News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी घटनापछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग मुलुकको पछिल्लो परिस्थिति र सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेका छन् ।
- राष्ट्रपति पौडेलले राजनीतिक दलहरूसँग समन्वय गरी संयमतापूर्वक सुनसरीको स्थितिलाई साम्य पार्न र देशभर सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहलाई विशेष आग्रह गरेका छन् ।
- प्रधानमन्त्री शाहले सुरक्षा परिषद्को बैठक डाकेर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेपछि शान्ति–सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई सुनसरी पठाउने निर्णय गरेका छन् ।
१४ साउन, काठमाडौं । सुनसरी घटनालाई पाँच दिनदेखि नजरअन्दाज गर्दे आएका प्रधानमन्त्री बालेन्द्र शाह स्थिति भड्किन थालेपछि अब सबैको साथ सहयोग खोज्न थालेका छन् ।
संसद्, राजनीतिक दल, राष्ट्रपतिदेखि प्रशासनिक संयन्त्रहरूलाई समेत बेवास्ता गर्दै आफ्नो मनमौजी शैली अपनाउँदै आएका बालेनले बिहीबार भने फरक शैली अपनाए ।
प्रधानमन्त्री भएपछि चार महिनासम्म राष्ट्रप्रमुखको रूपमा एकपटक पनि शिष्टाचार भेट गर्न नगएका उनी बिहीबार राति शीतल निवास पुगेर १५ मिनेट संवाद गरे । यसअघि शीतल निवासमा हुने शपथ लगायतका औपचारिक कार्यक्रममा मात्र पुग्ने गरेका थिए ।
रास्वपाका सभापति रवि लामिछानेले बरू विगतमा भेट्दै सत्तारुढ दलका तर्फबाट ब्रिफिङ गर्ने गरेका थिए । सुनसरी घटनापछि पनि लामिछानेले दुई दिन अघि राष्ट्रपतिलाई भेटेका थिए । तर, चुपचाप रहेका प्रधानमन्त्री बिहीबार राष्ट्रपतिले भेट्न खोजेपछि शीतल निवास गएर अहिले भइरहेको स्थितिबारे ब्रिफिङ गरेका थिए ।
नेपालको संविधान अनुसार राष्ट्रपति संवैधानिक पद हो । तर, कार्यकारीले गरेका कामहरूमा बेलाबखत शिष्टाचार रूपमा ब्रिफिङ गर्ने चलन छ । शाह प्रधानमन्त्री बनेपछि यो प्रचलन उनले तोडेका थिए । संकटको अवस्थामा सर्वत्र आलोचना भएपछि उनी राष्ट्रपतिलाई भेट्न शीतल निवासमै गए ।
उनले बिहीबार नै उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पनि टेलिफोन गरी अहिलेको परिस्थितिबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीतल निवासको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सबैलाई साथमा लिएर स्थिति साम्य पार्न अनुरोध गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका थिए ।
‘देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो’ सल्लाहकार पोखरेलले भने ।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री शाहमाथि संसद् छलेको नागरिकहरूका समस्यामा असंवेदनशील रहेको भन्दै निरन्तर आलोचना भइरहेको थियो । सुनसरीमा नागरिकको ज्यान जाने घटना हुँदा पनि उनी तीन दिन चुपचाप बसेका थिए । दुई दिन अघिसम्म उनी फेसबुक स्टाटस लेखेर मात्र घटनाकोबारेमा अपिल गरिरहेका थिए । गृहमन्त्रीसमेत आफ्ना पीएलाई फिल्डमा खटाएर सिंहदरबारमै बसिरहेका थिए ।
यता राजनीतिक दलहरूसँग पनि प्रधानमन्त्रीले कुनै संवाद गरेका थिएनन् । रास्वपा सभापतिको नेतृत्वमा सर्वदलीय बैठक भएको थियो । स्थिति साम्य पार्नका लागि कुनै पनि अग्रसरता लिएको नदेखिएको भन्दै उनको आलोचना भइरहेको थियो ।

हिजोदेखि सुनसरीको घटनाको विरोधमा मधेश प्रदेशमा समेत आगो सल्किन थालेपछि प्रधानमन्त्री शाह बिहीबार चाहिँ भिन्न रूपमा देखिए । उनले बिहानै सुरक्षा परिषद्को बैठक बोलाएर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे । त्यहाँ उनले सुनसरीको घटनामा गोली कसरी चल्यो भन्ने ब्रिफिङ लिएका छन् ।
उक्त छलफलमा समेत सुरक्षा निकायका प्रमुखहरूले यो घटनाको राजनीतिक र सामाजिक समाधान खोज्नेतर्फ पनि लाग्नुपर्ने सुझाव दिएका थिए ।
मन्त्री लगायतका अधिकारीहरू फिल्डमै जाँदा राम्रो हुने लगायतका सुझाव समेत दिएका थिए । सुरक्षा परिषद्को बैठकमा समेत राजनीतिक सक्रियताको अपेक्षा भएपछि प्रधानमन्त्रीले गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई सुनसरी पठाउने निर्णय गरेका थिए ।

अहिले दुई जना मन्त्रीहरू सुनसरी पुगिसकेका छन् ।
बिहीबार नै रास्वपाका कोशी र मधेशका सांसदहरूले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर सरकारको रवैयाबारे प्रश्न उठाएका थिए ।
उनीहरूले गृहप्रशासनको भूमिकामाथि पनि समीक्षा गर्नुपर्ने लगायतका कुरा उठाएका थिए । रास्वपा सभापति लामिछानेले मधेश केन्द्रित दलहरूसँग पनि छलफल गरेका थिए ।
यी सबै छलफलपछि पनि सभापति लामिछानेले स्थिति नियन्त्रणमा लिनका लागि तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेका थिए ।
यता प्रतिनिधिसभाको बैठकमा पनि विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सचेत गराएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त लामो सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई किन रोकेको भन्ने प्रश्न पनि गरेका थिए । कतिपय सांसदहरूले मुलुकलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका थिए ।
यी सबै पृष्ठभूमिमा प्रधानमन्त्री बालेन सर्वत्र दबाबमा पर्दैगएका थिए । उनीको नेतृत्व क्षमतामाथि पनि गम्भीर प्रश्न उठेपछि उनी अरूको साथ सहयोग खोज्दै आज फरक शैलीमा प्रस्तुत भएका हुन् ।
प्रतिक्रिया 4