+
+
Shares

बढ्दो तनावप्रति साझा चिन्ता, आपसी सद्‌भाव कायम गर्न अपिल

सुनसरी, सिराहा लगायत क्षेत्रमा फैलिएको तनावप्रति चिन्ता गर्दै राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सद्भावको अपिल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते २२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी र सिराहा लगायतका क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दल तथा सामाजिक संस्थाहरूले शान्ति र सद्भाव कायम राख्न अपिल गरेका छन् ।
  • राष्ट्रपति, पूर्वराष्ट्रपति तथा पूर्वराजाले समेत विज्ञप्ति जारी गर्दै नेपालको मौलिक पहिचान र सामाजिक सहिष्णुता जोगाउन सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
  • विभिन्न राजनीतिक दलका नेताहरूले आपसी संवाद, निष्पक्ष छानबिन र सामाजिक एकतामा जोड दिँदै भ्रामक प्रचारको पछि नलाग्न आम नागरिकलाई आह्वान गरेका छन् ।

१४ साउन, काठमाडौं । सुनसरी, सिराहा लगायत क्षेत्रमा फैलिएको तनावप्रति चिन्ता गर्दै राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सद्भावको अपिल गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको रास्वपाले आपसी संवाद र सामाजिक सद्भाव जोगाउन दुई दिन अघि नै अपिल गरिसकेको छ । सभापति रवि लामिछानेले वक्तव्य जारी गरी सम्पूर्ण पार्टीपंक्तिलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गरेका हुन् ।

‘साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आम नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौ,’ वक्तव्यमा भनिएको छ ।

वक्तव्य मार्फत् आसपी सदभावको कामना गरेका सभापति लामिछानेले आज सर्वदलीय बैठक बोलाए । दलहरूसँग बढ्दो तनाव रोक्नेबारे छलफल गरको लामिछानेले लगत्तै आफ्ना सांसदहरूसँग संवाद गरे । कोशी र मधेशका रास्वपा सांसदहरूसँग संवाद गरेका लामिछानेले लगत्तै विभिन्न धार्मिक संस्थाहरूसँग छलफल गरे । प्रधानमन्त्री बालेन्द्र शाहले ढिलै भएपनि सुरक्षा परिषद्को बैठक राखे ।

सत्तारुढ रास्वपा जस्तै अरू दलहरूले पनि आपसी सद्भावको कामना गरेका छन् । नेपाली कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले भिडियो सन्देश नै जारी गरेका छन् ।

‘परिस्थिति जसरी बिग्रँदै गएको छ, तपाई, म र हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ । हामीले संयमता गुमाऔं र धैर्यता राख्न सकेनौं भने हामी सबैले यसको धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ,’ सभापति थापाको अपिल छ, ‘यो बेला अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ ।’

उपसभापति शर्माले सद्भाव कायम गर्नु सरकारको मात्र जिम्मेवारी नरहेको तर्क गरेका छन् । ‘द्वन्द्व चर्किन नदिने जिम्मेवारी सरकारको मात्र होइन, हामी सबैको हो । सबैले ऐक्यबद्धता राखौं,’ उनको आग्रह छ, ‘सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गरेका छन् । ‘जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षडयन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा एमाले र अन्य राजनीतिक पार्टिका नेता–कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनैपनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु,’ अध्यक्ष केपी शर्मा ओलीको वक्तव्यमा भनिएको छ ।

विपक्षमै रहेको नेपाली कम्युनिष्ट पार्टीले मंगलबार वक्तव्य मार्फत यस्तै सन्देश सार्वजनिक गरेको थियो । ‘संवेदनशील अवस्थामा सबै पक्षलाई थप संयमित हुन, कुनैपनि प्रकारको थप दुर्घटना र क्षति हुन नदिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न स्थानीय जनसमुदायसँग हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ,’ प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको वक्तव्यमा भनिएको थियो ।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिहीबारको सर्वदलीय बैठकमा पनि यही कुरा राखेका छन् । ‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,’ प्रचण्डले भनेका छन्, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्बाही हुनुपर्छ । सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले समाजिक सदभाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रुपमा अघि बढ्नुपर्छ ।’

