३७ बिरुवाको माग प्राप्त भइसकेको गाउँपालिकाले जनाएको छ । कृषकहरूले सुन्तला, कागती, कफी, टिमुर, बुद्धचित्त, दालचिनी, अलैँची, किवी, एभोकाडो, लिची, शीतलचिनी, ओखर, ड्रागनफ्रुट, आँप, बेलौती, आरुबखडा, जुनार र मौसमलगायतका बहुमूल्य बिरुवा माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिकलाई आम्दानीसँग जोड्नुका साथै खेतीयोग्य जमिन बाँझो रहन नदिनु हो । उनले आगामी वर्षहरूमा अभियानलाई थप विस्तार गरिने बताए ।

गाउँपालिकाले बाँझो जमिनको पूर्ण उपयोग, फलफूल उत्पादन वृद्धि, वातावरण संरक्षण तथा ग्रामीण कृषकको दिगो आम्दानी बढाउन अभियान प्रभावकारी हुने अपेक्षा गरेको छ ।

कार्यक्रम कार्यान्वयनका लागि ग्रामीण आर्थिक विकास संघ (रेडा) ले हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान गरिरहेको छ ।

गाउँपालिकाले महत्त्वाकांक्षी योजनाका रूपमा अघि सारेको यस अभियानले बसाइँसराइ न्यूनीकरण, स्थानीय आयआर्जन वृद्धि र वातावरणीय संरक्षणमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?