News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार चार घण्टा लामो समसामयिक राजनीति र सरकारका विविध विषयमा छलफल भएको छ।
- सभापति लामिछानेले सुकुमवासी समस्या, अर्थमन्त्री वाग्लेसँगको सम्बन्ध, महामन्त्री चयन, सामाजिक असन्तुष्टि र भूराजनीतिक विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
- प्रधानमन्त्री शाहले सरकारको काम कारबाहीबारे भ्रम फैलाउने र पार्टीभित्रैबाट हुने नियोजित विरोधप्रति सचेत रहन रास्वपा नेतृत्वलाई आग्रह गरेका छन्।
२८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह लामा बैठकहरूमा सकभर बस्न खोज्दैनन् । तर रास्वपा सभापति रवि लामिछानेसँग आइतबार उनको चार घन्टा लगातार छलफल चल्यो ।
रास्वपा उच्च स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनसँग सभापति लामिछानेले पाँचवटा चासो राखे ।
एकः सुकुमवासी समस्या समयसीमामा सहज बन्नुपर्नेमा किन थप गिजोलियो ? अब सरकारसँग के योजना छ ?
दुईः अर्थमन्त्री स्वर्णिम वाग्लेसँग के विषयमा कुरा नमिलेको हो प्रधानमन्त्रीको ? पार्टी नेतृत्वसँग वाग्लेले असन्तुष्टि राखिरहेका छन्, जसबारे मैले नै प्रधानमन्त्रीसँगै कुरा गर्न भनेको छु ।
तीन: महामन्त्रीमा भूपदेव शाहलाई सिफारिस गर्न अहिले किन समस्या परेको हो ? किन उनीसहित अरूको नाम बालेन निकटबाट आउन सकिरहेको छैन ?
चार: आम आक्रोश सामाजिक सञ्जालबाट सडकतर्फ लतारिँदैछ । यसलाई कसरी सम्बोधन र व्यवस्थापन गर्ने सोच्नुभएको छ ?
पाँच: दलाई लामासँग जोडेर अनावश्यक प्रचारबाजी भयो । यसलाई कसरी हल गर्ने ?
पार्टी उच्च स्रोतले आइतबार साँझ दिएको जानकारी अनुसार, प्रधानमन्त्री बालेनले सुकुमवासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति, अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताएका थिए । उनले समाधान गर्न बाँकी सुकुम्बासीबाट सुचीकरण लगायत काममा जतिसक्दो छिटो समन्वयमा सहयोग हुन्छ त्यति नै छिटो सरकारले प्रक्रिया अघि बढाउने भन्दै अलमलमा नपर्न आग्रह गरे ।
उनले रास्वपाभित्रै यस विषयलाई लिएर मतान्तर देखिन थालेकामा उल्टै सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए । तर सभापति लामिछानेले यो राजनीतिक भन्दा बढी मानवीय विषय भएकाले ढिलासुस्ती नहोस् भन्नेमात्र मनसाय रहेको बताए ।
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उद्योगी व्यवसायी तथा निर्माण व्यवसायीसँगका पछिल्ला दुई छलफलमा लगातार छुटाएका थिए, प्रधानमन्त्री बालेनले । निजी क्षेत्रजस्तो महत्त्वपूर्ण पक्षसँग सरकारको सय दिन पुगेलगत्तै बैठक राखेका बालेनले स्वर्णिमलाई छुटाउनु आफैंमा विषय बन्न पुगेको छ, रास्वपाभित्र ।

बजेट जारी गर्ने बेला करका दर हेरफेर लगायत विषयमा वाग्लेबाट त्रुटि भएको प्रधानमन्त्री टीमको बुझाइ छ । तर वाग्लेले भने प्राविधिक समस्याको स्वाभाविक र नियमसम्मत हल खोज्न छाडेर उल्टै प्रधानमन्त्री निकट केही व्यक्तिहरू आफूलाई नंग्याउन अघि सरेको आरोप लगाउँदै सभापति लामिछानेसँग गुनासो गरेका छन् ।
