१४ भदौं, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय ५ दिन थपेको छ ।
महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले यही भदौ १५ गतेदेखि १९ गतेसम्मका लागि पाँच दिन सदस्यता अद्यावधिकको समय थपिएको जानकारी दिए ।
‘यो पाँच दिन अब अन्तिम पटक हो । अझै पनि अद्यावधिक गर्न छुटेकालाई अद्यावधिक गरेर महाधिवेशनमा जोडिने ढोका खोलौं भन्ने मनशायका साथ यो निर्णय गरेका हौं,’ उनले भने ।
पार्टीको आन्तरिक एकता मजबुत बनाउन अत्यधिक लचकता अपनाउँदै यो निर्णयमा पुगेको महामन्त्री पौडेलले बताए । ‘हामी पहिलेदेखि नै निकै लचक थियौं । लचकता अपनाउँदै आएका पनि छौं,’ उनले भने, ‘त्यसैले यो अन्तिम मौकाका रूपमा हामीले अद्यावधिकको समय थप गरेका छौं ।’
१५ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन भने निर्धारित भदौ २४ गतेकै मितिमा हुने महामन्त्री पौडेलले बताए । ‘वडा अधिवेशन सर्दैन । यो मौकामा पनि अद्यावधिक गर्न छुटेका र एनसी आईडी नलिएका साथीहरू महाधिवेशनमा सहभागी हुन पाउनुहुन्न,’ उनले भने ।
अद्यावधिक गर्न सानो संख्यामा क्रियाशील सदस्य छुटेपनि त्यो संख्या पार्टीका लागि गुणात्मक रहेको उनले बताए ।
‘केन्द्रमा पनि निकै महत्वपूर्ण र मुख्य नेताहरू हुनुहुन्छ । जिल्लामा पनि पार्टीमा योगदान र लगानी गरेका, विगतमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेताहरूले अद्यावधिक गर्नुभएको छैन,’ उनले भने ।
पार्टीले सबै नेताहरूले अद्यावधिक गरेर महाधिवेशनमा सहभागी गराउन चाहेको उनले बताए ।
प्रतिक्रिया 4