+
+
Shares

एक सातादेखि भेरी करिडोर अवरुद्ध : डोल्पामा छैन ग्याँस र पेट्रोलियम पदार्थ

पूर्ण सार्की पूर्ण सार्की
२०८३ भदौ ६ गते १२:११

६ भदौ, डोल्पा । जाजरकोट-डोल्पा जोड्ने भेरी करिडोर एक सातादेखि अवरुद्ध हुँदा हिमाली जिल्ला डोल्पामा खाना पकाउने एलपी ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ।

जाजरकोटको नलगाड नगरपालिका–११ चौखास्थित तासुघाट खोलामा आएको बाढीले सडक कटान गर्नुका साथै खोलामा राखिएको ह्युमपाइप र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक एक सातासम्म सञ्चालनमा नआएपछि डोल्पातर्फ आउने मालवाहक तथा यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरू जोखिम मोलेर तुईन चढेर यात्रा गर्न बाध्य भएका छन्।

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको आपूर्ति समेत प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा डोल्पाका बजारमा बाहिरी जिल्लाबाट आउने पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँसलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ।

मौज्दात घट्दै गएपछि जिल्लाका बजारमा ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार सडक अवरुद्ध हुनुअघि जिल्लामा ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव थिएन। सडक बन्द भएपछि मात्रै आपूर्ति रोकिँदा अभाव देखिन थालेको हो। उनले भनिन्, ‘सडक अवरुद्ध हुनुभन्दा पहिला जिल्लामा ग्याँसदेखि पेट्रोलियम पदार्थको अभाव थिएन। जब सडक अवरुद्ध भयो, त्यसपछि जिल्लामा अभाव सुरु भयो।’

सडक सञ्चालनमा आएलगत्तै डोल्पाका लागि आएका ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका मालवाहक सवारीसाधन जिल्लामा भित्रिने र अहिले देखिएको अभाव क्रमशः कम हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताइन् ।

बजारमा ग्याँसको अभाव हुन थालेपछि डोल्पाका मुख्य बजारमा सञ्चालित होटल व्यवसायसमेत प्रभावित भएका छन्। ग्याँस नपाउँदा कतिपय होटलले खाजा, खाना तथा नास्ता बनाउन समेत समस्या भोगिरहेका छन्।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बगरमा होटल सञ्चालन गर्दै आएका नरेश गुरुङले ग्याँस अभावका कारण ग्राहकलाई सेवा दिन नसकिएको बताए। उनले भने, ‘बजारमा ग्याँस छैन। ग्याँसको अभावका कारण आएका ग्राहकलाई समेत फर्काउनुपरेको छ। व्यवसायमा पनि घाटा भइरहेको छ।’

बजारमा मात्र नभई गाउँघरमा समेत ग्याँसको अभाव हुन थालेपछि सर्वसाधारण थप मारमा परेका छन्। सडक लामो समयसम्म सञ्चालनमा नआए ग्याँस, इन्धनसँगै खाद्यान्न, निर्माण सामग्रीलगायत अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा समेत थप समस्या हुन सक्ने प्रशासनको भनाइ छ।

सडक लामो समय अवरुद्ध भएपछि प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले समेत भेरी करिडोर तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भेरी करिडोर डोल्पालीको जीवनरेखा भएकाले सडक अवरुद्ध हुँदा जिल्लावासीले ठूलो सास्ती खेप्नुपरेको बताए। उनले भने, ‘भेरी करिडोर डोल्पालीको जीवनरेखा हो। सडक अवरुद्ध हुँदा निकै सास्ती खेप्नुपरेको छ। छिटो सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउँदछु।’

उनले अस्थायी पुनर्निर्माण गरेर भए पनि सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

यसैबीच, एक सातादेखि अवरुद्ध भेरी करिडोरको जाजरकोट तर्फको चौखास्थित तासुघाट खण्ड सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ। गत बिहीबार राति अविरल वर्षापछि तासुघाट खोलामा पानीको बहाव बढ्दा झोलुङ्गे पुल र ह्युमपाइपमा क्षति पुगेपछि जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध भएको थियो।

भेरी करिडोर कार्यालयका अनुसार अहिले क्षतिग्रस्त सडक मर्मत तथा पुनःनिर्माणको काम तीव्र रूपमा भइरहेको छ। चौखामा पैदल यात्रु र मोटरसाइकलसम्म आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भइसकेको कार्यालयले जनाएको छ। सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न भने थप काम भइरहेको छ।

भेरी करिडोर डोल्पाको मुख्य आपूर्ति मार्ग हो। वर्षायाममा बाढी, पहिरो र खोलानालाको बहाव बढ्दा करिडोरका विभिन्न स्थानमा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ।

सडक अवरुद्ध हुँदा डोल्पालीले गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने, सामान ढुवानीमा थप खर्च व्यहोर्नुपर्ने तथा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने समस्या भोग्दै आएका छन्।

स्थानीयवासीले वर्षायाम सुरु हुनेबित्तिकै भेरी करिडोर अवरुद्ध हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरेका छन्। उनीहरूले जोखिमयुक्त स्थानमा स्थायी सडक संरचना निर्माण गर्नुका साथै आवश्यक ठाउँमा पुल निर्माणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।

भेरी करिडोरको अवरोध हटाउने काम अन्तिम चरणमा पुगे पनि सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म डोल्पामा ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने अवस्था देखिंदैन। सडक खुलेपछि मात्रै बाटोमा रोकिएका मालवाहक सवारीसाधन डोल्पा भित्रिएसँगै बजारमा देखिएको अभाव कम हुने अपेक्षा डोल्पाबासीको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?