सभापति लामिछानेले यही सरोकार प्रधानमन्त्रीलाई राखेका हुन् । वाग्ले अनावश्यक कार्यक्रमहरुमा गएर समय बिताउने तथा सरोकार नभएका व्यक्तिहरुसँग भेट्न थालेको भन्दै प्रधानमन्त्री कार्यालयको टिम बिच्किएको सूचना अनलाइनखबरलाई प्राप्त छ । तर वाग्लेले भने यस्ता सूचना स्वयं प्रधानमन्त्री निकटले दिइरहेको गुनासो गरिरहेका छन् ।
बालेन र स्वर्णिमबीचको मतभेदबारे रास्वपाको उच्च पंक्ति केही दिनयता नै जानकार छ । आज पनि यसबारे खुलेर कुरा भएको पार्टी स्रोतले अनलाइनखबरसँग भन्यो ।
तेस्रो विषय हो, भूपदेव शाहको ।
बालेनसँग विगतमा महानगरमा निकट भएर काम गरेका भूपदेवलाई नयाँ निर्वाचित कार्यसमितिमा महामन्त्रीमा मनोनीत गर्ने पूर्वयोजना थियो । बालेन निकट कुमार बेन लगायतले महाधिवेशनमा भूपदेवको भूमिकामाथि प्रश्न उठाएका छन् ।
भूपदेवले महाधिवेशनमा आफ्नो समूहको रुचीका पात्र नबोकेर विपिन आचार्यलाई महामन्त्रीमा सघाएको विषयले पार्टीपंक्ति पूरै तरंगित छ । भूपदेवले भने विपिन महामन्त्री नबनेको भए आफू समेत महामन्त्री बन्न नसकिने पक्का देखेर स्वाभाविक रुपमा विपिनलाई सघाएको, त्यसभन्दा अरू कुनै स्वार्थ नरहेको प्रष्टीकरण दिएका छन् । सभापति लामिछाने भूपदेवसँग सहमत देखिए पनि स्वयं बालेन टिम आश्वस्त बन्न सकेको छैन ।
बैठक स्रोत भन्छ, ‘यसबारेमा आज पनि कुरा भयो । सम्भवतः केही दिनमा परिणाम देखिन्छ होला । तर सभापतिजी जति खुला भएर छलफल गर्नुहुन्छ, अरूमा पनि त्यस्तै खुलापन आइदियो भने निर्णयमा पुग्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’
प्रधानमन्त्री बालेनले भने आफूलाई पार्टीको आन्तरिक मामिलामा धेरै नतान्न आग्रह गरेको बुझिएको छ । मनोनीत गर्ने अनुहारहरूबारे छिट्टै निर्णयमा पुग्न दुई नेता समझदारी गरेका छन् ।
तर बालेन निकटहरु भने भूपदेवसँग अनावश्यक इगो राखेर उनलाई महामन्त्री त के, केन्द्रीय सदस्य समेत बनाउन नहुने मत राखिरहेका छन् ।
रविको चौथो बुँदा: सामाजिक सञ्जालमा देखिन थालेको असन्तोष विस्तारै सडकमा गएकोतर्फ सभापति लामिछानेले चासो राख्दै तत्काल सम्बोधन थाल्न आग्रह गरेका छन् । सुकुमवासीलाई राहत तथा आवासको प्याकेज, आत्मदाह लगायत घटनाहरूको शृंखलाबद्ध खबरले दिएको सकस लगायतबारे उनले भनेका थिए ।
प्रधानमन्त्री बालेनले घटनाहरू दु:खद भए पनि आफूहरूविरुद्ध नियोजित प्रचार सुरु भएकाले सचेत रहिदिन पार्टीलाई अनुरोध गरेका छन् । मिटरब्याज पीडित लगायतका गुनासा सम्बोधन गर्ने दिशामै सरकारले काम गरिरहेको भन्दै पार्टीभित्र बुझाइमा स्पष्टता हुनुपर्ने उनको भनाइ छ ।

रविको पाँचौँ सरोकार : भूराजनीतिक चासोतर्फ थियो ।
