News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले मधेशका ७ जिल्लामा जिल्ला अधिवेशन र सभापति रवि लामिछानेको भ्रमण तालिका बनाउन मंगलबार पार्टी मुख्यालयमा छलफल गरेको छ।
- मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा सदस्यता र प्रतिनिधि विवादले अधिवेशन हुन सकेको छैन।
- सभापति लामिछानेले हप्ता/दश दिन वा दुई हप्तामा मधेश यात्रा गरेर अधिवेशनको वातावरण बनाउने बताएका छन्।
१० भदौ, काठमाडौं । रास्वपाले पहिलो महाधिवेशन गरिसक्दा पनि मधेश अधिवेशन बाँकी छ । त्यसैले मंगलबार पार्टीका नेताहरु मधेशका ७ जिल्लाको अधिवेशन तिथि अनि सभापति रवि लामिछानेको ती जिल्लाहरूमा भ्रमणको तालिका बनाउन पार्टी मुख्यालय चमतीमा खटिए ।
यसको संयोजन गरेका थिए सहमहामन्त्री पुरुषोत्तम यादवले । पार्टी स्रोतका अनुसार हिजो मंगलबारै ती जिल्लाहरूको अधिवेशन तथा सभापतिको यात्राबारे टुंगो लाग्ने भनिएपनि मिति सार्वजनिक गरिएको छैन।
पार्टी सदस्यता र प्रतिनिधि विवादले मधेशका ७ जिल्ला र प्रदेश समितिको अधिवेशन नै नगरी रास्वपा केन्द्रीय महाधिवेशनमा होमिएको थियो ।
त्यतिबेला पर्साको अधिवेशन भएर हरि पन्तको नेतृत्वमा नयाँ समिति बन्यो । तर बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा जिल्ला अधिवेशन हुन सकेन ।
नेताहरूले यी जिल्लामा अधिवेशन हुन नसक्नुमा नेतृत्व चयनमा गुटबन्दी, सांसदहरूको हस्तक्षेपलगायत विषयलाई कारण देखाउँदै आएका छन् । पार्टीका पुराना कार्यकर्ता र चुनावअघि प्रवेश गरेका व्यक्तिहरूबीच नेतृत्वको लागि हानथाप अधिवेशन स्थगित गर्नुको अर्को कारण रहेको नेताहरूले बताएका छन् ।
मधेश प्रदेशका सभापति तपेश्वर यादव चुनावअघि अन्य दलबाट रास्वपामा प्रवेश गर्नेको लहर आएकोले व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘पहिला फरकफरक दलमा रहेर प्रतिस्पर्धा गर्नेहरू अहिले एउटै पार्टीमा आएका छन् । अन्य दलबाट रास्वपामा आएर एक अर्कासँग लड्नुपर्दा नेतृत्वका लागि खिचातानी भएको हो ।’
नेतृत्वका लागि तँछाडमछाड हुँदा कतिपय स्थानमा हात हालाहालको अवस्थासमेत भएको थियो । प्रदेश सभापति यादवका अनुसार मधेशका १३६ पालिकामध्ये १० देखि १५ वटा पालिकाको अधिवेशन हुन सकेको छैन । अधिवेशन हुन नसकेका पालिकामा तदर्थ समिति भने गठन भएको उनले जानकारी दिए ।
जनसंख्याको ठूलो हिस्सा रहेको मधेशमा अधिवेशन हुन नसकेपछि पार्टी केन्द्रले अग्रसरता लिएको छ । सभापति रवि लामिछाने स्वयंले मधेश प्रदेशका जिल्लाहरू भ्रमण गरी अधिवेशनको वातावरण बनाउने बताएका छन् ।
