‘कोही काठमाण्डौँ आउने मान्छे भए तँलाई आँप पठाउन हुन्थ्यो ।’ आमाको आवाज भारी सुनियो ।
उनको भारी आवाजले मनलाई कता-कता गरूङ्गो बनाउँदै लग्यो । फोनबाटै घर पुग्न सकिने भए, आमाको वाक्य भुइँमा खस्नुपूर्व नै म घर पुगेर आँप चुस्न थाल्ने थिएँ । रसिलो आँपको स्वाद कल्पिंदै, मैले भिडियो-कलमा देखिएको आमाको केही थकित र केही उदास अनुहारलाई टुलुटुलु हेरिरहेँ । त्यहाँ पोतिएको त्यो धमिलो रङलाई बुझेजस्तो मात्र गरेँ ।
सामान्य घटना र स्थिति, जुन बताउन सकिन्छ या भन्न जरुरी हुन्छ, तिनैको सेरोफेरोमा कुराकानीको सिलसिला अघि बढ्यो ।
प्राय: घरमा आमासँग कुरा भएको दिन, ममा दुई प्रकारका संवेदना हावी हुने गर्छन् । एक, म खुसी हुने गर्छु, त्यो बेला मलाई घर फर्कन मन लाग्छ । अर्को, म दु:खी हुने गर्छु; मलाई घर कहिल्यै नछोडेको भए हुने जस्तो लाग्छ । घर सम्झिँदा मलाई सधैँ कुनै न कुनै भावले रूझाउने गर्छ । अधिकांश समय भने घरमा हुँदा देखेको सपनाको औधी माया लाग्ने गर्छ ।
सपना देख्न सजिलो हुन्छ । तर, काँचो मनले देखेको सपनाको स्वाद काँचो आँपजस्तै हुने रहेछ । आँप त समय पुगेपछि पाक्छ । त्यसैले त्यसको काँचोपन विशेष लाग्छ; स्वादिलो लाग्छ । तर, सपनाहरू काँचो मात्र रहिरहे, त्यसको स्वादले भने कोक्याउने रहेछ ।
मैले लेखक बन्ने सपना सजिलै देखेकी थिएँ, तर समयक्रममा थाहा पाउँदै गएँ, लेख्ने काम गाह्रो रहेछ; कथाहरू मानिसको उमेर र आँपजसरी समय बग्दै जाँदा आफैं नपक्दा रहेछन् ।
आमासँग कुरा गरिरहँदा, पृष्ठभूमिमा पुरानो पंखा कुनै कारखानामा चलिरहेको थोत्रो मेसिनझैं कराइरहेको थियो । घरमा भएको भए त्यसको आवाजले मलाई उति झर्को लाग्ने थिएन । तर, टाढाबाट भने मलाई त्यसको घ्वार-घ्वार आवाज दमले ग्रस्त कुनै रोगीको लहरे खोकीझैं लागिरह्यो ।
आमा भन्दै थिइन्, ‘यसपालि गर्मी खपिनसक्नु छ ।’
तराईको प्रचण्ड गर्मी सोचेरै मलाई चिटचिट पसिना आएको थियो । यहाँ पनि गर्मीयाम त राम्रैसँग चढ्ने गर्छ । तर पनि खोइ, कोठामा एउटा फ्यान पनि जोड्न सकेकी छैन ।
कोठामा रहेको अभाव सम्झिएर एकाएक मलाई जोड्न र घटाउन नसकेको जीवनका केही आयामहरूले बेस्मारी चिमोठेका थिए । मलाई एकैपटक समयको वेगले हुत्याएर विगतको दैलोमा पुर्याएको थियो । मैले त्यो दैलोलाई सुम्सुम्याएँ, त्यसलाई ढक्ढक्याएँ । तर, ढोका खुल्दै खुलेन ।
