+
+
Shares

आनन्दप्रसाद ढुंगानाको चेतावनी- निर्दलीय व्यवस्था ल्याउन खोजे मर्न तयार छौं

‘यदि निर्दलीय व्यवस्था ल्याउन खोजेको हो भने तपाईं तयार भएर बस्नुहोस् । हामी फेरि पनि मर्नलाई तयार छौं’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १६:२६

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार जनताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रिय सभामा ‘प्रादेशिक समय’मा बोल्दै उनले सरकारको कार्यशैलीका कारण देश सरकारविहीन र अभिभावकविहीनजस्तो अवस्थामा पुगेको टिप्पणी गरे ।

सुरुमै उनले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गरे । अनि सरकार कहाँ छ भनेर प्रश्न उठाए ।

संसद्मा जनताका समस्या निरन्तर उठिरहे पनि त्यसको जवाफ दिन सरकार तयार नदेखिएको उनले आरोप लगाए । उनले भने, ‘सरकार कहाँ छ ? सरकार के गरिरहेको छ भन्न धेरै नै गाह्रो भइसक्यो ।’

सरकार जिम्मेवार बन्न नसकेको उनको आरोप छ ।

‘सरकार गैरजिम्मेवार बनेको छ । कुनै कुराको जवाफ दिइराखेको छैन’, उनले भने, ‘यहाँ विषय उठाएर केही होला जस्तो लाग्दैन । किनभने सरकार जिम्मेवारी भएन । सरकारले आफ्नो जिम्मेवारी नै बुझेन ।’

‘जनताले सरकारलाई किन चुनेर पठाएको हो ? के कारणले मन्त्री बने ? मन्त्रीले के गर्नुपर्छ ?’ भन्ने कुराको जिम्मेवारी सम्बन्धित व्यक्तिहरूले बुझ्न नसकेको उनले टिप्पणी गरे ।

‘यसले गर्दा आज देश सरकारविहीन, अभिभावकविहीन र अनाथ भएको अवस्थामा छ,’ ढुंगानाले भने ।

संसदीय अभ्यासमा आफूहरूले धेरै पटक विषय राखेको, तर मन्त्रीहरूले प्रश्नको जवाफ नदिएको गुनासो गरे ।

जवाफदेही हुनुको साटो मन्त्रीहरू गैरजिम्मेवार अभिव्यक्ति दिएर जिल्ला–जिल्ला हिँडिरहको आरोप लगाए । निर्वाचन क्षेत्रमा जनताले गरेका प्रतिबद्धता पूरा नभएको प्रश्न गर्दा गृहमन्त्रीले ‘भोट फिर्ता लेऊ’ भनेर जवाफ दिएको स्मरण गराए ।

‘जनताले केही पनि गर्नुभएन भन्दा गृहमन्त्री भन्नुहुन्छ भोट फिर्ता लेऊ । यही हो जिम्मेवारी ? यही भन्ने हो जनतालाई ? ओठे जवाफ दिने हो ? यसैका लागि तपाईं मन्त्री बन्नुभएको हो ?’, उनले प्रश्न गरे ।

विगतमा ड्रम चलाउने मान्छेहरू, नाच्ने मान्छेहरू मन्त्री र प्रधानमन्त्री भएकोले अहिलेको सिर्जना भएको उनको भनाइ छ । उनले थपेका छन्, ‘म आग्रह गर्न चाहन्छु, सरकार जिम्मेवार बनोस् । पार्लियामेन्टमा उठेका कुराहरू जनताका कुराहरू हुन् । सार्वभौमिक सत्ता सम्पन्न हामीले जनताको लागि लडाईं लडेका हौं ।’

गाली गरेर सरकार नचल्ने भन्दै उनले विगत ३५ वर्षको राजनीतिक परिवर्तन र विकासलाई होच्याएर मात्र वर्तमान सरकार सफल नहुने सुझाए । सडक, पुल, विद्यालय, अस्पताल र विश्वविद्यालय निर्माणलगायतका क्षेत्रमा भएका कामको अध्ययन गर्न आग्रह गरे ।

‘३५ वर्षमा केही काम भएको छ । त्यो लिखित रूपमा छ,’ उनले भने, ‘कहाँ सडक बने, कहाँ बाटो बने, कहाँ अस्पताल बने, कहाँ विश्वविद्यालय बने—त्यो पढ्नुस् ।’

वर्तमान सरकारका मन्त्रीहरूले विगतको राजनीतिक संघर्षलाई अवमूल्यन गर्न नहुने उनको आग्रह छ ।

तर सरकारको गतिवधि उचित बाटोमा नरहेको दाबी गरे ।

‘यो सरकारले अध्यादेश मार्फत सबै ट्रेड युनियनलाई बन्द गर्दियो । अध्यादेश मार्फत विद्यार्थी युनियनलाई बन्द गर्दियो । संगठनलाई बन्द गर्दियो,’ ढुंगानाले भनेका छन्, ‘के निर्दलीय व्यवस्था चलाउन खोजेको हो ? यदि निर्दलीय व्यवस्था ल्याउन खोजेको भने तपाईं तयार भएर बस्नुहोस् । हामी फेरि पनि मर्नलाई तयार छौं । यो कुरा बुझि राख्नुस् । म यही रोस्ट्रममार्फत तपार्इंलाई म च्यालेन्ज गर्न तयार छु ।’

विराटनगरको जुटमिलमा आन्दोलन हुँदा मजदुरको पक्षमा लागेका नेताहरू बीपी कोइराला, मोहनमोहन अधिकारी, गिरिजा प्रसाद कोइरालालाई समातेर सरकारले धनकुटाबाट पैदलै काठमाडौँ जेलमा ल्याएर राखेको उनले बताए । त्यसबेला पत्रिका पढ्नका पाइन भनेर अनसन गर्नुपरेको उनले स्मरण गरे ।

अर्थात् नेपालले प्राप्त गरेको परिवर्तन आन्दोलनबाट प्राप्त भएको बताए । विद्यार्थी संगठनको गतिविधिबाट आन्दोलन भएको बताए । प्रजातन्त्रवादी बनेपछि नेपाल बस्न नसक्ने अवस्था गुजारेर आएको उल्लेख गर्दै उनले विगत ३५ वर्षमा केही भन्ने भाष्य निर्माण गर्नेतिर नलाग्न सुझाए ।

संघीयता र संविधानप्रति अनावश्यक टिप्पणी नगर्न आग्रह गरे ।

चुनाव अगाडि प्रधानमन्त्री बालेनले जनकपुरमा भाषण गर्दा आफू संघीयताको पक्षधर भएको बताएको स्मरण गरे । तर रास्वपाको महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव प्रस्तुत भएको र पारित भए अगाडि बढेको बताए ।

फेरि पनि परिवर्तन उल्ट्याउने प्रयास नगर्न सांसद ढुंगानाको चेतावनी छ ।

‘अहिले देशको परिस्थिति राम्रो छैन । राष्ट्रियता कमजोर छ’ उनले भने ।

तर राष्ट्रवादी देशमा भएसम्म परिवर्तन उल्ट्याउन सम्भव नरहेको बताए । उनी थप्छन्, ‘जबसम्म यो देशमा राष्ट्रवादी सिद्धिंदैन तबसम्म यो देशमा केही खेल्न पाइँदैन भन्ने शक्ति लागिरहेका छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?