News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडी नाइट्स विथ च्याम्पियन कार्यक्रममा पशु चिकित्सकको अपमान भएको भन्दै नेपाल भेटेरिनरी एसोसिएसनले आपत्ति जनाएको छ।
- एसोसिएसनले पेशागत मर्यादामा आँच पुग्ने संवादप्रति क्षमा याचना गर्न र भविष्यमा संवेदनशील हुन कार्यक्रमका सञ्चालकलाई आग्रह गरेको छ।
- कार्यक्रम निर्देशक विशाल भण्डारीले कुनै पेशाको अपमान गर्ने मनसाय नभएको स्पष्ट पार्दै आगामी दिनमा थप सावधानी अपनाउने प्रतिबद्धता जनाउनुभएको छ।
काठमाडौं । कमेडियन भरतमणि पौडेलले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको क्यारेक्टर निर्वाह गर्ने क्रममा बोलेको एक संवादलाई लिएर नेपाल भेटेरिनरी एसोसिएसनले टिभी कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन’प्रति आपत्ति जनाएको छ ।
उक्त संवादले पशु चिकित्सक समुदायको भावनामा चोट पुगेको भन्दै संस्थाले भविष्यमा यस्ता विषयमा थप संवेदनशील हुन आग्रह गरेको छ ।
एसोसिएसनले जारी गरेको ध्यानाकर्षण पत्रमा कार्यक्रममा प्रसारित संवाद, ‘तपाईं कहाँको डाक्टर हो ? तपाईं भेटेरिनरीमा पढेको डाक्टर हो ? तपाईं भेटेरिनरीमा पढेको जस्तो छ, क्या बुद्धि, तपाईंलाई म त भित्तामा पुछिदिन्छु’ भन्ने अभिव्यक्तिले सम्पूर्ण पशु चिकित्सकको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएको छ ।
संघले हास्यव्यंग्य र कलाको नाममा आलोचना वा व्यंग्य स्वाभाविक भए पनि वैज्ञानिक, स्थापित र मानव तथा पशु स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पशु चिकित्सा पेशालाई होच्याउने वा कमजोर देखाउने प्रयास स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ ।
साथै उक्त अंश सार्वजनिक रूपमा क्षमा याचना गर्न, भविष्यमा यस्ता संवेदनशील विषयमा सावधानी अपनाउन र बेवास्ता गरिए कानुनी प्रक्रिया अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएको थियो ।
यसको जवाफमा ‘कमेडी नाइट्स विथ च्याम्पियन’का सञ्चालक तथा निर्देशक विशाल भण्डारीले सोही मितिमा पठाएको पत्रमा एसोसिएसनको ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
उनले टेलिभिजन व्यंग्य र राजनीतिक क्यारेक्चरको उद्देश्य समसामयिक घटना र प्रवृत्तिलाई हास्य तथा कलात्मक अभिव्यक्तिमार्फत प्रस्तुत गर्नु रहेको र कुनै व्यक्ति, संस्था वा पेशाको प्रतिष्ठामा आँच पुर्याउने मनसाय नरहेको स्पष्ट पारेका छन् ।
भण्डारीले प्रयोग गरिएका शब्दबाट पशु चिकित्सक समुदायको आत्मसम्मानमा चोट पुगेको महसुस भएकोमा दुःख व्यक्त गर्दै पशु चिकित्सा पेशाको गरिमा, प्रतिष्ठा र योगदानप्रति पूर्ण सम्मान रहेको बताएका छन् । आगामी दिनमा यस्ता विषयमा सामग्री तयार, प्रकाशन तथा प्रसारण गर्दा थप सावधानी, संवेदनशीलता र पेशागत मर्यादालाई विशेष ध्यान दिने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रतिक्रिया 4