News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डमा आयोजित ग्लोबल डान्स लिग २०२६ मा नेपाली टोलीले तीन स्वर्ण र एक रजत पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।
- एनडिए जुनियरले जुनियर मेघा क्रु र टिन्स विधामा दुई स्वर्ण तथा टिम एनटीले लोक विधामा एक स्वर्ण पदक प्राप्त गरेका छन् ।
- प्रतियोगितामा नेपाली नृत्य निर्देशक जेडी तमूसहित अन्तर्राष्ट्रिय निर्णायकहरूले प्रतिस्पर्धीको प्रस्तुतिको मूल्यांकन गरेका थिए ।
काठमाडौं । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पारेको छ ।
फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जितेको हो ।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगितामा ’एनडिए जुनियर’ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुईवटा स्वर्ण पदक चुमेको बताए ।
जुनियर क्रु विधामा दोस्रो हुँदै सोही समूहले नेपाललाई रजत पदक पनि दिलायो । त्यस्तै, ‘टिम एनटी’ले लोक विधामा दमदार प्रस्तुति दिँदै अर्को स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भयो । खुला विधातर्फ भने नेपाल चौथो स्थानमा रह्यो ।

हलभित्र नेपालको राष्ट्रिय गान गुञ्जिँदा र राष्ट्रिय झन्डा फहराउँदा उपस्थित नेपाली प्रतिनिधिमण्डलको छाती गर्वले ढक्क फुलेको प्रतियोगिता हेर्न पुगेकी अभिनेत्री परीक्षा लिम्बुले बताइन् । उनका अनुसार विश्वभरबाट आएका कला पारखीले नेपाली डान्सरको खुलेर तारिफ गरेका थिए ।
हालै नेपालमा सम्पन्न ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर नेपाली टोली थाइल्यान्ड पुगेको हो । बुधबार साँझबाट सुरु भएको लिगमा विश्वभरका सयौँ उत्कृष्ट डान्सर, प्रशिक्षक तथा कोरियोग्राफरको जमघट थियो ।
यसपटकको लिग नेपाली नृत्य क्षेत्रका लागि अर्को कारणले पनि विशेष बन्यो । नेपालका चर्चित नृत्य निर्देशक जेडी तमू प्रतियोगितामा निर्णायकको भूमिकामा थिए ।
जेडीसँगै प्रख्यात अमेरिकी पपस्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’की कोरियोग्राफर तथा न्यूजिल्यान्डकी डान्सर काया पियर्सले पनि प्रतिस्पर्धीको मूल्यांकन गरेकी थिइन् ।
प्रतिक्रिया 4