News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा यस वर्ष डेंगु संक्रमण कम देखिए पनि स्वास्थ्य विज्ञहरूले यसलाई जोखिम घटेको संकेत मान्न नहुने चेतावनी दिएका छन्।
अघिल्ला वर्षहरूको तुलनामा अहिले नेपालमा डेंगु संक्रमण कम देखिएको छ । तर यसलाई जोखिम घटेको संकेतका रूपमा लिनु गलत हुने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा पानी जम्न थालेको छ । यही पानीलामखुट्टेको प्रजननस्थल हो । यसले गर्दा आगामी केही सातादेखि संक्रमण पुनः बढ्ने जोखिम रहेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को जुन १५ सम्मको तथ्यांकअनुसार देशका ७१ जिल्लामा १०४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ । यो संख्या सन् २०२२ र २०२३ का वर्षहरूको तुलनामा कम हो । यसलाई सफलता होइन, आगामी जोखिमका लागि तयारी गर्ने अवसरका रूपमा लिनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
अहिले जोखिम कम छ, तर मुख्य जोखिमको समय आउन बाँकी छ । ईडीसीडीको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार अहिले संक्रमण कम देखिनुको मुख्य कारण स्थानीय तह, स्वास्थ्य निकाय र समुदायको सक्रियतामा सञ्चालन गरिएका सरसफाइ अभियान, पानी जम्ने स्थानको व्यवस्थापन तथा लामखुट्टेको लार्भा नष्ट गर्ने प्रयास हुन् । उनका अनुसार अहिले प्रत्येक महिना औसत १०० देखि १५० जनामा मात्रै संक्रमण देखिएको छ । तर डेंगुको वास्तविक सिजन भने अझै सुरु हुन बाँकी छ ।
नेपालमा अगस्टदेखि अक्टोबरसम्म डेंगु संक्रमण सबैभन्दा धेरै देखिने समय भएको डा. दाहालले बताए । मनसुनका कारण वर्षा बढ्दै जाँदा घरआँगन, निर्माणाधीन भवन, सडकछेउ, पुराना टायर, गमला, ड्रम, बाल्टिन, बोतल तथा अन्य सामग्रीमा पानी जम्छ । त्यहाँ एडिस लामखुट्टेले अण्डा पार्ने भएकाले केही सातामै यसको संख्या उल्लेखनीय रूपमा बढ्न सक्छ । त्यससँगै संक्रमण पनि उकालो लाग्ने सम्भावना रहन्छ।

डा. दाहालका अनुसार डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय उपचार होइन, लामखुट्टेको प्रजनन चक्र नै रोक्नु हो । त्यसका लागि घरभित्र र वरपर पानी जम्न नदिने, गमला, ट्याङ्की, ड्रम, बाल्टिन, बोतललगायतका भाँडामा नियमित पानी फेर्ने वा खाली गर्ने, सातामा कम्तीमा एक पटक पानी जम्ने स्थान सफा गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई समुदायस्तरमै निरन्तर सञ्चालन गर्नुपर्छ ।
शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टे भगाउने मलम प्रयोग गर्ने, झ्याल–ढोकामा जाली राख्ने र आवश्यक परे दिउँसो पनि झुल प्रयोग गर्ने जस्ता सावधानीले पनि संक्रमणको जोखिम घटाउन सकिने उनको सुझाव छ ।
संक्रमित संख्या कम देखिनु मात्रले जोखिम टरेको अर्थ नलाग्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार नेपालमा डेंगु अब मौसमी रोग मात्र होइन, हरेक दुई–तीन वर्षमा महामारीका रूपमा दोहोरिने गम्भीर जनस्वास्थ्य समस्या बनिसकेको छ । सन् २००४ मा पहिलो पटक नेपालमा पुष्टि भएको डेंगु त्यसयता लगातार फैलिँदै आएको छ । सुरुमा सीमित जिल्लामा देखिने संक्रमण अहिले हिमाली भेगबाहेक देशका अधिकांश जिल्लामा फैलिसकेको छ ।

