काठमाडौं । अल्फोन्सो डेविस..
रंगशालामा हजारौं समर्थक उनको नाम लिएर चिच्याइरहेका हुन्छन् । राष्ट्रिय गान बजिरहेका बेला उनी टोलीको सबैभन्दा अगाडि उभिएका हुन्छन् ।
विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन् । आज उनको जित क्यानडाको जित हो । उनको सफलता क्यानडाको गर्व हो ।
तर, उनको कथा क्यानडाबाट सुरु हुँदैन । किनकी, उनी क्यानडाका कप्तान हुन, तरउनको कथा क्यानडाबाट सुरु हुँदैन ।
आजभन्दा २५ वर्षअघि उनको न कुनै राष्ट्र थियो, न घर ।
थियो त, केवल युद्धबाट जोगिएको जीवन । लाइबेरियाको गृहयुद्धले उनीहरूको सबैथोक खोसेको थियो ।
उनी शरणार्थी भए, जो आज शक्तिशाली देश क्यानडाको कप्तान बनेर उभिएको छ ।
अल्फोन्सो डेविसको जीवनकथा कुनै चलचित्रभन्दा कम छैन । र, उनको जीवन यात्रा कुनै हिरोकोभन्दा कम छैन ।
युद्धले बदलिदिएको जीवन
सन् १९८९ मा सुरु भएको गृहयुद्धले त्यहाँका लाखौं परिवारको अस्तित्व र जीवनको दिशा परिवर्तन गरिदियो । युद्धले केवल देशलाई मात्र टुक्रयाएन, हजारौं परिवारको जीवनलाई पनि तहसनहस बनायो ।
गाउँहरू उजाड भए, मानिसहरू मारिए । लाखौं नागरिक विस्थापित भए ।
डेविसका बुबाआमाले पनि अन्ततः एउटा कठिन निर्णय लिनुपर्यो । उनीहरूले आफ्नो घर छोडे, आफ्नो देशसँगै सपना छाडे र आफ्ना सम्झनाहरू पनि । ज्यान जोगाउनकै खातिर । उनीहरु घाना पुगे ।
त्यहाँ उनीहरूले बुडुबुराम शरणार्थी शिविरमा आश्रय पाए । त्यही शिविरमा सन् २००० नोभेम्बर २ मा अल्फोन्सो डेविस जन्मिए । उनी जन्मिएको भूमि आफ्नै देशको थिएन । उनी सुविधासम्पन्न अस्पतालमा थिएनन् ।
त्यो यस्तो ठाउँ थियो, जहाँ मानिसहरू भविष्य बनाउन होइन, भविष्य बचाउन संघर्ष गरिरहेका थिए । जहाँ हरेक बिहानसँगै नयाँ अनिश्चितता जन्मिन्थ्यो र भोलि के हुन्छ भन्ने कसैलाई थाहा हुँदैनथ्यो ।
खाना, स्वास्थ्य र सुरक्षाको चिन्ता दैनिक जीवनको हिस्सा थियो । यस्तो वातावरणमा जन्मिएका डेविसले आफ्नो जीवनको पहिलो अध्याय लेख्न थाले । उनले बाल्यकालका ती दिनहरू धेरै सम्झँदैनन् । तर उनका बुबाआमाले भोगेको संघर्षले उनको सम्पूर्ण जीवनलाई आकार दिएको थियो ।
उनीहरू आफ्ना छोराछोरीले आफूहरूले जस्तो जीवन भोग्न नपरोस् भन्ने चाहन्थे । त्यसका लागि उनीहरू जुनसुकै कठिनाइ सामना गर्न तयार थिए, त्यसका लागि उनीहरु पुगे, क्यानडा ।
नयाँ देश, नयाँ सुरुवात
डेविस पाँच वर्षका हुँदा परिवारको जीवनमा एउटा ठूलो मोड आयो । क्यानडाले उनीहरूलाई शरणार्थीका रूपमा पुनर्वास गरेको थियो ।
