News Summary
Generated by OK AI. Editorially reviewed.- बारामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीका आमा–बुवालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न काठमाडौं लगिएको छ।
- शनिबार अपराह्न सिमरा विमानस्थलबाट मनोज चौधरी र मानमती चौधरीलाई स्थानीय अभियन्तासहित काठमाडौं पठाइएको हो।
- मनोज चौधरीले काठमाडौ जानुअघि स्थानीयबासीलाई छोरीको न्यायका लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए।
६ भदौ, सिमरा (बारा) । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ ।
गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं लगिएको जानकारी गराइएको छ ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।
गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर एयरपोर्टमा बोर्डिङ पास गराएका छन् ।
उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं लागेको हो ।
काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।
प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि पनि प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।
प्रतिक्रिया 4