News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण आएको बाढीले जलस्तर बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
- मोदीखोलामा पानीको बहाव अत्यधिक बढेपछि मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी गरी चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन् ।
- प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले खोला किनारमा काठदाउरा निकाल्न वा माछा मार्न नजान आग्रह गर्दै सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको छ ।
२८ असार, पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो ।
बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पुर्याएको छ । मोदीखोलामा दिउँसो ३:०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए ।
उनले खोला किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजानसमेत आग्रह गरे ।
यसैगरी मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । खोलामा अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् । मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका हुन् ।
विद्युत् गृहमा बाढीसहित ढुङ्गा, बालुवालगायत वस्तु पसेर यहाँ रहेका उपकरणहरू बिग्रिने खतराले उत्पादन बन्द गरिएको तल्लो मोदी जलविद्युत् आयोजना जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेले जानकारी दिए ।
मोदीखोलाका पर्वत खण्डमा सुरक्षा सावधानीका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । रासस
प्रतिक्रिया 4