सायद मैले घर र परिवारसँग बिताएका ती दिन र उमेरहरू त्यही ढोकाभित्र बन्दी बनेर बन्द थिए । म सम्झनाको बाटोबाट ती बिताएका दिनहरूको दैलोसम्म मात्र पुग्न सकेँ । विगतको त्यो दैलोलाई सुमसुम्याउँदैमा हिजोका दिनहरूलाई आजमा बाँच्न नसकिंदो रहेछ । समयले आफ्नो एकोहोरो स्वरूपसँग मलाई साक्षात्कार गराएर, जुन गतिमा हिजोको संघारमा पुर्याएको थियो, त्यही गतिमा वर्तमानमा ल्याई पछारिदियो ।
रातको समयमा घडीले अबेर बजाइसकेको थियो । घरमा भएको भए अघि नै खाना खाएर बिस्तारामा पल्टिसकेको हुन्थेँ । बिस्ताराको किनारमा बसिरहेकी आमा कति बेला पल्टिएर मसँग कुरा गर्न थालिन्, पत्तै पाइनँ ।
‘अनि भात खाइस ?’ आमाले हाइ काढ्दै प्रश्न तेर्साउँदा पो बिस्तारामा पल्टिएर उनका आँखाले निद्रा बोलेको चाल पाएकी थिएँ ।
‘खाएँ… अघि नै बिहानको उब्रेको थियो… त्यही भुटेर खाएको ।’ कुँहिएर आफैं झर्न खोजिरहेको रूखको हाँगाभन्दा कमजोर झुट बोलिदिएँ । उनले पत्याएजस्तो गरिदिइन् ।
एक्कासी मलाई उनको आँखामा बिछोडका ठोस आँसुहरू देखे-देखे जस्तो लाग्यो । तर, मैले केही सोध्न सकिनँ । उनले पनि केही भन्न सकिनन् । हाम्रो गफगाफले घर, मौसम, मौसमी फलमै ( आँप ) फन्को मारिरह्यो ।
‘बोटभरि फलेका आँप… यसपालि तैँले चाहिँ खानै नपाई सकिन्छ होला । बिहान मर्निङ्ग वाक हिंड्नेहरूले चोरेर केही बाँकी राख्ने भएनन् ।’
घरमा लटरम्म फलेका आँप मैले चाख्न पाइनँ भनी आमाले गुनासो पोखिरहिन् । आमाका अनुसार, यो पालि आँप पोहर-परारभन्दा धेरै फलेका छन् । त्यसैले होला, यो पालि उनले पनि मलाई पोहर-परारभन्दा धेरै दुखेसो पोखिन् ।
मैले ‘सधैँ घरबाट उपत्यका आवात-जावत गर्ने गाडीको अङ्कललाई फोन गरेर सोध्छु, सामान मात्र ल्याइदिन मानेछन् भने पठाइदिनू’ भनी आमालाई केही थमथमाउने प्रयास गरेँ । तर, उनले भने आँप फलेको सन्दर्भमा जोड दिइरहिन् । सायद उनी मलाई ‘घर आइज आँप फलेका छन्’ भन्न चाहन्थिन् । हुनसक्छ, म उनले यस्तो भनेको सुन्न चाहन्थेँ । कहिलेकाहीँ हामी आफूले सुन्न चाहेका कुराहरू आफ्नाहरूको आँखामा पढ्ने गर्छौँ । आफ्नो मनमा गडेको घरको न्यास्रो मैले आमाको आँखामा देखेकी थिएँ ।
आँखाबाट बग्ने अव्यक्त भावनामा गहिराइ भेटिन्छन् । तर, गलाबाट बग्ने बोलीमा मात्र सतह भेटिन्छ । त्यसैले त हामी आफूअघि कोही बोलिरहेको समय, ओठमा नभएर आँखामा हेर्ने गर्छौँ । उनको आँखाले बोलिरहेको गहिराइमा एउटा रूख आफ्नो अंगालोभरि आँपहरू झुलाएर उभिरहेको थियो ।
घाम, पानी, बतास, झरी, चट्याङ्ग, असिना आदिले कहिल्यै दुख्यो, पोल्यो नभनी, अडिक उभिएको त्यो रूखमा मैले आमाको रूप प्रतिबिम्बित भएको देखेँ । त्यस रूखमा दुई चिचिला ( दाइ र म ) सम्झना भएर लागेका थिए । गहिरिएर हेरिरहंदा मैले आमालाई त्यही सम्झानाका चोपहरूले लत्तपत्त भएको पाएँ । सायद दाइ र मेरो बाल्यकाल, हामी दुईले भन्दा बढ्ता आमाले सम्झिने गर्छिन् ।