दुई दिनअघि केन्द्रीय सदस्यलाई प्रशिक्षण गर्ने क्रममा सभाापति लामिछानेले अधिवेशनका लागि मधेश जाने बताए । उनले भने, ‘आफैं मधेश जाने तयारीमा छु । हप्ता/दश दिन वा दुई हप्तामा म मधेश यात्रामा पनि निस्कन्छु । त्यहाँ अधिवेशनहरू गर्नु पर्नेछ ।’
सहमहामन्त्री हरि ढकाललाई अधिवेशन हुन नसकेका स्थानमा भएका विवादबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन पार्टीले जिम्मेवारी तोकेको छ । ढकालले पारिवारिक दुःख र क्षेत्रका कामले गर्दा मधेशमा ध्यान दिन नसकिरहेको जानकारी दिए ।
प्रदेश सभापति यादवका अनुसार मधेशका विवादित स्थानको अध्ययन गर्न मधेशकै व्यक्ति हुँदा प्रश्न उठ्ने भएकोले बाहिरको व्यक्तिलाई पार्टीले जिम्मेवारी तोकेको बताए । उनले भने, ‘मधेशकै व्यक्तिलाई जिम्मेवारी दिँदा विवाद हुनसक्छ । मधेश बाहिरको व्यक्तिले अध्ययन गरेर प्रतिवेदन बुझाउँदा समस्या नहोला भनेर उहाँ (ढकाल) लाई पार्टीले जिम्मेवारी दिएको छ ।’
मधेश अधिवेशनलाई आगामी प्रदेश र स्थानीय तहको चुनावसँग जोडेर पनि चर्चा गरिएको छ । पालिका, नगर, जिल्ला, प्रदेशको संरचनाको नेतृत्वमा पुग्ने व्यक्तिले नै स्थानीय निर्वाचनमा टिकट बाँड्ने भ्रममा कार्यकर्ता रहेको हुँदा अधिवेशनमा किचलो देखिएको मधेशका एक सांसदले बताए ।
‘पार्टी समितिमा रहेको नेतृत्वले टिकट बाँड्ने होइन भन्ने कार्यकर्तालाई बुझाउनै सकिएको छैन । पार्टीले क्यान्डिडेट क्लब बनाएको छ । निश्चित प्रक्रिया पूरा गरेर उम्मेदवार हुने पार्टीको विधि कार्यकर्तालाई छैन,’ उनी भन्छन्, ‘पालिका, जिल्ला र प्रदेश सभापतिले टिकट बाँड्ने हो भन्ने उनीहरूमा छ । यस्तो सोचले अधिवेशन सहजै नहुने अवस्था बनेको हो ।’
रास्वपाले गाउँपालिका तहमा उम्मेदवार हुन इच्छुकका लागि भदौ १ गतेदेखि आवेदन खुला गरेको छ । क्यान्डिडेट क्लबमा दर्ता भएपछि मात्रै उम्मेदवार हुने छनोट प्रक्रियाको पहिलो चरण पूरा हुन्छ ।
व्यक्तिको क्षमता, सांगठिनक क्रियाशिलता, छवि, योग्यता, उम्मेदवार एकेडेमीको प्रस्तुति लगायतको मूल्यांकन गरेर मात्रै उम्मेदवार छनोट गरिने विधि रास्वपाले बनाएको छ ।
यो विधिभन्दा बाहिर रहेर उम्मेदवार छनोट हुनै नसक्ने सभापति लामिछानेले दोहोर्याएका छन् । प्रतिनिधिसभा चुनावमा उम्मदेवार छनोट गर्दा समायोजनका कारणले पार्टीले बनाएको विधि लागु गर्न नसकिएको सभापति लामिछानेले दुई दिनअघि केन्द्रीय सदस्यलाई बताएका थिए । स्थानीय तहका उम्मेदवार बनाउँछु भनेर कसैले वचन दिएको छ भने नपत्याउन पार्टी पङ्तिलाई उनले आग्रह गरे ।