सन् २००६ तिर उनीहरू क्यानडामा पुगेपछि एडमन्टन, अल्बर्टामा नयाँ जीवन सुरु भयो । त्यहाँ पुग्दा डेविस परिवारको जीवन रातारात बदलिएको थिएन । उनीहरू युद्धबाट त टाढा पुगेका थिए, तर आर्थिक संघर्ष अझै समाप्त भएको थिएन ।
बरु, नयाँ संघर्ष सुरु हुनु थियो । भाषा, संस्कृति अनि मौसम फरक थियो । महंगो देशमा आर्थिक अवस्था कमजोर हुनु अझै चुनौतीपूर्ण थिए । परिवारको आम्दानी सीमित भएकाले हरेक डलरको महत्व हुन्थ्यो ।
सुरुवाती वर्षहरूमा परिवारको कानूनी स्थिति शरणार्थीको रूपमा नै थियो, तर विस्तारै क्यानडामा स्थायी बसोबास प्राप्त गर्दै उनीहरू स्थिर जीवनतर्फ अघि बढे ।
तर कानूनी स्थिति स्थिर हुँदै गए पनि आर्थिक र सामाजिक संघर्ष भने लामो समयसम्म जारी रह्यो । नयाँ देश, भाषा, संस्कृति र सीमित आम्दानीबीच परिवारले जीवन धान्न निरन्तर मेहनत गर्नुपर्थ्यो ।
शरणार्थी शिविरमा उनका बुबाआमाको मुख्य चिन्ता छोराको फुटबल करियर होइन, परिवारको भोलि कसरी गुज्रिन्छ भन्ने थियो ।
शरणार्थी शिविरमा आधारभूत विद्यालयहरू थिए । ती विद्यालयहरू प्रायः संयुक्त राष्ट्रसंघ, विभिन्न गैरसरकारी संस्था र शरणार्थी समुदायको सहयोगमा सञ्चालन हुन्थे । तर सुविधा सीमित थियो ।
कक्षाकोठा साधारण हुन्थे । शैक्षिक सामग्रीको अभाव हुन्थ्यो । शिक्षकहरू पनि सीमित स्रोतमा काम गर्थे ।
यद्यपि, युद्धबाट भागेका परिवारका बच्चाहरूलाई कम्तीमा आधारभूत शिक्षा दिन प्रयास गरिन्थ्यो । विद्यालय जाँदा डेविसलाई अंग्रेजी भाषाले पनि चुनौती दिएको थियो ।
उनका एक स्कुल साथीका अनुसार फुटबलप्रतिको उनको रुचि सुरुदेखि नै स्पष्ट थियो, तर भाषाले सुरुमा केही कठिनाइ सिर्जना गरेको थियो । यही समयमा फुटबल उनको जीवनमा केवल खेलका रूपमा आएन ।
त्यो साथी बनाउने माध्यम बन्यो । त्यो नयाँ समाजसँग घुलमिल हुने माध्यम बन्यो ।
मैदानमा कसैले उनको उच्चारण हेर्दैनथ्यो । कसैले उनी शरणार्थी परिवारबाट आएका हुन् कि होइनन् भनेर सोध्दैनथ्यो । त्यहाँ केवल खेल बोल्थ्यो ।
फुटबल, जसले जीवन बदलिदियो
कठिन परिस्थितिमा हुर्किएका अल्फोन्सोले सानै उमेरदेखि जिम्मेवारीको अर्थ बुझ्न थालेका थिए । विद्यालयबाट घर फर्किएपछि कहिलेकाहीँ उनले आफ्ना साना भाइबहिनीको हेरचाह गर्थे ।
बुबाआमा काममा व्यस्त हुँदा घरका साना-ठूला जिम्मेवारी सम्हाल्न सिकेका उनी आफ्नो उमेरका धेरै बालबालिकाभन्दा चाँडै परिपक्व बने ।
तर जीवनमा जति कठिनाइ आए पनि एउटा कुरा कहिल्यै हराएन, फुटबलप्रतिको उनको रुचि । स्कुलपछि उनी मैदान पुग्थे । अभ्यास गर्थे र फेरि अभ्यास गर्थे । उनलाई थाहा थियो, उनको परिवारले यहाँसम्म आइपुग्न धेरै त्याग गरेको छ ।