हामी मानिसको बाल्यकालको सबैभन्दा सुन्दर दस्तावेज भनेकै आमाको हृदय हो । हामी जति नै परिपक्व भएपनि आमाको मुटुमा भने साना-कलिला रूपमै धड्किरहेका हुन्छौँ । आमाहरूले आफ्ना बचेरा नउडून कहिल्यै चाहँदैनन्।
उनीहरूले नै बचेरालाई आकाश चिनाएका हुन्छन् । आकाश बाँच्न उडेका बचेराहरूले, आकाश बुझ्दै जाँदा, गुँड बिर्सिंदै जालान् भन्ने डरले हो आमाहरूलाई चिन्तित बनाउने । किनभने आमाहरूले आफ्नो भागको आकाश बाँचिसकेका हुन्छन्। बाध्यताले गर्दा आफू हुर्किएको गुँडसम्म चाहदा चाहदै पनि पुग्न नसक्नुको व्यथा आमाहरूले अझैं भोगिरहेका छन् ।
‘यी आँपका रूख काटिदिन्छु, अर्को साल अब !’ आमाको कुरा सुनेर मलाई हाँसो उठेको थियो । मैले खितित्ति हाँस्दै भनेँ, ‘मर्निङ वाक हिँड्नेहरूले आँखा लगाए भनेर ?’
आमा सुरूमा त हाँसिन् मात्र । त्यसपछि आफ्ना तन्किएका ओठलाई खुम्चाएर एक्कैपटक आफ्नो मनको गाँठो फुकाल्दै भनिन्, ‘होइन…. अब अहिलेसम्म त तेरो दाइले भएनि खाइराथ्यो । दुई जनामा एकजनाले भएनि खान पाइराछ भनेर मन मानिराथ्यो । अब ऊ नि विदेश गएसि…. ‘
‘ए, अँ अब छोरो नि घरमा नहुने भएर हो, यस्तो सोच आएको ?’ मैले खिसी उडाउँदै सोधेँ । तर, भित्र-भित्रै मेरो मन पनि आमाको जस्तै गुजुल्टो पर्दै गइरहेको थियो ।
‘सोच त के-के आउँछ, आउँछ नि,’ आमाले पनि हाँस्दै जवाफ फर्काइन् ।
घरको पहिचान बनेको घरभन्दा बूढा रूखहरूलाई काटिदिन्छु भन्नु आमाको आवेग मात्र थियो, जुन सायद उनको मन र घर दुवैमा सन्तानको अनुपस्थितिमा बित्ने भोलीका दिनहरूको कल्पनाबाट आएको थियो । आफ्ना सबै सन्तानले घरजम गरेर लाखा-पाखा लागेपछि मेरी आमाले आफ्ना बुबा-आमालाई ( हजुरबुबा-हजुरआमा ) एक्लै बाँचेको नजिकैबाट देखेकी छिन् । उनी सायद अहिले आफ्नी आमालाई झनै बुझिरहेकी छिन् । सायद कुनै दिन म पनि उनलाई पूर्ण रूपले बुझ्न सक्ने छु, उनका हरेक संवेदनाहरूलाई महसुस गर्न सक्ने छु ।
उनका आँखामा निद्रा सलबलाइरहेको थियो । तर, पनि उनी कुराकानी तन्काइरहेकी थिइन् । मैले उनलाई मेरो हिसाबले बुझेजस्तो गरेरे भनेँ, ‘निद्रा लाग्यो मलाई नि….. भाडा माझेकै छैन…. अब भाडा माझेर सुत्छु । भोली कुरा गरूम्ला ।’’
‘ल ल । भोली त्यो गाडीको मान्छेलाई कल गरेरे सोध…. के भन्छ…… सधैँ यही गाडीमा आउने गरेको हो…. एक झोला सामान मात्र हो, पैसा नलिनू भन्नू…….’
