News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा सम्पन्न कोशी टुरिज्म कन्क्लेभ–२०८३ ले कोशी प्रदेशलाई अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्न आठ प्रमुख प्राथमिकताहरू तय गरेको छ ।
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन गुरुयोजना निर्माण तथा सार्वजनिक–निजी साझेदारीमार्फत प्रदेशमा लगानी विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
- पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले कोशी प्रदेश नेपालको पूर्वी प्रवेशद्वार भएकाले यहाँ प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्नुभयो ।
१४ असार, विराटनगर । कोशी प्रदेशलाई नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित आयोजित ’कोशी टुरिज्म कन्क्लेभ–२०८३’ विराटनगरमा सम्पन्न भएको छ ।
कन्क्लेभले सीमापार पर्यटन विस्तार, समुदायमा आधारित पर्यटन प्रवद्र्धन, नीतिगत सुधार, पर्यटन सूचना केन्द्र स्थापना तथा नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि पहललगायत आठ प्रमुख प्राथमिकता तय गरेको छ ।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कन्क्लेभमा तीन प्यानल छलफल भए । जसमा पर्यटन विकास, ग्रामीण पर्यटन, सीमापार पर्यटन, लगानी, पूर्वाधार तथा नीतिगत सुधारका विषयमा बहस भएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले पर्यटन क्षेत्रको सम्भावना, लगानी आकर्षण तथा नीतिगत सुधारका विषयमा धारणा राखेका थिए ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले भारत र बंगलादेशलाई लक्षित गरी नजिकका अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन गर्ने रणनीति प्रस्तुत गर्दै क्षेत्रीय बजारको सम्भावना र प्राथमिकताबारे विश्लेषण गरे ।
सचिव निरौलाले कोशी प्रदेश नेपालको पूर्वी प्रवेशद्वार भएकाले प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना रहेको बताए । कोशी प्रखेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पर्यटन विकासका लागि पर्यटन गुरुयोजना निर्माण, नीतिगत तथा कानुनी सुधार, अन्तर्राष्ट्रिय साहसिक खेल पर्यटन, शैक्षिक पर्यटन प्रवर्द्धन तथा सार्वजनिक–निजी साझेदारी मार्फत लगानी विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराए ।
पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीले पर्यटन क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने सबैभन्दा प्रभावकारी क्षेत्रमध्ये एक भएकाले प्रदेश सरकारले पर्यटन पूर्वाधार, गन्तव्य विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
प्रतिक्रिया 4