+
+
Shares

बर्डफ्लुु सङ्क्रमण नियन्त्रणतर्फ

पछिल्लो समय बर्डफ्लुु नियन्त्रण हुँदैगएको व्यवसायीहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते २१:१९

८ साउन, चितवन । पछिल्लो समय बर्डफ्लुु नियन्त्रण हुँदैगएको व्यवसायीहरूले बताएका छन् । बर्डफ्लुको सङ्क्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा हुँदा सङ्क्रमण नियन्त्रण हुँदैगएको व्यवसायीले बताएका हुन् ।

सङ्क्रमण नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाइएकाले बढी क्षति हुननपाएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए । उनका अनुसार कुखुरापालक सङ्घ र नेपाल ह्याचरी उद्योग सङ्घ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित रूपमा धन्यवाद ज्ञापन गरेको छ ।

‘सबै कर्मचारीको समूह अहोरात्र खटिएर बर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ जानुका साथै आमसमुदायमा नकारात्मक प्रभाव नपर्ने गरी सचेतनामूलक सूचना सम्प्रेषण र सावधानी अपनाइ देशको आत्मनिर्भर व्यवसायलाई धरासयी हुनबाट जोगाउन गर्नुभएको योगदान अतुलनीय छ,’ धन्यावाद पत्रमा भनिएको छ ।

सङ्घका अध्यक्ष पोखरेलले विभागले गरेको पहल र निरन्तरको योगदानका कारण थप क्षति हुनबाट पोल्ट्री क्षेत्र जोगिएको बताए । किसान र व्यवसायीलाई सङ्कट हुँदा तत्काल सम्बोधन गर्न सकेमा कम क्षतिमा काम हुन्छ भन्ने उदाहारण अहिले सिद्ध भएको उनले बताए ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पशु सेवा विभागका महानिर्देशकसहितको समूहलाई भेट गरी बर्डफ्लु नियन्त्रणमा लिएको तदारुपता प्रति आभार व्यक्तसमेत गरेको बताए । ९९ दशमलव ९९ प्रतिशत रोग नियन्त्रण भएको जनाउँदै उनले अरु ठाउँमा सङ्क्रमण नदेखिनेमा आफूहरू विश्वस्त रहेको बताए ।

नेपालको कृषि क्षेत्रमध्ये एक मात्र आत्मनिर्भर व्यवसाय पोल्ट्री व्यवसायीकरण र आधुनिकीकरण हुँदै देशको कूल गार्हस्थ उत्पादनको करिब तीन प्रतिशत हिस्सा ओगटेको जनाउँदै सङ्घका केन्द्रीय अध्यक्ष लामिछानेले प्रत्यक्ष रूपमा पाँच लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको बताए ।

नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको भन्दै यसको संरक्षण राज्यतर्फबाट  हुनुपर्नेमा उनले जोड दिए ।

व्यवसायीहरूका अनुसार साउन १ गतेयता नेपालमा बर्डफ्लु देखिएको छैन ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार यसवर्ष नेपालभरि आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौं उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको बताए ।

महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । ५० करोड रुपैयाँ बजेट रकमान्तर भई ५२ करोड व्यवस्थापन भएकामा हालसम्म १०४ जना कृषक र फार्मको खातामा ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ राहत रकम निकासा गरिसकिएको छ ।

‘देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाहरूले तीव्र रूपमा परीक्षण अघि बढाएका छन् । सरकारको तदारुपता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो । अब थप सङ्क्रमण हुने सम्भावना कम छ’, उनले भने ।

सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन् ।

यसअघि, सङ्क्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए । चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यतासमेत आएको थियो । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?