१९ असार, ठोरी (पर्सा) । मधेशको प्रशिद्ध पर्यटकीय क्षेत्र पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएसँगै त्यहाँको पर्यटन प्रभावित भएको छ ।
शुक्रबारदेखि अचानक भारतीय चारपाङ्ग्रेमा रोक लगाएसँगै यहाँको पर्यटन, व्यापार तथा स्थानीय जनजीवनमा गम्भीर असर परेको हो ।
सीमा सुरक्षा बल (बीओपी) ठोरीले जिल्ला कमान्डको निर्देशन भन्दै भन्सार प्रक्रिया पूरा नगरी नेपाल प्रवेश गर्न खोजेका भारतीय सवारीसाधनलाई सीमाबाटै फिर्ता पठाउन थालेपछि नेपाल भ्रमणको उत्साह बोकेर आएका भारतीय पर्यटकहरू निराश हुँदै भारतको भिखना ठोरीबाटै फर्किन बाध्य भएका हुन् ।
वर्षौंदेखि ठोरी नाका भारतीय पर्यटकका लागि सहज प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको थियो । दैनिक सयौँको संख्यामा भारतीय पर्यटक यही नाकाबाट नेपाल प्रवेश गरी ठोरीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, वन्यजन्तु, ग्रामीण पर्यटन तथा विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा यातायात व्यवसायलाई चलायमान बनाउँदै आएका थिए ।
तर शुक्रबार बिहानैदेखि देखिएको यो अवस्थाले पर्यटन व्यवसायी मात्र होइन, स्थानीय सर्वसाधारणसमेत चिन्तित बनेका छन् ।
ठोरीमा नेपाल सरकारको अमृत छोटी भन्सार कार्यालयको भवन आज पनि उभिएको छ, तर सेवा भने बन्द छ । कार्यालयको संरचना भएर पनि सेवा सञ्चालन नहुँदा राज्यको उपस्थितिमाथि नै प्रश्न उठ्न थालेको छ ।
स्थानीयका अनुसार गत वर्षदेखि भन्सार कार्यालय बन्द भएपछि भारतीय सवारीसाधनको वैधानिक प्रवेशको व्यवस्था नै ठप्प बनेको हो । जसले सीमा क्षेत्रमा अन्योल सिर्जना भएको छ । यसको प्रत्यक्ष मार पर्यटन र स्थानीय अर्थतन्त्रले खेप्नुपरेको छ ।
ठोरीमै भन्सार सेवा सञ्चालनमा रहेको भए भारतीय पर्यटकले सहज रूपमा राजस्व तिरेर नेपाल प्रवेश गर्नसक्ने स्थानीय बताउँछन् । ‘सरकारलाई राजस्व पनि प्राप्त हुने थियो र पर्यटक पनि फर्किनुपर्ने अवस्था आउने थिएन,’ ठोरीका एक स्थानीयले भने, ‘तर राज्यको बेवास्ताका कारण अहिले न सरकारले राजस्व पाएको छ, न स्थानीयले पर्यटक, न त पर्यटकले नेपाल भ्रमणको अवसर नै ।’
भन्सार कार्यालय बन्द भएपछि स्थानीय सरकार, राजनीतिक दल, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा नागरिक समाजले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि कुनै ठोस पहल हुननसकेको गुनासो छ । जनप्रतिनिधिले विभिन्न मञ्चबाट भन्सार पुन: सञ्चालनको माग उठाए पनि निर्णय कार्यान्वयनमा नआउँदा स्थानीयमा निराशा बढ्दै गएको छ ।
भारतीय पर्यटकको आगमनमा आएको कमीले होटल व्यवसाय, रेस्टुरेन्ट, खुद्रा व्यापार, स्थानीय यातायात, कृषि उपजको बिक्री तथा दैनिक मजदुरीसमेत प्रभावित हुन थालेको व्यवसायीहरूको भनाइ छ ।
प्रतिक्रिया 4