+
+
Shares

एमालेबाट बागमतीको मुख्यमन्त्री को ?

बागमतीमा एमाले तेस्रो दल हो । कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । नेकपा-एमालेले सरकार बनाउन अर्को दलले पनि साथ दिनुपर्छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ साउन १० गते ७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ ।
  • मुख्यमन्त्रीका लागि संसदीय दलका नेता जगन्नाथ थपलिया र पूर्वमन्त्री किरण थापाले दाबेदारी प्रस्तुत गरेका छन् ।
  • सरकार गठनका लागि आवश्यक बहुमत पुर्‍याउन राप्रपा लगायतका साना दलसँग एमाले र नेकपाले संवाद अघि बढाएका छन् ।

१० साउन, हेटौंडा । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।

सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेपछि एमालेभित्र मुख्यमन्त्रीका आकांक्षी नेताहरुको दौड पनि तीव्र बनेको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको लिखित सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ ।

केन्द्रको यही सहमतिसँगै बागमतीमा नयाँ सरकार गठनको तयारी पनि अघि बढेको छ । एमालेबाट पार्टी बागमती प्रदेश संसदीय दलका नेता चितवनका जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्य मन्त्री भक्तपुरका किरण थापा मुख्यमन्त्रीका प्रमुख दाबेदारका रुपमा देखिएका छन् । दुवै नेताले पार्टी नेतृत्वसँग आफ्नो पक्षमा निर्णय गराउन आन्तरिक रुपमा लबिङ तीव्र बनाएका छन् ।

थपलिया र थापा असार अन्तिमदेखि नै काठमाडौंमा छन् । यद्यपि, मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा एमालेले औपचारिक निर्णय गरिसकेको छैन । दुवै नेताहरु अहिले नेतृत्वको निर्णय प्रतीक्षामा छन् । ‘दलका नेता थपलियाज्यु स्वभाविक मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । अहिले मुख्यमन्त्रीको रुपमा किरणजीको पनि चर्चा भइरहेको छ,’ एमालेका एक सांसदले अनलाइनखबरसँग भने ।

प्रदेशका पूर्व आर्थिक मामिला मामिला मन्त्री समेत भइसकेका थपलिया ९ साउन २०८० मा कांग्रेससँगको संयुक्त सरकार गठन हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिअनुसार उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको थियो ।

सहमति भने थपलिया र तत्काली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामासँग भएको थियो । उनले सार्वजनिक रुपमै आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आएका छन् ।

अर्का नेता थापा पनि पार्टीभित्र प्रभावशाली छविका कारण मुख्यमन्त्रीको दौडमा अगाडि देखिएका छन् । पार्टी अध्यक्ष ओलीसँग निकट सम्बन्ध रहेका थापा प्रदेशमा दुई पटक स्वास्थ्य मन्त्री भए । उनले भर्खरै सरकारबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीमा तपाईंको चर्चा भइरहेको छ नि भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘पार्टीले जे निर्णय गर्छ सोहीअनुसार अगाडि बढ्छौं ।’ थापाले मुख्यमन्त्रीमा आफ्नो पनि दाबी रहेको बताए ।

संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्थाअनुसार थपलियालाई आगामी यात्रा सहज छ भने थापालाई मुख्यमन्त्री बनाउँदा पहिला दलको नेता चयन हुनुपर्नेछ । २७ जना सांसद रहेको एमालेसँग हाल २५ जना मात्रै छन् । गत प्रतिनिसभा निर्वाचनमामा उम्मेदवार बन्न प्रदेशका पूर्वमन्त्रीहरु प्रकाश श्रेष्ठ र अमनकुमार मास्केले राजीनामा दिएपछि एमालेले प्रदेशसभामा दुई सिट गुमाएको थियो ।

बागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अवस्था बनेको हो । एमाले नेतृत्वमा सरकार गठनका लागि नेकपासहित अन्य दलको समर्थन जुटाउने गृहकार्य अघि बढिरहेको नेताहरुले बताएका छन् । नेकपा र एमालेले सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग संवाद गरिरहेको बताएका छन् ।

बागमती प्रदेशसभामा निर्वाचित ११० जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय छ । यो अंक गणितअनुसार बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

एमाले र नेकपा मिलेर (५१ सांसद) सरकार बनाउँदा २ सिट अपुग हुन्छ । एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले सरकार गठनको प्रक्रियामै बहुमत पुर्‍याउन अन्य साना दलको साथ अपरिहार्य बनेको छ । जसको लागि राप्रपा निर्णायक देखिएको हो । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकार गठनमा जटिल परिस्थति उत्पन्न भए राप्रपाले साथ दिने अनलाइनखबरलाई बताएका छन् ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?