+
+
Shares

ट्रम्पको चेतावनी- आज राति इरानमा ठूलो हमला हुनसक्छ

अमेरिकाले इरानको नियन्त्रणमा रहेको मुख्य तेल निर्यात टर्मिनल खार्ग टापु कब्जा गर्नसक्ने पनि संकेत गरे । अमेरिकाले खार्ग टापु कब्जा गर्न खोज्दा तेहरानले त्यसविरुद्ध केही गर्न नसक्ने पनि उनको दाबी थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते २२:१३

२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति मंगलबार इरानमाथि ठूलो बल प्रयोग गर्ने घोषणा गरेका छन् । बुधबार टर्कीमा भएको नाटो शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीसँगै पत्रकारसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।

‘हामीले मंगलबार राति उनीहरूलाई धेरै कडा प्रहार गर्यौं, धेरै कडा,’ इरानबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘सायद आज राति फेरि बल प्रयोग गरेर उनीहरूमाथि आक्रमण गर्नेछ ।’

आफूले धेरै पहिला नै इरानी अधिकारीलाई सानो चेतावनी दिइसकेको उनले बताए । ‘हामी आज राति फेरि उनीहरूमाथि कडा प्रहार गर्नेछौं,’ उनले भने ।

अमेरिकाले अहिले इरानमा उच्चस्तरका आक्रमण नगरेको ट्रम्पले दाबी गरे । भविष्यमा अमेरिकी आक्रमणहरू इरानका पुल र डिसेलिनेसन प्लान्ट(समुद्री पानी शुद्धीकरण गर्ने प्रविधि) जस्ता पूर्वाधार लक्षित हुनसक्ने उनले बताए ।

अमेरिकाले इरानको नियन्त्रणमा रहेको मुख्य तेल निर्यात टर्मिनल खार्ग टापु कब्जा गर्नसक्ने पनि संकेत गरे । अमेरिकाले खार्ग टापु कब्जा गर्न खोज्दा तेहरानले त्यसविरुद्ध केही गर्न नसक्ने पनि उनको दाबी थियो ।

यसअघि ट्रम्पले बुधबारै पत्रकारसँग कुरा गर्दै इरानसँगको शान्ति सम्झौता समाप्त भएको घोषणा गरेका थिए । सोही क्रममा उनले वार्ताकारहरूले इरानसँग कुरा गरेर आफ्नो समय खेर फालिरहेको पनि टिप्पणी गरेका थिए । सोही क्रममा उनले इरानको सत्तालाई पागलको संज्ञा पनि दिए ।

ट्रम्पको अडानमा परिवर्तन

ट्रम्पका पछिल्ला अभिव्यक्ति हेर्दा उनका केहीदिन अघिका अभिव्यक्तिका तुलनामा निकै फरक देखिएका छन् । केही हप्ताअघिसम्म उनको अभिव्यक्ति इरानसँगको वार्तामा निकै आशावादी सुनिन्थ्यो । उनी वार्ता सफल हुनेमा ढुक्क सुनिन्थे ।

तर, बुधबारका अभिव्यक्तिमा ट्रम्प इरानसँगको द्वन्द्वलाई निर्णायक मोडमा पुर्‍याउनेगरी निष्कर्षमा पुगेको जस्तो सुनिएका छन् । जसमा वार्ताबाट देखिएको आशावाद स्वाट्टै घटेको छ भने, नयाँ आक्रमणको लहरको सम्भावना देखिएका छन् ।

जेलेन्स्कीसँग पत्रकार सम्मेलन गर्दा उनले आफू प्रस्ट रूपमा इरानसँग खुसी नभएको बताएका छन् ।

‘उनीहरू झूट बोल्छन्’

नेटो सम्मेलनका क्रममा दिउँसो भएको पत्रकार सम्मेलनमा ट्रम्पले इरानी अधिकारीलाई ‘खराब’ मान्छे भनेका थिए ।

‘मलाई लाग्छ अब यो(वार्ता) सकियो । म अब उनीहरूसँग कुरा गर्न चाहन्न । उनीहरू खराब मानिसहरू हुन्,’ उनले भनेका थिए, ‘जहाँसम्म मेरो कुरा छ, यो सकियो । उनीहरूसँग कुरा गर्नु समयको बर्बादी हो । उनीहरू झूट बोल्छन् ।’

उनले दुवै पक्षका वार्ताकारले चाहेमा कुरा जारी राख्नसक्ने कुरा चाहिँ स्वीकार गरेका छन् । ‘तर, उनीहरूले आफ्नो समय खेर फालिरहेका छन्,’ उनले भनेका थिए, ‘तिनीहरू साँच्चै मानसिक रूपमा बिरामी छन् । तिनीहरूका नेताहरू मानसिक रूपमा बिरामी छन् । मेरो विचारमा, तिनीहरूसँग व्यवहार गर्नु केवल समयको बर्बादी हो ।’

इरानले वार्तामा आफूसँग आणविक हतियार नहुने कुरा स्वीकार गरिसकेपछि पछि मिडियामा त्यस विषयमा कुराकानी नै नभएको जस्तो देखाएको ट्रम्पले दाबी गरेका छन् । –बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?