News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी २९ साउनमा राष्ट्रिय भेला गर्ने घोषणा गर्दै पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई सार्वजनिक प्रतिस्पर्धामा रूपान्तरण गरेको छ ।
- बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी नेताहरूले सभापति गगन थापाको कार्यशैलीप्रति कडा असन्तुष्टि पोख्दै नेतृत्वलाई चुनौती दिएका छन् ।
- पूर्वउपसभापति पूर्णबहादुर खड्कासहितका संस्थापन इतर समूहका नेताहरूले पार्टी एकताका लागि नेतृत्वले पहल नगरे आफूहरू सक्रिय भएर अघि बढ्ने चेतावनी दिएका छन् ।
६ साउन, काठमाडौं । बीपी कोइराला मेलमिलाप भन्थे, उनैको ४४ औं स्मृति दिवसका दिन कांग्रेस संस्थापन इतर पक्षले सम्भावित विभाजनको बाटो तय गरेको छ ।
विगतमा पूर्वसभापति शेरबहादुर देउवा शक्तिमा छँदा उनको निकट रहँदै आएको समूहले २९ साउनमा राष्ट्रिय भेला गर्ने भएको हो ।
देउवा निकट रहेको संस्थापन इतर समूहले गरेको यो मिति घोषणाले कांग्रेसभित्रको शक्ति संघर्ष अब बन्द कोठाको छलफलभन्दा बाहिर सार्वजनिक राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरेको प्रष्ट भएको छ ।
यसमा विगतमा देउवासँग प्रतिष्पर्धामा रहेका नेता शेखर कोइरालासमेत सामेल हुनेछन् ।
पार्टी सभापति गगन थापाले राजधानीमा ‘ग्रीन रन’ नामक दौडपछि अर्थपूर्ण वाक्य बोलेका थिए– ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउँदैछ, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष ।’ यद्यपि पार्टीभित्रको सत्तामा बसेका थापाले देउवा पक्षसँग सम्झौता गर्ने कुनै सम्भावना नरहेको समेत प्रष्ट गर्दै आफू ब्रेकबेगर नै अघि बढ्ने बाटो समाएको छनक दिएका छन् ।
बीपीको सम्झना गर्दै सभापति थापा लगायत नेताहरु जलवायु परिवर्तनको नारामा दौडिएकै दिउँसो इतर पक्षले स्मृति दिवस कार्यक्रम गरेको थियो । त्यसको सभापतित्व गरेका नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका थिए ।
भेलाको मिति घोषणा पार्टी विभाजनको औपचारिक घोषणा नभएपनि पार्टी फुटको थप नयाँ चरणमा प्रवेश गरेको विश्लेषण कांग्रेस वृत्तमा भइरहेको छ । तर विशेष महाधिवेशनमा सहभागी नरहेको समूहसँग झिनो संख्यामा कार्यकर्ता र समर्थक पंक्ति रहेको भन्दै तरंगित नहुन संस्थापन पक्षले कार्यकर्तामा अपिल गरिरहेको छ ।
राजनीतिक, वैधानिक र नैतिक तीनै शक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्षका नेताहरुले २९ साउनको भेलाको अर्थ नहुने दाबी गरेका छन् ।
बीपी कोइरालाको स्मृति दिवसलाई राष्ट्रिय राजनीतिक सन्देश दिने माध्यम बनाएको इतर समूहको पछिल्लो कदमले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको संकेत दिएको छ ।
बीपी स्मृति दिवसमा आयोजित कार्यक्रममा पूर्वउपसभापति पूर्णबहादुर खड्कादेखि सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरसम्मका नेताहरू एउटै मञ्चमा उभिए ।
फरक–फरक नेताले फरक शब्द प्रयोग गरेपनि उनीहरूको मुख्य सन्देश नेतृत्वप्रति असन्तुष्टि र इतर समूह संगठित रूपमा अघि बढ्ने संकेत थियो ।

कार्यक्रममा पूर्वकार्यवाहक सभापति खड्काले सभापति गगनकुमार थापाले नचाहेसम्म पार्टी एक हुननसक्ने बताए । सभापति थापासहितका नेताहरूको ध्यान पार्टी मिलाउनेतर्फ नगएको भन्दै उनले आपत्ति जनाए ।
खड्काले सभापति थापालाई पार्टी एकताका लागि पहल नभए आफूहरू निष्कृय भएर नबस्ने पनि प्रष्ट्याए । ‘कोही पनि निस्क्रृय बस्नेवाला छैनौं । हामी युवालाई अघि सारेर युवाहरूको रक्षाकवच भएर हिँड्न तयार छौं । कहीँ पनि भ्रम नहोस्,’ उनले भने ।
संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका नेता खड्काले सम्मानमा सम्झौता नगरिने पनि जिकिर गरे । ‘सम्मानका लागि पञ्चायतमा पनि लडियो । बरु मर्न तयार भइन्छ, सम्मानमा सम्झौता गर्न सक्दैनौं,’ उनले भने ।
खड्काले पार्टी एकताका लागि जोड दिँदा ‘बार्गेनिङ’को ट्याग लगाइएको भन्दै आपत्ति जनाए । ‘हामी विशेषलाई स्वीकार्न तयार । गगनजी नेतृत्वलाई पूर्णता दिन १४ औंको केन्द्रीय समितिलाई मिलाएर पूर्णता दिनुस्, हामीलाई जोड्नुस् भन्दा बार्गेनिङ हुन्छ ?,’ उनले प्रश्न गरे ।
यद्यपि अहिले विशेष महाधिवेशन सकारेका उनै खड्काले विशेष महाधिवेशन आयोजना गरेकामा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाहीको लागि ढोका खोलेका थिए । तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रबाट निस्काशित समेत गरेका थिए ।
नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शासन जन्मिएको टिप्पणी गरे । ‘नेपाली कांग्रेस पनि कताकता हुकुमी शासनको तरिकाले चलिराखेको मैले महशुस गरिराखेको छ,’ उनले भने ।
नेतृत्वले वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अद्यावधिकको काम नगरेको निहुँमा कारबाही गरिएको कोइरालाले बताए । ‘निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको जन्म भएको हो,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र निरंकुशता जन्म भइरहेको छ । त्यसको अन्त्य हामीले गर्न जरुरी छ ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले साउन अन्तिममा हुने राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताए । ‘यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले एउटा भेला हुन्छ भनेका छौं,’ उनले भने, ‘ त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय हुन्छ । के हो नयाँ कार्यदिशा भन्ने सबैले बुझ्छन् ।’
सिटौलाले सभापति थापालाई कपट नराखी एकताको पहल गर्न पनि आग्रह गरे । ‘तपाईं साहसी बन्नुस्, अकपट बन्नुस् । खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्,’ उनले सभापति थापाको नामै लिएर भने ।
पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेस ‘प्रजातान्त्रिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’मा जानु भनेको पश्चगमन भएको आरोप लगाए । बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नेपाली राजनीतिको चीरकालीक दर्शन रहेको उनको भनाइ थियो ।
गगन थापाले पाँच वर्षअघिको महाधिवेशनमा महामन्त्री लड्दै गर्दा सामाजिक लोकतन्त्रको सैद्धान्तिक व्याख्या गरेका थिए । थापाले अघि सारेको व्याख्यासँग लगभग सहमत हुँदै रास्वपाले यति बेला सामाजिक लोकतन्त्रको दस्तावेज चितवन महाधिवेशनबाट पास गराएको छ ।

कांग्रेस बीपीको विचारप्रति प्रतिबद्ध हुने हो भने प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध हुनै पर्ने निधिले जिकिर गरे । ‘प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता कायम रहेन, प्रजातान्त्रिक समाजवादको सट्टा सामाजिक लोकतन्त्र एडप्ट गर्नु भनेको यो गर्व को कुरा होइन,’ उनले भने, ‘प्रतिगमन हो, पश्चगमन हो । म आरोप लगाउँछु, यसमा बहस होस् म चाहन्छु ।’
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिए ।
उनले लोकतन्त्रका मूल्यमान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सही दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरू परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता रहेको समेत उल्लेख गरे ।
