+
+
Shares

कारागारमा थियो अभिषेक गिरीको ‘रजगज’

जेलका कर्मचारीसहित तीन पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०८३ असार १४ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपहरण मुद्दामा नौ वर्ष कैद भुक्तान गरी छुटेका अभिषेक गिरी कैदीबन्दीको रकम असुल गरेको आरोपमा पुनः पक्राउ परेका छन् ।
  • गिरीले कारागारभित्र कैदीबन्दीको मुढा तथा गलैँचा बिक्रीको रकम र सरकारले दिएको गर्मी भत्ता समेत आफैँ लिने गरेका थिए ।
  • प्रहरी उपरीक्षक कवित कटवालले भने, 'धेरै गम्भीर विषयहरू बाहिर आएका छन्, हामी सूक्ष्म रूपमा अनुसन्धान गर्दैछौँ ।'

१४ असार, विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरी ५ चैत २०७९ मा कारागारबाट बाहिरिँदै गर्दा विवादस्पद पृष्ठभूमिका अभिषेक गिरीले भनेका थिए,’हिजो अन्जानमा गल्ती भयो, अब सामाजिक काममा लाग्छु ।’

गल्तीको प्रायश्चित गरेर बाहिर आएको बताउँदै उनले सामाजिक काम गर्नका लागि गिरी फाउन्डेशन पनि स्थापना गरे । फाउन्डेशन मार्फत उनले सामाजिक काम पनि गरे । तर, पुरानो ठगी धन्दा छाडेनन् ।
शुक्रबार कैदीबन्दीलाई बाँडेको १३ लाख ४० हजार रुपैयाँ असुलेको आरोपमा पक्राउ परे । उनी पक्राउ परेपछि कारागार भित्र उनले चलाइरहेको ‘अपराधिक साम्राज्य’ बाहिरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कैदीबन्दीले बनाएको मुढा गलैंचा बिक्रीको पैसा गिरीले लैजाने गरेको खुलेको हो ।

कारागारभित्र कैदीबन्दीले मुढा र गलैँचाहरू बुन्ने गर्छन् । ती सामग्री बिक्री गरेर आउने पैसा सम्बन्धित कैदीबन्दीको खातामा जानुपर्नेमा सिधै गिरीले लैजान्थे । त्यति मात्र होइन,सरकारले कैदीबन्दीलाई दिँदै आएको सुविधा पनि उनले लैजाने गरेको प्रहरी स्रोत बताउँछ ।

गत बुधबारदेखि शुक्रबारसम्म कारागार प्रशासनले कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ ‘गर्मी भत्ता’ वितरण गरेको थियो ।‘ब्लक बी’ का ५३६ जना कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ गिरीसम्म पुगेको थियो ।

थप तीन जना पक्राउ

अभिषेक गिरीको असुली धन्दामा प्रत्यक्ष सहयोग गरेको आरोपमा प्रहरीले जिल्ला कारागार मोरङका कार्यालय सहयोगी शिवचरण यादव, कारागारभित्र तरकारी आपूर्ति गर्ने विजय कामत र गिरीका सहयोगी दीपक कार्कीलाई पक्राउ गरेको छ । यी तीनै जनाले कारागारभित्रबाट संकलन गरिएको रकम बाहिर रहेका गिरीसम्म पुर्‍याउने पुलको काम गर्ने गरेको प्रहरीको दाबी छ ।

प्रहरीले पक्राउ परेका गिरीमाथि प्रहरीले ‘अपराधिक विश्वासघात’ को मुद्दामा अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले गिरीविरुद्ध ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको जानकारी दिए ।

‘धेरै गम्भीर विषयहरू बाहिर आएका छन्, हामी सूक्ष्म रूपमा अनुसन्धान गर्दैछौँ,’ एसपी कटवालले भने,’कारागारभित्र रहेको यो वर्षौँदेखिको अपराधिक नेक्ससलाई हामी पूर्ण रूपमा तोड्नेछौँ ।’

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय काटेका गिरी जेलमा रहँदा उनी मोरङ कारागारका ‘चौकीदार’ थिए । जेलबाट निस्किए पनि उनले आफू अनुकूलका व्यक्तिलाई चौकीदार बनाएर कारागारभित्र आफ्नो समानान्तर शासन चलाइरहेका थिए ।

मेस (भान्सा) मा हुने खाद्यान्न र तरकारी आपूर्तिमा समेत उनको सिन्डिकेट चल्ने गरेको र आफ्ना सहयोगी मार्फत रकम बाहिर निकाल्ने गरेको प्रहरी स्रोतले बताएको छ ।

गिरी नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय छन् । गत फागुन २१ गते भएको निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डरका रूपमा खटिएका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?