News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।
- विवरण नबुझाउने ४३९ म्यानपावर कम्पनीलाई विभागले सचेत गराउँदै तत्काल विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
- नियम उल्लंघन गर्ने थप आठ कम्पनीलाई विभागले जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ ।
२८ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको हो ।
विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए–नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।
सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १५९ संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ ।
त्यसैगरी, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको छ ।
विभागले पटक–पटक कानुन, नियम तथा निर्देशन उल्लंघन गर्ने थप आठ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ । तीमध्ये तीन कम्पनीलाई पुनः भारतबाट श्रमिक उडाएको तथा पाँच कम्पनीलाई विभागले माग गरेको विवरण नबुझाएको कारण कारबाही गरिएको हो ।
विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुन र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ ।
वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वदेशको विमानस्थल प्रयोग गरेर पठाउनुपर्ने व्यवस्था छ । विदेशको विमानस्थल प्रयोग गर्नुपर्ने भएमा विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ । कतिपय म्यानपावरले भारतीय विमानस्थल हुँदै श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आएपछि विभागले २०८३ असार २६ गते एक सूचना जारी गर्र्दै कुन विमानस्थल प्रयोग गरेर पठाएको त्यसको विवरण पठाउन निर्देशन जारी गरेको थियो ।
प्रतिक्रिया 4