News Summary
Generated by OK AI. Editorially reviewed.- मल किन्न भारतीय बजार पुगेका सर्लाहीका दुई नेपाली किसान पक्राउ परेको २६ दिनसम्म पनि जेलमै रहेका छन् ।
- असार १७ गते पक्राउ परेका सुरेशप्रसाद र नागेन्द्रप्रसाद सिंहको रिहाइका लागि अदालतमा परेको निवेदनको सुनुवाइ १५ साउनमा हुँदैछ ।
- स्वदेशमा सहज रूपमा मल नपाउँदा किसानहरू भारतीय बजार जान बाध्य भएको भन्दै मानवअधिकारकर्मीहरूले सरकारलाई तत्काल पहल गर्न आग्रह गरेका छन् ।
१० साउन, काठमाडौं । मल किन्न भारतीय बजार पुगेका दुई नेपाली थुनिएको २६ दिन भइसकेको छ । असार १७ गते पक्राउ परेका बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह अझै छुटेका छैनन् । उनीहरूलाई असार १८ गते जेल चलान गरिएको थियो ।
भारतको सीतामढी जिल्लाको सोनबरसाबाट खेतमा हाल्ने डिएपी र युरिया मल सहित पक्राउ परेका उनीहरू एक हप्ता अगावै छुट्ने देखिदैन । रिहाईको माग राखेर दर्ता गत शुक्रबार अदालतमा निवेदन दर्ता भएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए ।
निवेदनमाथिको सुनुवाई ३१ जुलाई (१५ साउन)का लागि तोकिएको छ । ‘वकिलले सुनुवाईपछि रिहा हुने आश्वासन दिनु भएको छ,’ अविनाश भन्छन्, ‘बुबा र ठूलो बुबा छुट्न ३१ तारिख अर्थात् एक हप्ता अझै कुर्नुपर्ने भयो ।’
सजिलै मल किन्न नपाउँदा सीमा क्षेत्रका धेरै कृषकहरू भारतीय बजारमा निर्भर हुनु परेको अविनाश बताउँछन् । उनी भन्छन्, ‘मल यही उपलब्ध हुने हो भने कोही पनि जोखिम मोलेर सीमापारी मल्ल किन्न जाँदैन ।’
मल उपलब्ध गराउन नसके पछि भारत जान बाध्य भएका किसानलाई छुटाउन सरकारले पहल गर्नुपर्ने मानवअधिकारकर्मीहरू बताउँछन् । मधेश मानवअधिकार होमका संस्थापक रवि ठाकुर सिंहद्वयलाई छुटाउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिन्छन् ।
सरकारले मल उपलब्ध गराउन नसकेपछि प्रशासनले सीमा नाकामा अलि खुकुलो गर्ने संकेत गरेकाले किसानहरू ढुक्क भएर भारतीय बजार पुगेको हुनसक्ने ठाकुर बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारले चाहने हो भने हाम्रा किसानहरू अनाहकमा त्यसरी थुनिएर बस्नु पर्ने थिएन । आफ्नो नागरिकको पक्षमा बोल्न सरकारले खुट्टा कमाउनु भएन ।’
प्रतिक्रिया 4