‘यो अवसरमा लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर बनाउने तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्नु हुँदैन,’ कोइरालाले भने ।
पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति थापासँग कांग्रेसको आत्मा नभएको टिप्पणी गरे । ‘कांग्रेस यहाँ छ, कांग्रेसको भावना यहाँ छ, कांग्रेसको आत्मा यहाँ छ,’ उनले भने, ‘कांग्रेसमा त्याग, बलिदान गरेका नेताहरू तपाईंभन्दा बाहिर छन् गगनकुमार थापा जी ।’
सभापति थापा आफ्नो पुत्रसमान भएको बताउँदै उनले देखाएको राजनीतिक संस्कारमा गच्छदारले प्रश्न उठाए । ‘उहाँ मेरो पुत्रसमान हुनुहुन्छ, छोरा उमेरको मान्छेलाई पुत्रसमान भन्न नपाउने ? कस्तो संस्कार आएको ? कस्तो राजनीति आएको नेपालमा ?,’ उनले भने ।
नेता डा. प्रकाशशरण महतले पार्टी सभापति थापालाई एक्लै चलाउने रोग लागेको टिप्पणी गरे । गिरिजाप्रसाद कोइरालाले समेत सबैसँग सल्लाह गर्ने गरेको उनले स्मरण गरे ।
‘गिरिजाबाबुले समेत सोध्नुहुन्थ्यो, मलाई यस्तो लागेको छ, के गर्ने हो तिमीहरू भन भन्नुहुन्थ्यो । तर, आज सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ,’ महतले भने, ‘देशको प्रधानमन्त्री एक्लै चलाउन चाहनुहुन्छ, सत्ताधारी पार्टीको नेता एक्लै चलाउन चाहनुहुन्छ । प्राविधिक रुपमा विशेष महाधिवेशनबाट नेतृत्वमा आउनुभएको नेता गगनजी हुनुहुन्छ, उहाँलाई पनि एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ ।’

पार्टीको विचार र सिद्धान्त त्यस्तो नभएको उनको भनाइ थियो । ‘नेपाली कांग्रेसको विचार यस्तो होइन । नेपाली कांग्रेसको विधि सबैलाई जोडेर अघि बढ्छ । त्यो विचार हो नेपाली कांग्रेस,’ महतले भने ।
कार्यक्रममा एनपी साउदले अहिले पार्टी स्पष्ट नभएको भन्दै विभाजित अवस्थामा रहेको बताए । उनले कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागीहरू दास र लास नभएको टिप्पणी गरे ।
‘आज ८० प्रतिशत मान्छे जेल गएको, दु:ख पाएको, पार्टीको लाठी खाएको, पार्टीका लागि भविष्यका लागि पनि संघर्ष गर्ने साथीहरू यहाँ उपस्थित हुनुहुन्छ,’ नेता साउदले भने, ‘त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्वमा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन् । यी भरोसा र विश्वास हुन् ।’
नेता मोहनबहादुर बस्नेतले आजै राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताए । अब एकताको कुरा गरेर नहुने उनको भनाइ थियो ।
‘उहाँहरू भदौ २ बाट वडा अधिवेशनमा लाग्ने रे । हामी एकता–एकता भनेर बसेर काम छैन,’ बस्नेतले भने, ‘अब ठ्याक्क आज घोषणा गर्ने, अनि पार्टी बनाउने । देशभरि मनपरि भातृ संगठन बनेको छ, भटाभट समानान्तर संगठन हान्ने । महिला, विद्यार्थी सबैलाई अघि बढाउने ।’
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी एकताका लागि अझै पनि आफूहरू लचक भएको भन्दै यसलाई सामान्य तरिकाले नबुझ्न चुनौती दिए ।
पार्टी संस्थापन पक्षले एकताको कुरा गरेपनि एकताका लागि अघि बढ्ने गरी कुनै सम्झौता नगरेको भन्दै उनले आपत्ति जनाए । आफूहरूलाई नजरअन्दाज गरिए पाइला नरोकिने बलायरको भनाइ थियो ।
‘यदि हामीलाई नजरअन्दाज गर्नुभयो, म चुनौतीका साथ भन्छु, अझै पनि हामी लक्ष्मणरेखाको भित्रै छौं । तोडिसकेका छैनौं, झलकमात्रै हो यो । टेलर मात्रै हो यो,’ बलायरले भने, ‘यदी हामीलाई बाध्य बनाउन थाल्नुभयो भने समय टाढा छैन । शुभ मुहुर्त सुरु भएको छ । आज बीपीलाई सम्झँदैगर्दा हामीले पाइला निकालेका छौं । यी पाइला रोकिने छैन ।’
प्रतिक्रिया 4