चितवनमा भएको पहिलो महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा मधेशमा सबैभन्दा बढी समस्या भएको थियो । मधेशको प्रतिनिधि टुंगो लाग्न नसक्दा महाधिवेशनमा मतदान प्रक्रिया समयमा सुरु हुन सकेको थिएन ।
महाधिवेशनका कूल प्रतिनिधि संख्या ४ हजार २११ रहेको जानकारी गराइएको थियो । सर्वाधिक विवाद रहेको मधेशबाट अन्तिम समयमा प्रतिनिधिको संख्या ५४० जना रहेको विवरण बाहिर ल्याइएको थियो ।
मधेशका नेताहरूका अनुसार हरसम्भव सर्वसम्मत नेतृत्व चयन गर्ने गरी प्रयास भएको छ । गत साता मधेशका केही नेताहरूको आन्तरिक छलफलमा प्रदेश र जिल्ला सहमतिमा ल्याउनुपर्ने विषयमा कुराकानी भएको थियो ।
एक नेताका अनुसार सर्वस्वीकार्य हुनसक्ने व्यक्तिबारे प्रदेशदेखि जिल्ला तहसम्म केही नाममा छलफल भएको थियो ।
मधेशमा सहज वातावरणमा अधिवेशन गराउन नसक्नुमा पार्टीको स्पष्ट दुई धार पनि कारण रहेको मधेशका नेताहरू बताउँछन् । मधेश प्रदेशस्तरीय एक नेताका अनुसार पार्टी सभापति र प्रधानमन्त्री बालेन शाहको पक्षमा पार्टीपङ्ति ध्रुवीकृत छ ।
ती नेता दाबी गर्छन्, ‘मधेशका ३९ सांसदमध्ये ३२ जना प्रधानमन्त्री बालेन नजिक छन् । अधिवेशनमा सांसदहरूले आफू निकटलाई अघि बढाउन सबैले खोजिहाल्छन् नि ।’
मधेशका अधिवेशनहरू समय तोकेर पनि हुन नसक्नुमा सांसदहरू हाबी भएको कारणसमेत देखाइएको थियो । पार्टी संरचनामा आफू अनूकूल व्यक्ति ल्याउन खोजेका कारणले विवाद उत्पन्न भएको र अधिवेशनको प्रक्रिया नै बिथोलिएको नेताहरूले बताएका छन् ।
प्रदेश सभापति यादव सर्वसम्मत नेतृत्व चयनको सम्भावना केही ठाउँमा सम्भव भए पनि सबै ठाउँमा भने सम्भावना कम देख्छन् । सर्वसम्मत गर्दा पक्षधरता लिएर कुनै व्यक्तिलाई अघि बढाएको जस्तो देखिने हुँदा निर्वाचन नै सर्वाधिक उपयुक्त विधि भएको प्रदेश सभापति यादवले बताए ।
उनी भन्छन्, ‘अन्तिम उपाय त भोटिङ नै हो । त्यसो हुँदा कसले कसलाई बनायो भन्ने आरोप पनि लाग्दैन ।’ प्रदेश सभापति यादवले आफू भने सोही पदमा दोहोरिन चाहेको बताए । प्रदेश सभापति पदमा निरन्तरताकै लागि आफूले महाधिवेशनमा प्रतिस्पर्धा नगरेको उनले बताए ।
सभापति लामिछाने मधेश यात्रा गर्ने भए पनि समय टुंगो लागिनसकेको, विवादित स्थानको अध्ययन गर्ने जिम्मेवारी प्राप्त सहमहामन्त्री ढकालले आफ्नो कार्य सुरु गरिनसकेकोले छिट्टै अधिवेशन प्रक्रिया सुरु हुन कठिन रहेको मधेशका एक सांसदले जानकारी गराए । चाडबाडको समय पनि नजिकिँदै गरेको हुँदा मंसिरतिर मात्रै मधेशको अधिवेशन सम्भव हुने ती सांसद बताउँछन् ।
प्रतिक्रिया 4