+
+
Shares

भीपी अग्रवाल फाउन्डेसनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयका उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ।
  • फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले शिक्षाको ज्योति छर्न अहोरात्र खटिने शिक्षकलाई प्रोत्साहन गर्न उक्त पुरस्कार वितरणको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
  • पुरस्कार छनोट समितिका संयोजक केदार बहादुर अधिकारीले पारदर्शी मापदण्ड अपनाएर देशभरका सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक छनोट गरिएको जानकारी दिनुभयो।

४ साउन, काठमाडौं । शिक्षासेवी, अध्यता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा. भीपी. अग्रवालको नाममा स्थापना भीपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार र सम्मान गरेको छ ।

फाउन्डेसनले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषयमा अध्यापन गराउने देशभरका सामुदायिक विद्यालयका शिक्षकमध्येबाट छनोट गरी उत्कृष्ट ५ जनालाई पुस्कृत गरेको हो ।

पुरस्कृत हुने शिक्षकहरूमा नेपाली विषयमा काठमाडौंको कीर्तिपुरमा रहेको मंगल माविका शिक्षिका अन्जना महर्जन, अंग्रेजी विषयमा सोही विद्यालयकी शिक्षिका शर्मिला प्रधान, गणित विषयमा नारायणी नमुना मावि भरतपुर चितवनका राजकुमार कँडेल, सामाजिक अध्ययन विषयमा काठमाडौंको टुसालमा रहेको श्रम राष्ट्रिय माविका प्रकाश आचार्य र विज्ञान विषयमा सोही माविका मकुन्दप्रसाद काफ्ले रहेका छन् ।

पुरस्कृत शिक्षककहरूलाई फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवाल तथा उपाध्यक्ष समेत रहेकी प्रा.डा. अग्रवालकी श्रीमती ललिता अग्रवाललगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले स्वर्गीय प्रा.डा विश्वनाथ प्रसाद (भीपी) अग्रवालले शिक्षामा सुधार नभइ देशको विकास र व्यक्तिको जीवनस्तर सहज नहुने बताउने गरेकोले उनको सम्झनामा फाउन्डेसन स्थापना गरी शिक्षाको ज्योति छर्न अहोरात्र खटिने उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको बताए ।

‘भीपी अग्रवाल मानव जातिको पहिलो रोजाइ शिक्षा हुनुपर्छ भन्नुहुन्थ्यो, आफन्त, चिनेजानेका, नातेदार, छिमेकी मात्रै होइन, दुःखी र गरिबलाई पनि आफूले सकेसम्म सहयोग गरेर पढाउने गर्नुहुन्थ्यो’ उनले भने ‘घरमै ल्याएर पनि धेरै जनालाई पढाउनु भएको छ, शिक्षा प्राप्त गरेको मानिसले मात्रै जीवनमा राम्रो प्रगति गर्न सक्छ, धेरै उपलब्धी हासिल गर्न सक्छ ।’

अध्यक्ष अग्रवालले शिक्षकलाई पुरस्कृत र सम्मान गर्ने कार्यलाई फाउन्डेसनले निरन्तरता दिने पनि बताए । शिक्षक पुरस्कृत गर्नको लागि फाउन्डेसनले देशभरबाट आवेदन आह्वान गरेको थियो ।

यसरी प्राप्त भएका आवेदनबाट फाउन्डेसनले तयार पारेको मापदण्डका आधारमा शिक्षक छनोट गरी पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक केदार बहादुर अधिकारीले बताए । अधिकारी नेपाल सरकारका अवकाशप्राप्त सचिव हुन् । उनले सार्वजनिक सुचना प्रकाशन गरिएको, छनोट प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै मापदण्ड बनाइएको, शिक्षकहरूले पठाएको मापदण्डमा विद्यार्थी पासको संख्या लगायतका विषयमा शिक्षा विभागसँग संपरीक्षण गरिएको र निस्पक्षता कायम गर्न सबै उपाय अपनाइएको बताए ।

फाउन्डेसनका महसचिव मनोज अग्रवालले विज्ञान र समाजवीचको पुललाई अझ प्रगाढ बनाउन प्रतिष्ठान स्थापना गरी शिक्षकलाई पुरस्कार र सम्मान गर्न सुरु गरिएको बताए।

पुरस्कृत शिक्षकहरुको तर्फबाट बोल्दै शिक्षिका अन्जना महर्जनले पुरस्कारले आफूलाई जिम्मेवारीवोधमा अझ गम्भीर बनाएको र फाउन्डेसनले आफूमार्फत सम्पूर्ण शिक्षकको सम्मान गरिएको अर्थमा आफूले बुझेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?