+
+
Shares

देवानगञ्जवासीले गृहमन्त्री खोजे, गृहमन्त्रीले पीएलाई पठाए

अनुगमनका नाममा कहिले सीमा नाका त कहिले होटल पुग्ने गृहमन्त्री संवेदनशील अवस्थामा घटनास्थल नआएको भन्दै स्थानीय असन्तुष्ट छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन १४ गते ९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार स्थानीयले समस्या समाधानका लागि गृहमन्त्रीको प्रत्यक्ष उपस्थिति र मागहरूको सम्बोधन हुनुपर्ने बताएका छन् ।
  • तर अनुगमनका नाममा कहिले सीमा नाका त कहिले होटल पुग्ने गृहमन्त्री सुधन गुरुङ संवेदनशील अवस्थामा घटनास्थल नआएर आफ्ना पीएलाई पठाएको भन्दै स्थानीय असन्तुष्ट छन् ।
  • सुनसरीको देवानगञ्जमा झण्डा विवादका कारण आइतबार रातिदेखि उत्पन्न तनाव साम्य पार्न स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

१४ साउन, विराटनगर । चोकमा राखिएको झण्डालाई लिएर सुरु भएको विवाद झडपमा परिणत भएपछि आइतबार रातिदेखि सुनसरीको देवानगञ्ज क्षेत्र तनावग्रस्त छ । गाउँ तहमा देखिएको तनाव साम्य पार्न स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हाल अप्रिय घटना भने नभए पनि दुवै पक्षबीच असन्तुष्टि र तनाव कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ । देवानगञ्जमा देखिएको तनावको प्रभाव मधेशका केही अन्य जिल्लासम्म पनि देखिएको छ ।

देवानगञ्जको अवस्था सामान्य बनाउन स्थानीयले राजनीतिक नेतृत्वको उपस्थितिको माग गरेका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार स्थानीयले गृहमन्त्री घटनास्थलमै आएर समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

देवानगञ्ज–३ का स्थानीय शिवकुमार यादवले पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री तथा प्रधानमन्त्रीको उपस्थितिको अपेक्षा रहेको बताए ।

तर, अनुगमनका नाममा कहिले सीमा नाका त कहिले होटल पुग्ने गृहमन्त्री सुधन गुरुङ संवेदनशील अवस्थामा घटनास्थल नआएको भन्दै स्थानीय असन्तुष्ट रहेको यादव बताउँछन् ।

हालसम्म गृहमन्त्री घटनास्थलमा नपुगे पनि उनले आफ्ना प्रमुख स्वकीय सचिव (पीए) जेम्स कार्कीलाई भने देवानगञ्ज पठाएका छन् । कार्कीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारश क्षेत्री पनि पुगेका छन् ।

मंगलबार बेलुका सुनसरी पुगेका उनीहरू ड्रोनसहित देवानगञ्ज क्षेत्रमा पुगेका थिए । बुधबार पनि उनीहरूको टोलीले घटनास्थलको अनुगमन गरेको थियो ।

बुधबार बेलुका बसेको सर्वपक्षीय बैठकमा कार्कीले गृहमन्त्रीको प्रतिनिधित्व गर्दै सरकारका तर्फबाट धारणा राखेका थिए । उनले गृहमन्त्री र प्रधानमन्त्री बालेन शाह घटनाप्रति गम्भीर तथा चिन्तित रहेको र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

बैठकमा गाउँपालिका अध्यक्ष मेहताले भने केन्द्रीय नेतृत्व गाउँमै आएर वास्तविक अवस्था बुझ्नुपर्ने धारणा राखे । ‘गाउँमा आएर वास्तविक अवस्था बुझ्नुपर्छ । काठमाडौंमा बसेर मात्र हुँदैन, घटनास्थलमै पुगेर कुरा गर्नुपर्छ,’ उनले भने, ‘चार दिन भइसक्यो, मन्त्रालयबाट जनताले के सुविधा पाए ? सरकारले के गर्‍यो ?’

घटना भएको समयमा गृहमन्त्रालयका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीले आफ्नो फोन नउठाएको आरोप लगाउँदै उनले असन्तुष्टि जनाए । ‘पालिका अध्यक्षले फोन गर्दा पनि प्रमुख जिल्ला अधिकारीले नउठाउने हो भने जनताले सरकारको अनुभूति कसरी गर्ने ?’ उनले प्रश्न गरे ।

उनले सरकारका प्रतिनिधिलाई घटनास्थलमै पुगेर स्थानीयसँग संवाद गर्न आग्रह गरे । त्यसक्रममा कार्कीले आफू संवाद गर्नकै लागि आएको र अब समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

सर्वपक्षीय बैठकमा अध्यक्ष मेहताले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको नि:शुल्क उपचार गर्नुपर्ने, कप्तानगञ्जमा रहेको मदरसाको उचित व्यवस्थापन गर्नुपर्ने तथा घटनामा संलग्न दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका थिए । यी माग गृहमन्त्रीले देवानगञ्जमै आएर सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

जवाफमा गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले शहीद घोषणा लगायतका माग कानुनी प्रक्रियाअनुसार अघि बढाउन सरकार तयार रहेको बताए । सबै पक्षबीच सहमति बने गृहमन्त्री पनि देवानगञ्ज आउने उनले जानकारी दिए ।

आइतबार रातिदेखि मंगलबार रातिसम्म झडप र तनावको अवस्था रहे पनि बुधबारदेखि देवानगञ्जको अवस्था तुलनात्मक रूपमा शान्त रहेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहीबार बिहानसम्म कर्फ्यु जारी रहेको र त्यसपछिको निर्णय अवस्थाको मूल्यांकनका आधारमा गरिने स्थानीय प्रशासनले जनाएको छ ।

५ बुँदे सामूहिक प्रतिबद्धता

कप्तानगञ्जमा भएको झडप र त्यसपछिको अवस्थालाई सामान्य बनाउन सर्वपक्षीय बैठकले पाँचबुँदे निर्णय गरेको छ ।

राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवालाको सहभागितामा बसेको बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

बैठकले देवानगञ्ज घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव र हुलदंगाप्रति दु:ख व्यक्त गर्दै समाजमा अराजकता र अवाञ्छित गतिविधि फैलिन नदिन सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने निर्णय गरेको छ ।

सामाजिक सञ्जालमा भ्रामक वा उत्तेजक सामग्री पोस्ट वा शेयर नगर्न तथा आधिकारिक सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

त्यसैगरी, अभिभावकलाई आफ्ना छोराछोरीलाई घरबाहिर अनावश्यक रूपमा ननिस्कन, कुनै झडप वा भिडमा सहभागी नहुन र संयमता अपनाउन आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ ।

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश कायम रहेकाले भेला, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको छ ।

जिल्लाको अवस्था सुधारोन्मुख रहे पनि पूर्ण रूपमा सामान्य भइनसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?