डा. पुनका अनुसार नेपालले डेंगुबाट सबैभन्दा ठूलो धक्का सन् २०१९ र २०२२ मा बेहोरेको थियो । विशेषगरी सन् २०२२ मा आधिकारिक तथ्यांकअनुसार मात्रै ८८ जनाको मृत्यु भयो । तर वास्तविक संख्या त्योभन्दा धेरै हुन सक्ने उनको अनुमान छ । यही कारण डेंगुलाई सामान्य भाइरल ज्वरोका रूपमा लिन नहुने उनको भनाइ छ । पछिल्ला वर्षहरूमा संक्रमितको संख्या मात्र होइन, मृत्युदर पनि बढ्दै गएको पुन बताउँछन् ।
उनका अनुसार नेपालमा डेंगु नियन्त्रणको अर्को कमजोरी भनेको महामारी आएको बेला मात्रै सक्रिय हुने प्रवृत्ति हो । संक्रमण घटेपछि सरसफाइ अभियान, लामखुट्टे नियन्त्रण र जनचेतनामूलक कार्यक्रम पनि सुस्ताउने गरेका छन् । यही कारण प्रत्येक नयाँ प्रकोप अघिल्लोभन्दा ठूलो बन्दै गएको उनको विश्लेषण छ ।
जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र वर्षाको बदलिँदो स्वरूपले पनि डेंगु फैलाउने एडिस लामखुट्टेको विस्तारलाई थप सहज बनाएको छ । त्यसैले अहिलेको कम संक्रमणलाई उपलब्धि मानेर ढुक्क बस्ने अवस्था नरहेको उनी बताउँछन् ।
ज्वरो घट्नु नै निको हुनु होइन
अर्को चुनौती भनेको धेरै मानिसले डेंगुलाई अझै सामान्य ज्वरो ठान्नु हो । धेरै संक्रमित केही दिन ज्वरो आएपछि काममा फर्किन्छन् र अस्पताल जाँदैनन् । डा. पुन यसलाई ‘वाकिङ डेंगु’ को अवस्था भन्छन् । बिरामी सामान्य हिँडडुल गरिरहेको देखिए पनि शरीरभित्र रोग जटिल बन्दै गएको हुन सक्छ । त्यसैले ज्वरो घट्दैमा रोग निको भयो भनेर ढुक्क हुन नहुने उनको जोड छ ।
डेंगु पुष्टि भएका सबै बिरामीको अवस्था गम्भीर हुँदैन । धेरैजसो संक्रमित केही दिनको आराम, पर्याप्त झोलिलो पदार्थ र चिकित्सकको सल्लाहअनुसार उपचार गरेपछि निको हुन्छन् । तर केही बिरामीमा भने रोगले अचानक जटिल रूप लिन सक्छ । यही कारण डेंगुलाई सामान्य भाइरल ज्वरो ठानेर बेवास्ता गर्नु सबैभन्दा ठूलो भूल हुने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
उनका अनुसार डेंगु भएका करिब ८० प्रतिशत बिरामी आफैं निको हुन्छन्, तर बाँकी करिब २० प्रतिशतमा रोग गम्भीर बन्न सक्छ । समयमै पहिचान र उपचार नपाए त्यही बिरामीमध्ये केहीको मृत्यु पनि हुन सक्छ । त्यसैले अहिले सबैभन्दा आवश्यक कुरा डेंगु लाग्यो कि लागेन भन्नेभन्दा पनि कुन बिरामी जोखिममा छ भनेर समयमै चिन्ने हो ।

डा. पुनका अनुसार डेंगुबारे समाजमा रहेको सबैभन्दा ठूलो भ्रम भनेको ज्वरो घटेपछि रोग निको हुन्छ भन्ने हो । वास्तवमा डेंगुमा ज्वरो घटेको २४ देखि ४८ घण्टाभित्र नै बिरामीको अवस्था गम्भीर हुन सक्छ । यही समयमा रक्तनलीबाट प्लाज्मा चुहिन थाल्ने, प्लेटलेट घट्ने, रक्तचाप कम हुने र शरीरका महत्वपूर्ण अङ्गमा रगतको प्रवाह कम हुन सक्ने भएकाले चिकित्सकहरूले यसलाई ‘क्रिटिकल फेज’ मान्छन् । त्यसैले ज्वरो घट्दैमा औषधि बन्द गर्ने वा अस्पताल जान आवश्यक छैन भन्ने सोच अत्यन्त जोखिमपूर्ण हुन सक्छ ।
उनका अनुसार लगातार बान्ता हुनु, धेरै पेट दुख्नु, अत्यधिक कमजोरी हुनु, नाक वा गिजाबाट रगत बग्नु, दिसा वा पिसाबमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु तथा बिरामी असामान्य रूपमा सुस्त हुँदै जानु डेंगु जटिल बन्दै गएको संकेत हुन सक्छ । यस्ता लक्षण देखिए घरमै बसेर उपचार गर्ने होइन, तत्काल अस्पताल पुग्नुपर्छ । समयमै उपचार पाए धेरै बिरामीलाई बचाउन सकिने भए पनि ढिलाइ हुँदा अवस्था नियन्त्रणबाहिर जान सक्ने उनी बताउँछन् ।