मधेश केन्द्रीत दलहरुले साँझ संयुक्त वक्तव्य जारी गरी सम्पूर्ण नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन् ।

महन्थ ठाकुर, राजेन्द्र महतो, सिके राउत, समिम अन्सारी र रामकुमार शर्माले संयुक्त बक्तव्य मार्फत शान्ति र सदभावको कामना गरेका हुन् । उनीहरुले छानबीन, क्षतिपूर्ति र दोषीमाथि कार्बाहीको माग पनि राखेका छन् । जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य जारी गर्दै सद्भावको अपिल गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लगातार शान्तिको कामना गरिररहेका छन् । लगातार स्टाटस मार्फत उनले हिन्दू र मुस्लिम मिलेर बस्नुपर्ने बताइरहेका छन् । ‘नेपाली दाजुभाइ हो, सबै मिलेर बसौं है,’ उनले लेख्दै आएका छन्, ‘झगठा र अशान्ति कही कतै नहोस् ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि मंगलबारै वक्तव्य जारी गरी सदभावको अपिल गरेका हुन् । ‘राप्रपा हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रुपमा स्वीकार गर्दैन,’ लिङदेनको वक्तव्यमा भनिएको छ ।

सामाजिक सदभावको अपिल गर्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पीडितलाई न्याय, घाइतेहरुको उपचार र प्रभावित क्षेत्रहरुमा सर्वपक्षीय सम्वादको माग गरेको छ ।

पार्टीका मुख्य सचिव डा.राजु थापाले विज्ञप्ति जारी गरी स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दलहरुका अलवा राष्ट्रपति, पूर्वराष्ट्रपतिदेखि पूर्वराजासम्मले शान्तिको कामना गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदिऔंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सदभाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गरेका छन् ।

‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सूव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्दछु,’ वक्तव्यमा भनिएको छ ।

यस्तै कामना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि गरेकी छन् ।

‘वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा हरन हार्दिक अपिल गर्दछु,’ वक्तव्यमा भनिएको छ ।

दलहरुलाई सद्भाव कायम गर्न केन्द्र र प्रदेशहरुमा पहल लिन पनि आग्रह गरेकी छन् । ‘… विभिन्न राजनीतिक दलहरुले केन्द्रीय तहमा काठमाडौंमा तथा कोशी प्रदेश सरकारको पहलमा प्रदेश स्तरमा सामाजिक सदभाव कायम राख्न सम्बद्ध सबै पक्ष सक्रिय हुनुपर्ने निष्कर्ष निकालेकोमा त्यसको स्वागत गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपिल गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले अलल पार्न नहुने उनको अपिल छ ।

‘यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो । त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो,’ शाहको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सामाजिक सदभावको अपिल सहित संयुक्त बक्तव्य जारी गर्ने, सदभाव र्याली गर्ने जस्ता गतिविधि गरिरहेका छन् । सवै धर्म, दल र नागरिक अगुवाहरुले बक्तव्य जारी गरेर उत्तेजित नबन्न आग्रह गरिरहेका छन् ।

पेशागत क्षेत्र, नागरिक संगठन, धार्मिक एवं जातीय संस्थाहरुले पनि सद्भावको अपिल गरेका छन् ।

उद्योग वाणिज्य महासंघले बक्तव्य जारी गरी शान्तिको कामना गरेको छ । ‘कुनै पनि बाहनामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन,’ महासंघले भनेको छ, ‘यस प्रकारका घटनाले सामाजिक सदभाव बिथोल्नुका साथै सर्वसाधरणको दैनिक जीवनयापन, उद्योग, ब्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्याउँछ । सामाजिक सदभाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो ।’

नेपाल बार एसोसिएसनले पनि आपसी सदभावको अपिल गरेको छ । ‘पूर्व नेपाल लगायतका क्षेत्रमा शान्ति बहालीको चुनौती देखा परेकाले सबै पक्षहरुलाई संयमित भई आपसी सदभाव र सहिष्णुताका लागि सहज बातावरण निर्माण गर्न अनुरोध गर्दछौ,’ बारको वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?