एडमन्टनका पार्क, विद्यालयका मैदान र स्थानीय प्रतियोगिताहरूमा उनले नियमित रूपमा फुटबल खेल्न थाले । फुटबल उनको दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गयो ।
फ्री फोटी कार्यक्रममार्फत उनले संगठित रूपमा फुटबल खेल्ने अवसर पाए । त्यसपछि उनी इन्टरनेशनल र एडमोनटोन स्ट्राइकर का युवा टोलीसँग आबद्ध भए । विभिन्न उमेर समूहका प्रतियोगितामा खेल्दै जाँदा उनको क्षमता विस्तारै प्रशिक्षक र स्थानीय फुटबल समुदायको ध्यानमा पर्न थाल्यो ।
उनको खेलको सबैभन्दा उल्लेखनीय पक्ष गति थियो । बलसहित तीव्र गतिमा अगाडि बढ्न सक्ने क्षमताले उनलाई अन्य धेरै खेलाडीभन्दा फरक बनाउँथ्यो । आक्रमणमा सक्रिय रहने शैली, एक–विरुद्ध–एक (वान भर्सेस वान) परिस्थितिमा खेल्न सक्ने आत्मविश्वास र निरन्तर मेहनत गर्ने बानीले उनको विकासलाई थप गति दियो ।
उमेर बढ्दै जाँदा उनको खेलमा परिपक्वता पनि देखिन थाल्यो । उनी केवल व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्ने खेलाडी मात्र रहेनन्, टोलीको खेलमा पनि प्रभाव पार्न सक्ने खेलाडीका रूपमा विकसित हुँदै गए । स्थानीय स्तरका प्रतियोगिताहरूमा देखाएको प्रदर्शनले उनलाई थप अवसरका ढोका खोल्दै लग्यो ।
एडमन्टनको फुटबल वातावरणमा उनको नाम विस्तारै चिनिन थाल्यो । उनी अब केवल रमाइलोका लागि फुटबल खेल्ने बालक थिएनन् । उनी त्यस्तो युवा खेलाडीका रूपमा हेरिन थालेका थिए ।
स्थानीय क्लबमा खेलिरहेका उनको प्रतिभा देखेपछि राष्ट्रियस्तरका प्रशिक्षकहरूको ध्यान खिच्न थालिसकेको थियो । यही कारण उनी पछि क्यानडाको सबैभन्दा महत्वपूर्ण युवा विकास प्रणालीमध्ये एकमा भ्यानकुभरमा बोलाइए ।
त्यसबेला कसैले उनको यात्रा कहाँ पुगेर टुंगिनेछ भन्ने अनुमान गर्न सकेको थिएन, तर उनको विकासक्रमले भने उज्ज्वल सम्भावनाको संकेत दिन थालेको थियो ।
भ्यानकुभरबाट सुरु भएको ठूलो यात्रा
सन् २०१५ । १४ वर्षको उमेरमा उनी एडमन्टन छोडेर भ्यानकुभर पुगे । त्यहाँ उनले भ्यानकुभर व्हाइटक्याप्स एफसीको युवा विकास कार्यक्रममा प्रवेश पाए । यो उनको जीवनको पहिलो ठूलो परिवर्तन थियो, जहाँ उनले पहिलोपटक व्यावसायिक स्तरको प्रशिक्षण, अनुशासन र प्रतिस्पर्धात्मक वातावरण अनुभव गर्न पाए ।
छोटो समयमै उनको प्रगति उल्लेखनीय रह्यो । १५ वर्षको उमेरमै उनले मेजर लिग सकरमा डेब्यु गरे, जसले उनलाई क्यानडाको सबैभन्दा युवा व्यावसायिक खेलाडीमध्ये एक बनायो ।
