३१ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
उनले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको जिकिर गरे ।
‘फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्छ,’ उनले भने, ‘पार्टीका कमजोरी सुधार गर्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता हो ।’
जनताको भावना बुझेर पार्टी अघि बढ्नसके वर्तमान चुनौती सामना गर्न सकिने महासचिव पोखरेलले बताए ।
एमाले अब यथास्थितिमा चल्न नसक्ने पनि उनले बताउँदै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको धारणा व्यक्त गरे ।
कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको महासचिव पोखरेलले बताए ।
‘विशेषगरी जनमत किन वामपन्थी शक्तिबाट टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक छ । वामपन्थी आन्दोलनको वर्तमान अवस्था सुधार्न विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्नुपर्छ,’ पोखरेलले भने ।
प्रतिक्रिया 4