News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको छथर गाउँपालिका स्वास्थ्य सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनमा जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ।
- गाउँपालिकाले मातृ, बाल स्वास्थ्य, खोप, पोषण र ज्येष्ठ नागरिक सेवालाई उच्च प्राथमिकतामा राखेर सेवा विस्तार गरेको छ।
- गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले नागरिकको आधारभूत अधिकारका रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताएका छन्।
२४ साउन, तेह्रथुम । तेह्रथुममा स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा छथर गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । जिल्लाका स्थानीय तहबीच गरिएको मूल्याङ्कनमा स्वास्थ्य सेवाको प्रभावकारी प्रवाह र कार्यक्रम कार्यान्वयनतर्फ छथर गाउँपालिका उत्कृष्ट भएको हो ।
स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको पहुँच, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन, सेवा प्रवाहको प्रभावकारिता तथा स्वास्थ्य सूचकमा भएको प्रगतिलगायतका आधारमा गरिएको मूल्याङ्कनमा छथर गाउँपालिकाले जिल्लाका अन्य स्थानीय तहलाई पछि पार्दै उत्कृष्ट स्थान हासिल गरेको जनाइएको छ ।
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन गाउँपालिकाले स्वास्थ्य संस्थाको सेवा विस्तारसँगै नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । मातृ तथा बाल स्वास्थ्य, खोप, पोषण, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा लगायतका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले सबै नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । स्वास्थ्य क्षेत्रमा गरिएको निरन्तर प्रयास, स्वास्थ्यकर्मीको सक्रियता र समुदायस्तरमा सञ्चालन गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण जिल्लामै उत्कृष्ट बन्न सफल भएको उनको भनाइ छ ।
छथर गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गिरीराज खड्कालाई प्रशंसापत्र प्रदान गरेका छन । प्रशंसापत्र प्रदान गर्दै उनले स्थानीय तहबाट स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन गरिएको प्रयासको प्रशंसा गरेका थिए ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाहसँगै समुदायस्तरमा सञ्चालन हुने विभिन्न स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट कुनै पनि नागरिक वञ्चित नहोस् भन्ने उद्देश्यले आवश्यक कार्यक्रम तथा बजेटलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको शाखाले जनाएको छ । स्वास्थ्य सेवा प्रवाहमा जिल्लामै उत्कृष्ट बनेपछि गाउँपालिकाले आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर थप सुधार गर्दै नागरिकमैत्री सेवा विस्तार गर्ने जनाएको छ ।
प्रतिक्रिया 4