डा. पुनका अनुसार डेंगुका कारण मृत्यु हुनुको मुख्य कारण भाइरस आफैं होइन, त्यसले शरीरमा ल्याउने जटिल परिवर्तन हुन् । रक्तनलीबाट प्लाज्मा चुहिएपछि रक्तचाप अत्यधिक घट्छ, शरीर ‘शक’मा पुग्न सक्छ । कलेजो, मिर्गौला, मुटु तथा मस्तिष्कजस्ता महत्वपूर्ण अङ्गले काम गर्न छाड्न सक्छन् । त्यसैले डेंगुको उपचारमा प्लेटलेटको संख्या मात्रै हेर्नेभन्दा पनि बिरामीको सम्पूर्ण अवस्था मूल्यांकन गर्नु आवश्यक हुन्छ ।
उनका अनुसार सबैभन्दा बढी जोखिम ज्येष्ठ नागरिक, गर्भवती महिला, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला वा अन्य दीर्घरोग भएका व्यक्तिमा हुन्छ । यस्ता व्यक्तिमा सामान्य ज्वरो देखिए पनि डेंगुको परीक्षण र चिकित्सकीय निगरानी आवश्यक हुन सक्छ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा पनि विशेष सतर्कता अपनाउनुपर्ने उनी बताउँछन् ।

डेंगु भाइरसबाट हुने रोग भएकाले एन्टिबायोटिकले यसको उपचार नगरिने डा. पुन बताउँछन् । बजारमा पाइने धेरै दुखाइ कम गर्ने औषधि, विशेषगरी आइबुप्रोफेन, डाइक्लोफेनाक वा एस्पिरिनजस्ता औषधिले रक्तस्रावको जोखिम बढाउन सक्छन् । त्यसैले चिकित्सकको सल्लाहबिना यस्ता औषधि सेवन गर्नु हुँदैन । पर्याप्त आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ पिउने र चिकित्सकले सिफारिस गरेको औषधि मात्र प्रयोग गर्नु नै सुरक्षित उपाय हो ।
उनले अर्को महत्वपूर्ण तथ्य पनि औँल्याउँछन् । धेरैले एकपटक डेंगु लागेपछि फेरि लाग्दैन भन्ने ठान्छन् । तर डेंगुका चारवटा फरक सेरोटाइप भएकाले एउटा प्रकारको भाइरसबाट निको भएको व्यक्तिलाई अर्को प्रकारको भाइरसले पुनः संक्रमित बनाउन सक्छ । कतिपय अवस्थामा दोस्रो संक्रमण पहिलोभन्दा अझ जटिल हुन सक्ने भएकाले डेंगु एकपटक लागिसकेको व्यक्तिले पनि उत्तिकै सावधानी अपनाउनुपर्छ।
रोकथाम नै सबैभन्दा प्रभावकारी उपचार
डेंगुविरुद्धको सबैभन्दा प्रभावकारी हतियार नै रोकथाम भएको संक्रामक रोग विशेषज्ञ डा. पुनको भनाइ छ । यसमा इडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल पनि सहमत छन् । उनका अनुसार संक्रमित बढी भएको क्षेत्रमा लामखुट्टेको संख्या पनि बढी हुने भएकाले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
डेंगु सार्ने एडिस लामखुट्टे राति मात्र होइन, बिहान र दिउँसो पनि सक्रिय हुन्छ । त्यसैले व्यक्तिगत सावधानी र समुदायस्तरको सरसफाइ अभियान सँगसँगै अघि बढे मात्र डेंगुको जोखिम घटाउन सकिने उनको भनाइ छ ।
यस वर्ष हालसम्म संक्रमित संख्या विगतका महामारी वर्षको तुलनामा कम देखिए पनि स्वास्थ्य विज्ञहरू ढुक्क हुने पक्षमा छैनन् । उनीहरूका अनुसार अहिलेको अवस्था सफलताको अन्तिम परिणाम होइन, आगामी सिजनका लागि चेतावनी हो ।
यदि स्थानीय तह, स्वास्थ्य निकाय र नागरिकले अहिले नै लामखुट्टे नियन्त्रण, पानी जम्न नदिने अभियान र जनचेतनालाई निरन्तरता दिए विगतजस्तो ठूलो महामारी दोहोरिनबाट धेरै हदसम्म बच्न सकिन्छ । तर अहिलेको अवस्थालाई सामान्य ठानेर बेवास्ता गरियो भने मनसुनको मध्य र अन्त्यतिर डेंगुले फेरि उस्तै चुनौती खडा गर्न सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनी छ ।
प्रतिक्रिया 4