दलाई लामाको जन्मदिवस मनाउने क्रममा भएका कार्यक्रम लक्षित विभिन्न कूटनीतिक चासो, अनि नेपालस्थित एजेन्सीहरुले गरेका सोधपुछ लगायत विषय काबुभन्दा बाहिर जान खोजेको भन्दै सभापति रविले सरकारलाई संवेदनशील बन्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, रास्वपाका एक वरिष्ठ नेता शिशिर खनालले सम्हालिरहेको मन्त्रालयले गरेका काम सकारात्मक नै रहेकाले यसमा सरकारको आधिकारिक अडानबारे कसैले पनि आशंका गर्नुपर्ने अवस्था नहेको तर्क गरेका थिए, बालेनले ।
लामिछानेसँग प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारको फरक नीति हुन सक्दैन, चीनको चासोबारे हामीले स्पष्ट पारिसकेका छौं । शंका गर्नुपर्ने केही छैन । विगतमा जे छ, त्यही हो । तर जानीजानी भ्रम फैलाउने, सामूहिक वक्तव्यबाजी सुरु भएको छ । कसको लागि यो गरिँदैछ, स्पष्ट भएन ।’
बालेनले रविलाई आश्वस्त पार्न खोज्दै मूख्यतः तीनवटा सरोकार राखेका थिए ।
बालेनको पहिलो सरोकार : विगतमा सभापति लामिछाने निकट भनेर चिनिएका सांसद तथा नेताहरूले सरकारका क्रियाकलापविरुद्ध नियोजित ढंगले बोल्न, लेख्न थाले ।
केही सांसदहरूको नामै लिएर बालेनले उनीहरूमाथि अनुशासनको कारबाही गरिनुपर्ने मागसमेत रविसँग राखेका छन् ।
रविले कुनै योजनाबेगर त्यस्ता अभिव्यक्ति आएको भन्दै थुमथुम्याउन खोजे । उनले कतिपय विषयलाई सामान्य मान्न आग्रह गरे । गम्भीर खालका टिप्प्णी उपर भने कारबाही चलाउन समस्या नहुने रविको भनाइ थियो ।
बालेनको दोस्रो सरोकार : संसद्मा म नियमित नगए पनि सरकार त्यहीँ हुन्छ, प्रधानमन्त्रीलाई खोज्न सरकार पक्षकै सांसद लाग्नुभएन ।
प्रधानममन्त्री बालेनले सरकारका मन्त्रीहरूले दिएका अभिव्यक्तिमा आफू नै भेटिने भएकाले प्रधानमन्त्री खै भन्दै रास्वपाकै सांसद अघि सर्न नहुने गुनासो गरेका थिए ।
बालेनको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘उहाँले आफ्नो कार्यशैली अनुसार संसद चल्न नसक्ने, संसद् अनुसार आफू हरेक दिन चल्न नसक्ने भन्दै एउटा चलाख मध्यमार्ग खोज्न सभापतिज्युलाई आग्रह गर्नुभयो ।’
सभापतिले यसबारे कुनै जवाफ नदिएको बताइएको छ ।
बालेनको तेस्रो सरोकार : सुशासनका कदम उठाउन खोज्दा अवरोध भयो, चिर्न सघाउनुपर्यो ।
प्रधानमन्त्रीले बाहिर जे आलोचना भए पनि आफू सुशासनको प्राथमिकताबाट दायाँबायाँ नहुने बताएका छन् । उनले विगतमा विवादित पात्रहरूले नै लोकतन्त्रको कुरा गर्दै सरकारलाई अप्ठेरोमा पार्न खोजेको, तर कानुनबमोजिम सरकारले अघि बढ्ने भन्दै पार्टीमा उत्पन्न अन्योल समाधान गर्न, तथा अरू पार्टीहरूसँग आवश्यक परे छलफल गर्न सभापति लामिछानेलाई आग्रह गरेका छन् ।
स्रोतले भन्यो, ‘त्यहाँ सबै राजनीतिक कुरामात्रै भयो भन्ने नबुझ्नुस् । उहाँहरू दुवैजना कला, संगीतको मान्छे । त्यहाँ धेरै कुरा हुन्छ । आज बिदा पनि हो । बिदामा हुने गफगाफ हाँसिठट्टा पनि हुन्छ । इस्युलाई चाहिनेभन्दा धेरै सिरियस बनाएर दिन बर्बाद गर्नु पनि हुँदैन ।’
बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए ।
प्रतिक्रिया 4