आमाले यति भनिसकेर कल राखिन् । मैले बिहानको जुठो भाडा माझेर बेलुकीको खाना बनाउनु थियो । मलाई निद्रा होइन, भोक लागेको थियो । आमासँग कुरा गरिसकेर म भाडा माँझ्न थालेँ । सामान्य दिनको सामान्य कुराकानीमा आमाले केही असामान्य र अनौठो कुरा गरेर गएकी थिइन् । भाडा माझिरहंदा जति-जति उनले भनेको कुरा सझिएँ, त्यति-त्यति उदासीले घेरिएँ ।
म काठमाण्डौँ आफ्नो सपनालाई यथार्थमा बाँच्न आएकी थिएँ । लाग्थ्यो, घरबाट बाहिर निस्किएपछि मेरा सपनाहरूले आफैं बाटो पाउँदै जानेछन् । तर, म गलत रहेछु । सपनाहरूलाई हामीले निरन्तर पछ्याइरहन सक्नु पर्ने रहेछ । घरमा हुँदा म सपना देखिरहने गर्थेँ । त्यसैले सायद मसँग बाटाहरू प्रसस्त थिए । घर छोडेर सहरको कोलाहलमा आएदेखि मेरा सपनाहरू मोडहरूमै रूमल्लिरहेका छन् । घरमा, हामी खेतका आलीहरूमा दुगरीरहंदा ठूला-चौडा सडकको सपना देख्ने गर्छौँ । पछि, तिनै चौडा सडकको छातीमा भीडको एउटा सानो अंश भई यात्रा गर्न पुग्दा, हामी त्यसमै थिचिएर निस्सासिने रहेछौँ । हराउने रहेछौँ । आफूभित्रका केही अभिन्न अंशहरूलाई गुमाउन पुग्ने रहेछौँ । हरेक पाइला अघि सारेसँगै, आफ्नाहरूबाट कोसौ दूर पुग्दै जाने रहेछौ ।
दाइ, केही थान सपनाहरू बोकेर घर छोडी आफ्नो बाटो पहिल्याउन अर्को भूगोलसम्म पुग्ने तयारीमा छ । उसको यात्रामा उसले के-के पाउने छ, के-के गुमाउने छ….. त्यो सायद मलाई कहिल्यै थाहा हुने छैन । हामी दुवैले उड्न एक साथ सिक्यौँ, तर फरक-फरक आकाशको सपना देख्यौँ । त्यसैले फरक-फरक दिशातिर यात्रारत छौँ । उसलाई मैले हिंडेको बाटो थाहा छैन, न त मलाई उसले हिंडेको बाटो र हिंड्न गइरहेको बाटो नै थाहा छ । घरलाई घर बनाउने हाम्री आमाको मन, हामी दुवै घरमा नहुँदा कति टुक्रामा टुक्रिन सक्छ, त्यो झन् हामीलाई थाहै छैन । तर, आमालाई भने सबै थाहा छ ।
‘आइहाल्छु नि’ भनी जानेहरूलाई आउँन दिन, हप्ता, महिनौ, बर्षौ लाग्न सक्छ भन्ने आमाहरूलाई थाहा छ । तर पनि उनीहरू आफ्नो चित्त बुझाउन होइन, हाम्रो मन राखिदिनलाई पत्याईदिने गर्छन् । आमालाई थाहा छ, कसैको अनुपस्थितिमा, रुखले कम फल दिने भन्ने हुँदैन । आमाहरूको मनले भने फलेका, फूलेका हरेक चिजलाई आफ्ना सन्तानको लागि भाग लगाउने गर्छन् । साँचेर राखिदिने गर्छन् । त्यही साँचेर राखिदिएको मेरो भाग आँप केही दिनपछि मसम्म आइपुग्यो । मैले स्वादैले खाएँ । बोक्रा र कोयाहरूलाई फोहोरको थुप्रोमा पोका पारेँ । यहाँ कोया फ्याँक्ने आँगन छैन ।
