१० साउन, काभ्रेपलाञ्चोक । अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे ३ का २६ वर्षीय सुनिल डुम्जन छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाइ विभिन्न व्यक्तिहरूसँग ४८ लाखभन्दा बढी ठगी गरेका थिए ।
प्रहरीका अनुसार डुम्जनले गत चैत्र ३ मा पर्ने नगरकोट जंगलमा ५० डलरको नोट देखाइ ५ हजार डलर दिन्छु भनेर एक व्यक्तिबाट ५ लाख रुपैयाँ ठगी गरिएको, असार ५ गते बनेपा–३ मा रहेको शशीपानी जंगल क्षेत्रमा अर्को व्यक्तिबाट ५५ हजार डलर दिन्छु भनेर २३ लाख रुपैयाँ ठगी गरिएको र असार ६ गते बनेपा–१ रानीकोट जंगलमा २० हजार डलर दिन्छु भनी २० लाख रुपैयाँ ठगी गरिएको आरोप छ ।
प्रहरीका अनुसार अभियुक्तले विभिन्न मोबाइल नम्बर प्रयोग गरी योजनाबद्ध रूपमा सर्वसाधारणलाई सम्पर्क गरेर आर्थिक प्रलोभनमा पारी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको टीभीएस स्कुटर, मोबाइल फोन, सिम कार्ड, कपडा, कापी तथा नगद २३ हजार ६० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ परेका डुम्जनविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4