News Summary
Generated by OK AI. Editorially reviewed.- नेता धवलशमशेर राणाले तराई मधेशमा भइरहेको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेका छन्।
- राणाले अनेकतामा एकता नै नेपालको विशिष्टता भएको बताउँदै आपसी द्वन्द्व र अशान्ति अन्त्य गर्न वार्ता र संवादमा जोड दिएका छन्।
- उनले तराईको सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै सरकारलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन गम्भीर ध्यानाकर्षण गराएका छन्।
१४ साउन, काठमाडौं । नेता धवलशमशेर राणाले सामाजिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेका छन् । तराई मधेशमा भइरहेको घटनाप्रति दु:ख व्यक्त गर्दै राणाले अनेकतामा एकता नै नेपालको सौन्दर्य भएको बताएका हुन् ।
‘अनेकतामा एकता, हामीबिचको सौन्दर्य हो। विविध आस्था, धर्म, संस्कृति, परम्पराबिचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको विशिष्टता हो। भौगोलिक विभिन्नता जस्तै विविध जातजाति, भाषा, भेषभूषा एवं रितिथिति नेपाल र नेपालीको मौलिकता हो,’ उनले भने, ‘यही गौरवशाली इतिहास र निरन्तरताको प्रतिफल एकतावद्ध नेपाल कहिले पराधीन भएन। बहुलता र विविधताको सम्मान गर्ने सहिष्णु मान्यताबाटै सामाजिक सद्भाव र आपसी एकता मजबुत रहँदै आयो। आजको समयमा पनि सामाजिक सहिष्णुता र सद्भावको विरासत बचाएर राख्नु हामी सबैको साझा कर्तव्य हो।’
सुनसरीको देवानगन्ज र कप्तानगन्जबाट पछिल्ला दिन सुरु भएको विवाद मधेश प्रदेशका अन्य जिल्लाहरूमा समेत फैलिएको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘आपसी द्वन्द्व र अशान्तिबिच तराई क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील बनेको छ र जनजीवन अस्तव्यस्त बनेको छ। झडप, विरोध प्रदर्शन र आगजनीका कारण जनधनको क्षति भएको छ,’ उनले भने, ‘यस संवेदनशील घडीमा पूर्ण रुपमा जिम्मेवार बनेर शान्ति सुव्यवस्था तत्काल कायम गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु। साथै, आम नागरिकको जिउधनको रक्षा गर्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग जोडदार माग गर्दछु।’
उनले वार्ता र संवादबाटै तनाव कम गर्न पनि अपिल गरेका छन् । ‘वार्ता र संवादबाट तनाव अन्त्य गर्न, शान्तिको विकल्पबाट समाधान खोज्न, र धैर्य एवं संयमताबाट आपसी सद्भावको रक्षा गर्न म सम्पूर्ण सरोकारवाला पक्षहरूलाई हार्दिक अपिल गर्दछु,’ उनले भने ।
प्रतिक्रिया 4