सानो छँदा म आँप खाएर कोया गन्दै आँगन वरपर फ्याँक्ने गर्थेँ । ती सबै कोयाबाट नयाँ आँपको रूख उम्रिन्छ भन्ने लाग्थ्यो । तर, कोयाबाट उम्रिएका केही बिरूवाहरुलाई कहिले बाख्राका पाठाले खाइदिन्थे, कहिले गोडमेल गर्दा आमाका हातबाट उखेलिन्थे । आँगन किनार-किनार आँप रोपेर मात्र कहाँ चल्थ्यो र ! साग, सब्जी लगाउनु परि हाल्थ्यो । तर, मेरो अबोधताले आमालाई कसरी पो बुझ्न सक्थ्यो र ! त्यसैले आमाले जति गाली गरे पनि आँप खाएर मलको थुप्रो छेउमा कहिल्यै फ्याँकिनँ, जहाँ फ्याँक्नु भनेर उनले अर्त्याउने गर्थिन् । मैले सधैँ आफूले खाएका आँपका कोयाहरू आमाले नदेख्नेगरि गन्दै आँगनकै किनारमा फ्याँक्ने गर्थेँ ।
मैले कल्पनामा आँगनभरि सयौंको संख्यामा आँपका बोटहरूले भरिएको देखेकी थिएँ । हुन् त, अहिले पनि आँगन आँपकै रूखले भरिएको छ । सायद मेरो कलिलो मस्तिष्कमा त्यतिबेला भरिभराउको परिभाषा ठूलै थियो, जसरी अहिले आमाको फराकिलो मनमा धेरैको परिभाषा सानो भएको छ ।
सायद यो वर्ष पनि आँप घरमा औसत नै फलेको हो । तर, आमाले लगाउने भाग घट्दै गएको देखेर उनलाई धेरै लागिरहेको हुन सक्छ । अहिले त कम्तीमा आमाले, केही रुँपैया पैसा तिरेर मेरो भाग गाउँबाट सहरसम्म पठाउन पाइरहेकी छिन् । तर, दाई विदेश गएपछि ? उनले यो देशबाट अर्को देश सहजै घरको याद बोकेका स्वादिला फल-फूल पठाउन पाउने छैनन् भन्ने सोचेरै सायद उनको मन गरूङ्गो भएको हुँदो हो ।
नजिक हुँदा राम्रोसँग चिन्न नसकेकाहरूलाई टाढा भएपछि चिनिंदो रहेछ । उनीहरूलाई झन् ज्यादा गहिरिएर बुझिंदो रहेछ । म अहिले घर, आमा र आँपका हांगाहरूमा झुलेका सम्झनाका अर्थ र मूल्यलाई चिन्न र बुझ्न सकिरहेकी छु ।
सायद अब आउने वर्षहरूमा, आमाले आँप झन् अचाक्ली फलेको देख्ने छिन् । त्यसैले त्यो देख्नु अगावै, हाम्रा सम्झनाका बाडुल्कीले उनलाई एकैपटक अठ्याउनु अगावै, उनी आँपको रूख काट्न चाहन्छिन् । तर, उनी आमा हुन् । उनलाई सबै थाहा छ, त्यो उनको मस्तिष्कले आवेगमा जन्माएको एउटा अल्पकालीन भावना मात्र हो । उनलाई यो पनि राम्रोसँग थाहा छ, मानिसजस्तै रूखको पनि आयु हुन्छ । आँप एउटा मौसममा मात्र पाक्छ । तर, सम्झना भने हरेक प्रहर फूल्छ, फल्छ र पाक्छ । न त्यसको उमेर हुन्छ, न त आयु ।
प्रतिक्रिया 4