२० असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा त्यसैको उपज रहेको दाबी गरेका हुन् ।
‘यो कुनै सुशासनको निम्ति गरिएको होइन, यो कुनै राम्रो उद्देश्यको निम्ति गरिएको छैन,’ प्रचण्डले भने, ‘यो निकै ठूलो डिजाइन र षडयन्त्रअन्तर्गत नेपालको भूराजनीतिमाथि हस्तक्षेप गरेर भारत र चीनलाई कन्ट्रोल गर्ने र यहाँ एउटा बेस बनाउने इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत भएको हो भन्ने कुरा बुझ्न केही गाह्रो छैन ।’
जेसुकै भएपछि रास्वपाको बहुमत आएकाले तत्काल राम्रो कामको विरोध आफूबाट नहुने भनेको उनले बताए । ‘बहुमत आयो रास्वपाको, राम्रो काम गर्ने कुराको हाम्रो विरोध हुँदैन, गलत काम गर्यौं भने विरोध हुन्छ भनेर सुरुमा त्यसरी भन्यौं । किनकि जनताबाट एक खालको त्यसरी बनाइएको छ,’ उनले भने ।
जनतामा ठूलो भ्रम रहेकाले अहिले सत्य कुरा बोलेपनि पत्याउने र सुन्ने अवस्था नरहेको प्रचण्डले टिप्पणी गरे ।
‘यति ठूलो भ्रम सिर्जना भएको छ मानिसहरूमा, त्यसमा पनि युवाहरूमा अझ बढी । यहाँ विरोध गरेर सुन्नेवाला छैन कोही, तपाईँ जतिसुकै साँचो कुरा भन्नुस्,’ उनले भने, ‘बडो विचित्र हुँदो रहेछ त्यो अल्गोरिदम या सामाजिक सञ्जालबाट गरिने अल्गोरिदम् म्यानुपुलेसन पनि त्यहाँ थुप्रै चिज हुने रहेछ ।’
अहिले आफूले पनि गतिलोसँग नबोलेको र कार्यकर्ता पनि बोल्न हिचकिचाएको प्रचण्डले समीक्षा सुनाए । ‘बोल्नेबेला आउला भनेर बसिया छ, बोलिन्छ । बोलिन्छ मात्र होइन, जरुरी पर्दा राम्रैसँग लडिन्छ, हेर्नुहोला केही महिनापछि हामी आन्दोलनमा जान्छौं नै,’ उनले भने ।
आफू डरले नबोल्ने मान्छे नरहेको पनि उनले दाबी गरे । अगाडि भने, ‘हामी डरले नबोल्नेवाला मान्छे होइनौं ।’
प्रतिक्रिया 4