+
+
Shares

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत ४ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
  • सत्ता साझेदार नेकपा र एमालेले आफ्ना प्रदेश सभा सदस्यलाई थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्।
  • राप्रपाभित्र विवाद कायमै छ र पार्टीले आफ्ना सदस्यलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री थापाकाे आफ्नै दल एमालेले पनि अनिवार्य उपस्थितकाे निर्देशन सहित विश्वासकाे मतकाे पक्षमा मतदान गर्न ह्विप लगाएकाे छ ।

सरकारलाई समर्थन गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विवाद कायमै छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै विश्वासकाे मतकाे विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन गरेकी छन् ।

तर, राप्रपामा सरकारलाई समर्थन गरेकाे पक्ष अर्थात खानेपानी मन्त्री राजु विष्टले भने तामाङलाई सरकार गठन हुनुभन्दा अगाडि नै सचेतकबाट हटाएकाे बताएका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतकबाट हटाएका हुन् ।

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत ४ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र विवाद चर्किएको थियाे ।

राप्रपाले पार्टी केन्द्रको निर्णय विपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ ।

सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।

राप्रपाका १२ प्रदेश सभा सदस्य विश्वासको मतका क्रममा हुने उपस्थिति र मतदानको निर्णय अहिले सबैभन्दा चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?