विश्व फुटबलका महान क्लबहरू प्रतिभा खोज्न संसारभर घुमिरहेका हुन्छन् । डेविस त्यही प्रतिभामध्ये एक थिए । उनको खेल निरन्तर सुधारिँदै गएपछि अन्तर्राष्ट्रिय क्लबहरूको नजर पनि उनीतर्फ जान थाल्यो । अनि खुल्यो, जर्मनीको दिग्गज बायर्न म्युनिखले ढोका ।
सन् २०१८-२०१९ मा उनीलाई बायर्न म्युनिखलले अनुबन्ध गर्ने निर्णय गर्यो । बायर्न म्युनिखमा सुरुका दिनहरू सहज थिएन। प्रतिस्पर्धा कठोर थियो ।
गल्तीका लागि ठाउँ कम थियो । तर संघर्षसँग परिचित डेविसका लागि यो नयाँ कुरा थिएन । उनले मेहनत गरे, सिके र आफूलाई सुधारिरहे । बिस्तारै उनले टोलीमा आफ्नो स्थान सुरक्षित गरे ।
उनको विस्फोटक गति र आक्रामक खेलशैलीले उनलाई विश्वकै उत्कृष्ट लेफ्ट ब्याकमध्ये एक बनायो ।
विश्व फुटबलमा उदय
सुरुका दिनहरूमा उनले नयाँ देश, नयाँ भाषा र उच्च प्रतिस्पर्धात्मक वातावरणसँग अनुकूल हुन समय लिए । तर बिस्तारै उनले आफूलाई टोलीको महत्वपूर्ण हिस्सा बनाउन थाले ।
प्रशिक्षकहरूले उनलाई आक्रमण र डिफेन्स दुवैमा प्रयोग गर्न थाले, र यही परिवर्तनले उनको खेललाई नयाँ आयाम दियो ।
लेफ्ट-ब्याक पोजिसनमा खेल्न थालेपछि डेविस विश्व फुटबलकै सबैभन्दा प्रभावशाली युवा खेलाडीमध्ये एक बने । उनको गति, वान भर्सेस वान स्थितिमा खेल्ने क्षमता र निरन्तर दौडिने शैलीले उनलाई फरक पहिचान दिलायो ।
त्यसै समयावधिमा उनले बायर्न म्युनिखसँगै सबैभन्दा ठूलो सफलता हात पारे, त्यो हो, युइएफए च्याम्पियन लिगको जित । विशेषगरी ठूलो खेलहरूमा देखाएको प्रदर्शनले उनलाई विश्व फुटबलमा स्थापित गर्यो ।
उनको प्रदर्शनले चर्चा पायो, विशेषगरी बार्सिलोना विरुद्धको खेलमा देखाएको खेलले उनलाई विश्वभर चर्चित बनायो ।
यस उपलब्धिसँगै डेविस क्यानडाको राष्ट्रिय टोलीका पनि प्रमुख खेलाडी बने ।
उनले देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्दै क्यानडाको फुटबललाई नयाँ स्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेले ।
क्यानडाको अनुहार फेर्ने डेविस
क्यानडाले लामो समयसम्म विश्व फुटबलमा ठूलो प्रभाव छोड्न सकेको थिएन । तर, नयाँ पुस्ताले त्यो अवस्था परिवर्तन गर्यो । र, त्यस परिवर्तनको केन्द्रमा डेविस थिए ।
उनले केवल उत्कृष्ट खेलाडीको भूमिका मात्र खेलेनन् । उनले नेतृत्व मात्र गरेनन्, प्रेरणा पनि दिए । र, एउटा नयाँ पुस्तालाई विश्वास दिलाए कि क्यानडाले पनि विश्व फुटबलमा ठूलो सपना देख्न सक्छ ।
त्यसैले कप्तानको आर्मब्यान्ड केवल एउटा कपडाको टुक्रा होइन, त्यो जिम्मेवारी, विश्वासको प्रतीक हो ।
