+
+
Shares

गरिमा मृत्यु प्रकरण : घटना घटेको पाँच दिनपछि पक्राउ परेकाको घरमा खानतलासी

मृतक गरिमा प्रोग्रेसको घरमा आउजाउ गरिरहने भएकाले यहि घरमा बलात्कार र हत्या भएको र शव व्यवस्थापनका लागि मात्रै शव भेटिएको खाली घरमा पुर्‍याइएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ६ गते २१:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शनिबार प्रोग्रेस चौधरीको घरमा खानतलासी गरेको छ।
  • गत आइतबार हराएकी गरिमाको शव मंगलबार साँझ घरबाट २०० मिटर टाढाको खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा फेला परेको थियो।
  • सहचालक सुमन थापाले बलात्कारपछि हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीले बताएको छ।

६ भदौ, बारा (सिमरा) । विरोध र प्रदर्शन देशव्यापी बन्न थालेपछि तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको स्थान जाँच्न प्रहरीले घर खानतलासी गरेको छ ।

मंगलबार शव बरामद भएपनि प्रहरीले पक्राउ परेका प्रोग्रेस चौधरी र सुमन थापा बस्ने घर खानतलासी गर्न मानेको थिएन ।

स्थानीयले गरिमाको हत्या भएको घर प्रोग्रेसकै रहेको दाबी गर्दै खानतलासी गर्नपर्ने बताउँदै आएका थिए । शनिबार अपरान्ह मात्रै प्रहरी हिरासतमा रहेका प्रोग्रेस चौधरीको घरमा खानतलासी गरेको हो ।

अहिले उक्त घरमा प्रहरीले खानतलासी गरिरहेको छ ।

मृतक गरिमा प्रोग्रेसको घरमा आउजाउ गरिरहने भएकाले यहि घरमा बलात्कार र हत्या भएको र शव ब्यवस्थापनका लागि मात्रै शव भेटिएको खाली घरमा पुर्‍याइएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

गरिमा हराएपछि गत आइतबार नै उनका बुबा मनोज चौधरीले ईलाका प्रहरी कार्यालय सिमरामा प्रोग्रेस चौधरीविरुद्ध जाहेरी दिएका थिए । नातामा आफन्त पर्ने मनोज र प्रोग्रेसका छोरी समान उमेरका रहेकाले पनि गरिमा यो घरमा आउजाउ गरिरहन्थिन् ।

केही समय अघि मनोज र प्रोग्रेसको पारिवारिक झगडा परेकाले रिसइबी साँध्न प्रोग्रेसकै योजनामा हत्या भएको गरिमाका बाबु मनोजको आरोप छ ।

प्रोग्रेस सवारी चालक हुन् । उनले चलाउने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका सह–चालक सुमन थापाले गरिमाको बलात्कारपछि हत्या आफूले गरेको स्वीकार समेत यसअघि गरिसकेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सुमन चालक चौधरीकै घरमा बस्ने गरेका थिए ।

गत आइतबार विहान करिब साढे ८ बजेबाट बेपता भएकी गरिमाको शव घरबाट २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो ।

गाउँको बीचमै रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले शव रहेको स्थानमा तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो ।

बुधबारबाट सिमरामा स्थानीयले आन्दोलन चर्काएपछी शनिबार बल्ल प्रहरीले स्थानीयको माग अनुसार चालक प्रोग्रेसको घरमा खानतलासी गरेको हो ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?