News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीपछि भोटेकोशी र त्रिशूली आसपासका ७ बैंकका शाखामा कार्यरत २७ कर्मचारी अझै सम्पर्कविहीन छन्।
- बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बिहीबार अबेरसम्म पनि उनीहरूसँग सम्पर्क हुन नसकेको बताए।
- विभिन्न बैंकका ९ शाखा कार्यालयमा पूर्ण क्षति पुगे पनि लकर, भल्ट र बगाएको रकमको यकिन विवरण अझै छैन।
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासमा रहेका ७ बैंकका शाखामा कार्यरत २७ कर्मचारी अझै पनि सम्पर्कविहीन छन् । बुधबार बिहानको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएका कर्मचारी बिहीबार अबेरसम्म पनि सम्पर्कमा नआएको बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बताए ।
‘हाम्रो तहबाट हुने प्रयास गरिनै रहेका छौ, तर पनि सम्पर्क हुन सकेको छैन,’ उनले भने,‘ बिहीबार अबेरसम्ममा ७ बैंकका शाखामा कार्यरत २७ जना कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।’
विभिन्न बैंकहरूका ९ वटा शाखा कार्यलयमा पूर्ण क्षति पुगेको उनले बताए । ‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका रहेका शाखामा क्षति पुगेको छ । सम्पर्क हुन नसकेका कर्मचारीहरू पनि सोही क्षेत्रका रहको उनी बताउँछन् ।
सम्पर्कविहीन भएकाहरू मध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका रहेका छन् । इन्भेष्टमेन्ट बैंकका ७ जना कर्मचारी सम्पर्कविहीन छन् । त्यसैगरी माछापुच्छ्रे बैंकका ५ जना, सानिमा बैंकको २ जना, लक्ष्मी सनराइजको ३ जना, हिमालयन बैंकको १ जना, एनएमबी बैंकको ४ जना र प्रभु बैंकको शाखामा कार्यरत ५ जना कर्मचारी सम्पर्कविहीन रहेको कोइरालाले जानकारी दिए ।
बैंकका शाखा कार्यलयमा क्षति पुगेको र के कति भौतिक नोक्सान भएको छ भन्ने आकलन गर्नका लागि पनि आधार नभएको उनले बताए ।
‘भौति क्षति निकाल्नै सक्या छैन, बिहीबार भौतिक क्षतिको सन्दर्भमा पनि प्रयास गरेको सम्भव भएन,’उनले भने,‘ निकाल्नै सकिएन, सबै सँग मागेको पनि हो, सबै प्रमाणीकरण गर्ने क्रममा नै छन् ।’
बैंकका ती शाखाहरूमा लकर थियो कि थिएन, भल्टमा कति पैसाहरू थियो, कति बग्यो लगायतका विवरण यकिन गर्नै बाँकी रहेकाले क्षतिको अनुमान गर्ने अवस्था अहिले नभएको उनको भनाइ छ ।
प्रतिक्रिया 4