एक भिडियो अन्तर्वार्तामा अल्फोन्सो डेविसले शरणार्थी जीवन, क्यानडामा नयाँ सुरुवात र फुटबलले दिएको अवसरबारे बताएका छन । उनका अनुसार संघर्षले नै उनको जीवन र पहिचानलाई नयाँ दिशा दिएको हो ।
उनी विश्वकपमा क्यानडाका लागि गोल गर्ने पहिलो खेलाडी समेत बने । सन् २०२२ मा कतारमा भएको विश्वकपमा उनले क्रोएसिया विरुद्ध गोल गरेका थिए ।
विश्वकपमा एउटा राष्ट्रको सपना
२०२६ फिफा विश्वकप अघि अल्फोन्सो डेविसको फिटनेसलाई लिएर विभिन्न मिडिया रिपोर्टहरूमा लगातार चर्चा भइरहेको छ ।
चोटका कारण उनले केही खेल गुमाएका र पूर्ण रूपमा फिट हुने प्रक्रियामा रहेको उल्लेख गरिएको छ ।
त्यसैले, उनी पछिल्ला खेलमा बेन्चमा देखिए, मैदानमा उत्रिएका छैनन् । त्यो दृश्य केवल एक खेलाडीको अवस्थामात्र होइन, एउटा राष्ट्रको प्रतीक्षाको क्षणजस्तै बनेको छ । मैदानमा उत्रिने साथीहरू, रङ्गशालामा गुञ्जिने समर्थकहरू र टेलिभिजन स्क्रिनमा आँखा टाँस्ने लाखौँ दर्शक सबैको सपना एउटै धागोले बाँधिएको छ ।
घरेलु मैदानमा हुने विश्वकपमा उनको उपस्थितिले टोलीलाई ठूलो बल दिने विश्वास व्यक्त गरिएको छ । फिफाका अनुसार उनी खेल्ने वा नखेल्ने अवस्थाले पनि क्यानडाको रणनीतिमा ठूलो प्रभाव पार्नेछ ।
उनीसँगै लाखौँ क्यानडाली समर्थकको सपना मैदानमा उत्रिन्छ । उनीसँगै युद्ध र संघर्षबाट अघि बढेका परिवारहरूको आशा जोडिएको हुन्छ । उनीसँगै ती बालबालिकाको कल्पना पनि बग्छ, जसले कठिन परिस्थितिबीच पनि ठूलो भविष्य देख्न छोडेका छैनन् ।
यो यात्राले फेरि सम्झाइदिन्छ, मानिस कहाँ जन्मियो भन्ने होइन, उसले संघर्षसँग कसरी लड्यो भन्ने कुरा नै उसको पहिचान बन्छ ।
त्यसैले अल्फोन्सो डेविसको कथा केवल फुटबलको कथा होइन, यो इच्छाशक्ति, आशा र दोस्रो अवसरको कथा हो । शरणार्थी शिविरको धुलोबाट सुरु भएको यात्रा आज विश्वकपको उज्यालो बेन्चसम्म पुगेको छ, जहाँ एउटा राष्ट्र आफ्नो सपनासँगै उनको प्रतीक्षामा उभिएको छ ।
जब अल्फोन्सो डेविस विश्वकपमा क्यानडाको कप्तानका रूपमा मैदानमा उत्रिन्छन्, उनी एक्लै उत्रिएका हुँदैनन् । उनीसँगै लाखौं क्यानडाली समर्थकको सपना मैदानमा उत्रिन्छ । उनीसँगै युद्धबाट भागेका परिवारहरूको आशा मैदानमा उत्रिन्छ ।
उनीसँगै ती बालबालिकाको सपना मैदानमा उत्रिन्छ, जसले कठिन परिस्थितिमा पनि भविष्यको कल्पना गर्न छोडेका छैनन् ।
यो यात्राले उनले विश्वलाई देखाइदिए, मानिस कहाँ जन्मियो भन्ने कुराले उसको भविष्य तय गर्दैन । उसले संघर्षसँग कसरी लड्छ भन्ने कुराले तय गर्छ ।
सायद, अल्फोन्सो डेविसको कथा केवल फुटबलको कथा होइन, इच्छाशक्तिको विजयगाथा हो ।
प्रतिक्रिया 4